Logo

राजनीति

साझा पार्टीको गोलमेच: रवीन्द्र मिश्रले भने, ‘१५ वर्षमा सिक्नुपर्ने पाठ केही समयमै सिक्यौं’



काठमाडौं – साझा पार्टीको नीति र राजनीतिक मामिला विभागले शनिबार काठमाडौंमा गोलमेच छलफलको आयोजना गरेको छ।

छलफलमा वरिष्ठ अधिवक्ता विपीन अधिकारीले तत्कालीन अवस्थामा रहेको मुद्दाहरुलाई केन्द्रमा राखी पार्टीहरु स्थापित हुँदै गएको प्रसंग उल्लेख गर्दै साझा पार्टीले पनि विद्यमान मुद्दाहरुलाई उच्च प्राथमिकता दिएर अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरेका छन्।

त्यसैगरी, छलफलमा सहभागी टीका ढकालले साझा पार्टीले कुनै समय आशाको झिल्को देखाए पनि यतिबेला निभ्दै–निभ्दै गएको हो कि भन्ने आशंका रहेको धारणा व्यक्त गरे।

उनले नेपालमा रहेका कमन्युष्टिहरुको औचित्य समयक्रममा ज्यादा रहे पनि सो अनुसार ती पार्टीहरुले आफ्नो उपस्थिति देखाउन नसकेको धारणा व्यक्त गरे।

त्यसैगरी, छलफलमा अरु राजनीतिक पार्टीहरुले गरिरहेको कामको निरन्तर खबरदारी गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्रका प्राध्यापक निधी खनाल अर्यालले बताइन्।

उनले अरु राजनीतिक पार्टीहरुले जस्तै विद्यार्थी संगठनहरु खोल्नुभन्दा आफू प्रति आवद्ध सकरात्मक सोच भएका व्यक्तिहरुको संगठन निर्माण गर्नसकिने राय प्रस्तुत गरेकी थिइन्।

छलफलमा सहभागिहरुले जुनसुकै पार्टीहरु शुरुमा तामझामका साथ आउने र विभिन्न मुद्धाहरु उठाएर भोट माग्ने र मुद्धाहरुबाट पन्छिने भन्दै साझा पार्टी फरक किसिमले जनताको भावना बुझेर अघि बढ्न सक्नु पर्ने धारणा राखेका थिए।

यस्तै कार्यक्रममा युवाहरु सबै पलायन भइरहेका बेला गाउँ रित्तो हुँदै गएको भन्दै त्यसको विकल्प दिन नसके गम्भीर अवस्था आउन सक्ने धारणा अन्य सहभागिहरुको थियो।

फरक धारको राजनीतिको औचित्य, अवसर र चुनौती विषयक उक्त गोलमेच छलफलमा बुद्धिजीवि, पत्रकार, लेखक, अभियन्ताको बाक्लो सहभागिता रहेको थियो। छलफलमा सहभागी अधिकांश वक्ताहरुले नेपाली राजनीतिमा फरक धारको औचित्यमाथि जोड दिएका थिए।

छलफलमा पुराना राजनीतिक दलहरुको व्यवहार र कार्यशैलीप्रति जनता रुष्ट रहेको भन्दै ती यावत चुनौती चीर्न सकेको खण्डमा नयाँ शक्तिहरुको औचित्य र महत्त्व रहने सहभागीहरुको जोड थियो।

सहभागीहरुले वैकल्पिक राजनीतिक धारको आवश्यक्ता बढ्दै गएको भन्दै देशको मुहार फेर्न सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए।

छलफलको सहजीकरण पार्टीका राजनीतिक मामिला विभाग प्रमुख मुमाराम खनालले गरेका थिए। सन्दर्भ र औचित्यबारे नीति विभाग प्रमुख एवंम् प्रवक्ता सूर्यराज आचार्यले प्रष्ट्याएका थिए।

छलफलको निचोडमा संयोजक रवीन्द्र मिश्रले साझा पार्टीले सबै तह र तप्काका व्यक्तिहरुबाट पार्टीप्रतिको धारणा समेट्ने सोचका साथ कार्यक्रम आयोजना गरेको धारणा राखे।

उनले १५ वर्षमा सिक्नुपर्ने पाठ आफूहरुले केही समयको अन्तरालमै सिकेको बताउदै पार्टी स्थापनादेखि फुटसम्मको अनुभव मनन गर्दै आँउदो दिनमा अघि बढ्ने धारणा राखेका छन्।

प्रकाशित : ३ फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल