![](https://www.asiasanchar.com/wp-content/uploads/2020/01/Janaki-Gurung-nrna-1.jpg)
लण्डन – गैरआवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले नवौं विश्व महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको अनियमितता छानवीन हुने पर्ने माग गरेकी छिन्।
गुरुङले साधारणसभाबाट अनुमोदित नभएको महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई विशेष साधारणसभा बोलाइ छलफल चलाउन पनि माग गरेकी हुन्।
संस्थालाई विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने चेतावनी गुरुङले दिएकी छिन्।
गत साता गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेको एकसातापछि गुरुङले पनि अनियमितता छानवीनको माग गरेकी हुन्।
नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भएको बताउँदै आचार्यले यसले संस्थाको गरिमामाथि नकारात्मक असर परेको बताएका थिए।
एनआरएनएको नवौं विश्व महाधिवेशनमा महासचिवकी उम्मेदवार रहेकी गुरुङले संख्याको गरिमामै आँच पुग्ने गरी नयाँ नेतृत्वबाट भइरहेको कार्य रोक्न माग गरेकी छिन्।
संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्वाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहँदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउँदै लैजानेमा आशावादी थियौं,’ गुरुङले भनेकी छिन्, ‘तर, यतिका समय बितिसकेपछि पनि नेतृत्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैरजिम्मेवार रहेको पाइएको छ।’
पूर्वसचिव जानकी गुरुङद्वारा प्रकाशित वक्तव्य जस्ताको तस्तैः
गैरआवासीय नेपाली संघको नवौं विश्व महाधिवेशन आँशिक रूपमा सम्पन्न भएको तीन महिना पुग्न लागेको छ। संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्बाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहंदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउंदै लैजानेमा आशावादी थियौं। तर यतिका समय बितिसके पछि पनि नेत्रित्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैर जिम्मेवार रहेको पाइएकोले देहायका बिषयहरु उपर अविलम्व निर्णयमा पुग्न यो बिज्ञप्तीमार्फत ध्यानाकर्षण गराउन चाहन्छु।
१. निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक गरियोस्।
२. महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा विशेष समिति हैन, विशेष साधारणसभा बोलाई छलफल चलाईयोस्।
३. संस्थाले संरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक रूपमा हरेक क्षेत्रमा फेरबदल तुरून्त रोकियोस्।
उपरोक्त विषयहरु माथि सम्बन्धित पक्षले अविलम्व सम्बोधन गरी आगामी कार्यक्रम सार्वजनिक गरियोस र सबैको साझा संघ महशुस गर्ने गराउने वातावरण तयार गरियोस्। संस्थालाई यदि विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु।
![](https://i2.wp.com/www.asiasanchar.com/wp-content/uploads/2020/01/Janaki-Gurung-Press-Release.jpg?fit=720%2C953)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/01/non-resident-nepali-association1-2-754x1024.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/01/non-resident-nepali-association1-1-777x1024.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/01/non-resident-nepali-association1-3-720x1024.jpg)
प्रतिक्रिया