Logo

समाचार

श्रीस्वस्थानी व्रतकथा भाग १ र २: सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन र सतीदेवीकाे उत्पत्ति


२६ पुस २०७६, शनिबार


कुमारजी आज्ञा गर्नुहुन्छ –हे! अगस्त्य मुनि, सृष्टिका क्रम र ब्रह्माण्डको वर्णन जसरीन गरिएको छ, उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकाग्र भइ सुन। यो अनन्तकोटी ब्रह्माण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रुपमा प्रकट गर्नुभयो। पहिले ब्रह्मा सृष्टि गर्न, विष्णुपालन गर्न र महेश्वरलाई संहार गर्न बन्नुभयो। त्यसकारण परमब्रह्माका इच्छाबिना सृष्टि, स्थिति तथा संहार केही केही हुनसक्दैन। र, उहाँकै इच्छाअनुसार यो संसारको सृष्टि, स्थिति तथा संहारका अनन्तचक्र चलिरहन्छ।

ब्रह्मा, विष्णु र महेश्वरमध्ये विष्णु र महेश्वरको आयुको कुनै प्रमाण छैन। ब्रह्माको सय वर्षको आयु हुन्छ। उक्त सय वर्षको आयुमध्ये एकदिनमा बिहान सृष्टि हुन्छ, दिउँसोदेखि रात नपरेसम्म स्थिति हुन्छ भने रात परेर निदाएको समय संहारको समय हो। सत्य, त्रेता, द्वापर तथा कलिकाल बिहान, दिउँसो , साँझ र रात जस्तै हुन्। अनि ब्रह्माको सय वर्षमा महाप्रलय हुन्छ। फेरि परमात्माले अर्को ब्रह्मा सृष्टि गर्नुहुन्छ र यसैक्रमले अनन्तकालसम्म सृष्टिकार्य चलिरहन्छ। ब्रह्मा, विष्णु र महेश्वरमा विष्णु सत्व, ब्रह्मा रजो तथा महेश्वर तमो गुणका प्रतिनिधि हुन्।

सृष्टिका लागि सबैभन्दा पहिले पञ्चमहाभूत तत्त्वहरु मन, बुद्धि , शब्द, रुप , रस, गन्ध, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि सृष्टि गरिसकेपछि मात्रै प्राणीको सृष्टि हुन्छ। त्यसैले यी कुराहरु सम्पूर्ण प्राणिमा व्याप्त हुन्छन्। सृष्टिका तत्त्वहरु कुनै पनि सजीव र निर्जीव हुँदैनन्। सबै सजीव नै हुन्छन्। विज्ञानले निर्जीव भनेका कुराहरू लगायत सबै कुराहरुमा ब्रह्मा, विष्णु र महेश्वरहरु घुमिरहेका हुन्छन्। अनि यसरी घुम्ने क्रम सकिँदामात्र उक्त प्राणीको अन्त्य हुन्छ, र सृष्टिका चक्रहरू पारगरिसकेपछि प्रलयको समयमा अन्त्य हुन्छ।

एउटा अण्डामा भित्री, बाहिरी आवरणहरु भएजस्तै पृथ्वीलगायत ब्रह्माण्डमा पनि यस्तै आवरणका चक्रहरु हुन्छन्। त्यस्तै नवजातवालक मानवको शरीरमा पैदा हुँदा सम्पूर्ण चक्र पार गरिसकेपछि मानव बालक बनेजसरी पृथ्वीमा सृष्टि हुँदा सरिश्रृप, उभयचर हुँदै मानवसम्म भएर कालान्तरपछि सृष्टिको विकास भएको हुन्छ। यो क्रम प्रत्येक मानवको गर्भ प्रक्रियामा अहिलेसम्म पनि उदाहरणका रुपमा चलिरहेको हुन्छ, र यो सृष्टिको प्रमाण हो। त्यस्तै अण्डदेखि ब्रह्माण्ड यी दुई सङ्ख्याहरू मात्रै हुन्, यस्ता उदाहरणका सङ्ख्याहरू अनन्त हुन्छन्। त्यस्तै प्रकृति र पुरुष भएर सृष्टिको बृहत्तर सङ्ख्या बृद्धि भएको हुन्छ। चाहे स्त्री पुरुष, चाहे बीज माटो, चाहे आकर्षण विकर्षण, चाहे क्रिया–प्रतिक्रिया यीसबै सृष्टिकै मूलभूत प्रक्रिया हुन् र परमात्मामा अनन्त पनि अटाउँछन्।

परमात्मा एक प्रकारले सबैभन्दा सूक्ष्म पनि हुन् तथा सबैभन्दा विशाल पनि हुन्। यसका लागि परमात्माले अनन्त आकाश उदाहरण दिएका छन्। त्यसैले यो परमात्माको परिभाषाको वर्णन गर्न कोटीकोटी ब्रह्मा, विष्णु महेश्वरले पनि सक्दैनन्। त्यसैले जतिजति ब्रह्माण्ड छन्, त्यतित्यति ब्रह्मा, विष्णु र महेश्वर हुन्छन्, त्यसैले परमात्मालाई कसैले आँक्न सक्दैनन्।

यो सृष्टिक्रम भनेको निदाउँदा जतिपनि हामी देख्छौं, पछि ब्यूझिँदा विलय भए जसरी मृत्युपछिको जीवनमा ब्यूझिँदै–ब्यूझिँदै जान्छौं। निदाएको अवस्थामा सुख, दुःख, हर्ष ,विस्मात यी यावत् जति प्राप्ति हुन्छन्, त्यसलाई ब्यूँझिदा प्राप्त गर्न नसकेजस्तै मृत्युपछि पनि अर्को जन्ममा त्यस्तै हुन्छ। त्यसैले यो संसार सुखदुःखादि सपनाझैं अनित्य छ। त्यसैले यी सांसारिक कुराहरू सब मनका झमेला मात्रै हुन्। मूल कुरो परमात्मा जान्नु हो। त्यसैले विवेकी प्राणीको एकमात्र लक्ष्य मन, वचन र कर्मले ज्ञानद्वारा परमात्माको कार्यमा सघाउनु हो।

पहिले यो संसारमा प्रलय भएर शून्यबाहेक केही नभएको अवस्थामा महामायाका प्रभावले सबै ठाउँमा जलैजल थियो। फेरि महामायाका प्रभावले उक्त जल अनन्त क्षीर सागर भयो। त्यसैबेला महामायाका प्रभावले परब्रह्म परमेश्वर क्षीर सागरमाथि शेषनागमाथि शयन गर्नुभएको थियो। उक्त परब्रह्म स्वरुप विष्णु भगवानको नाभीमा कमलको उत्पत्ति भयो। र, धेरै माथिसम्म डाँठ फुलेर हजारौं। पातहरू फक्रिएर फुल्दा त्यस पद्मकल्प कमलमाथि ब्रह्मा उत्पन्न हुनुभयो।

अनि ब्रह्मालाई सृष्टि गरौं भन्ने प्रेरणा प्राप्त भयो। त्यसैबखत विष्णुको कानबाट कानेगुजी निस्कियो र त्यस कानेगुजीबाट मधु र कैटभ नामका दैत्यहरू बने। ती दैत्यहरू यताउती हिँडडुल गर्दा जताततै पानी नै पानी देखे। अनि सोही कमलको डाँठबाट माथि उक्ले। कमलका पत्रहरु झार्दै ब्रह्माजीलाई खसाउने प्रयत्न गरिरहे।

त्योदेखेर डराएर ब्रह्माजीले महामायाको स्तुति गर्नुभयो। महामायाले विष्णु भगवानलाई जागा गराइदिनुभयो। विष्णु भगवान जागा भइसकेपछि दैत्यहरुले ब्रह्मालाई सताइरहेको देखेर त्यसो नगर्न आग्रह गर्नुभयो। तर, दैत्यहरू विष्णु भगवानमाथि जाइलागे। त्यसपछि विष्णु भगवान र दैत्यहरुका बीचमा पाँच हजार वर्षसम्म घोर घमासान युद्ध भयो, तर कसैको पनि हारजीत भएन। अनि विष्णु भगवानले हार मानी ‘हामी यसरी कत्ति लड्ने, बरु तिम्रो इच्छा के छ? वरदान माग’ भन्नुभयो। तर, मधु र कैटभ दैत्यहरूले अहंकारले ‘तिमीले हामीसँग पो वरदान माग्नुपर्छ, के वरदान चाहियो?’ भने।

विष्णु भगवानले पनि ‘मागेको वर दिनुपर्छ’ भन्ने वाचा गराए, अनि ‘हे दैत्य हो! मेरो हातबाट तिमीलाई मार्न पाऊँ’ भने। अनि दैत्यहरूले भने ‘हे छलकपटी विष्णु! तैंले छल गरी वरदान मागिस्, तर हामी वचनमा हार्दैनौं, तिम्रो इच्छा पूर्ण होस् तर हामीलाई जल नभएको ठाउँमा मार।’ भने। सम्पूर्ण ठाउँ जलामय मात्र भएकाले विष्णुले आफ्नै काखमा राखी मधु र कैटभलाई मारे। अनि ब्रह्माजीलार्इ पनि मधु र कैटभका शरीरका अङ्गहरूबाट स्थलहरू बनाउने उपाय प्राप्त भयो।

पृथ्वीजस्ता आकारका लोकहरू बनाएर पर्वत, ढुङ्गा तथा अनेकौं वस्तुहरू बनाउनु भयो। एकमाथि अर्को लोकहरू गर्दै भूर्लोक, भूवर्लोक, स्वर्लोक , महलोक, जनलोक, तपोलोक र सत्यलोक गरी माथिका लोकमुन्तिर अर्को, अर्कोको मुनि अर्को गर्दै अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल गरी सातलोक गरी चौध भूवनको सृष्टि गर्नुभयो। अनि भूलोकका वरिपरि ज्योतिर्मय रथमा चढेका स्वायम्भूव मनु उत्पत्ति भए र सोही रथको पाङ्ग्रा गुड्दै जाँदा पृथ्वीमा सात समुद्र र सात द्वीप जम्बूद्वीप, प्लक्षद्वीप, शाल्मलीद्वीप, कुशद्वीप, क्रौञ्चद्वीप, शाकद्वीप र पुष्करद्वीप, त्यस्तै समुद्रहरू क्षारोद, इक्षुरसोद, सुरोद, घृतोद, क्षीरोद, दधिमण्डोद र शुद्धोद बने।

त्यसपछि प्रियव्रत नामका मनुको उत्पत्ति भयो। उनकी पत्नीको नाम वर्हिष्मती थियो। उनीहरूबाट सातभाइ छोराहरू उत्पत्ति भए। उनीहरूका छोराहरू क्रमशः आग्नीध्रले जम्बूद्वीपको राज्य चलाए। यो द्वीप क्षारोद समुद्रले घेरिएको छ। इध्मजिह्वले प्लक्षद्वीपको राज्य चलाए। यो द्वीप इक्षुरसोद समुद्र अर्थात् उखुको रसको समुद्रले घेरिएको छ। यज्ञबाहुले शाल्मलीद्वीपको राज्य चलाए। यो द्वीप मदिराको समुद्रले घेरिएको छ। हिरण्यरेताले कुशद्वीपको राज्य चलाए। यो द्वीप घिउको समुद्रले घेरिएको छ। घृतपृष्ठले क्रौञ्चद्वीपको राज्य चलाए। यो द्वीप दूधको समुद्रले घेरिएको छ। मेधातिथिले शाकद्वीपको राज्य चलाए। यो द्वीप दधिमण्डोद अर्थात् मोहीको समुद्रले घेरिएको छ। वीतीहोत्रले पुष्करद्वीपको राज्य चलाए। यो द्वीप शुद्धोद अर्थात् पवित्र जलले घेरिएको छ।

जम्बूद्वीपको क्षेत्रफल एकलाख योजनको छ। यसमा नौ खण्डहरू भद्र, अश्व, हरि, केतुमाल, रम्यक, हिरण्मय, कुरु, किम्पुरुष र भारत छन्। भारतखण्डमा गङ्गा, काशी, वागमती, नारायणी आदि गरेका पवित्र नदी र तीर्थहरू छन्। यसरी सबै द्वीपहरूमा खण्डहरुको विभाजन गरिएको छ। अष्ट पर्वतहरू सुमेरु, गन्धमादन, कैलाश, हिमालय, त्रिकूट, चित्रकूट, चन्द्रकुट र चन्द्रान्तक सृष्टि भए।

अनि ब्रह्माजीले प्राणिको सृष्टि गर्न महादेवको तपस्या गरे। महादेवले पनि तथास्तु भनी वरदान दिए। तहाँउप्रान्त ब्रह्माजी सुमेरु पर्वतमा गए। त्यहाँ पुगी शिवलोक, विष्णुलोक, उमालोक, स्कन्दलोक आदिलोकहरू सृष्टि गरे। सुमेरु पर्वतको पूर्वमा –ऐरावती, पश्चिममा –श्रद्धावती, उत्तरमा –अलकापुरी, दक्षिणमा –यमपुरी, त्यस्तै इशानमा –यशोमती, नैऋत्यमा –कृष्णावती, वायव्यमा –गन्धावती र आग्नेय दिशामा शुद्धावतीको सृष्टि गरे। त्यसपछि स्थावर जङ्गमको सृष्टि गरी प्राणीहरूको सृष्टि गर्न थाले।

कुमारको मुखारविन्दबाट यी दिव्य कथाहरू सुनेर अगस्त्य मुनिले देवता, दैत्य तथा मनुष्यको कसरी सृष्टि भयो भनी मनसुवा गरी सुध्याए। अनि पार्वतीनन्दन कुमारजीले भने ‘माथि कहिएका सय ऋषिहरुमध्ये ज्येष्ठ कश्यपका तेह्रवटी स्त्री थिए। तिनीहरू दिति, अदिति, दनु, राका, सिंहिका, क्रोधा, प्राधा, वलिष्ठा, विनता, कपिला, कद्रु र मनु नाउँका थिए। दितिका गर्भबाट हिरण्याक्ष, हिरण्यकशिपु जस्ता राक्षसहरू जन्मिए। अदितिबाट इन्द्र, चन्द्र, सूर्य आदि तेत्तीसकोटि देवता। दनुका गर्भबाट वृषपर्वा आदि दानवहरु। राका र घोराबाट गन्धर्वहरु। सिंहिकाबाट राहु, क्रोधाबाट क्रोध र प्राधाबाट रम्भा आदि अप्सराहरूको जन्म भयो।

चराचुरुङ्गीहरू बलिष्ठाका गर्भबाट तथा विनताका गर्भबाट अरुण, गरुड आदि जन्मिए। कपिलाका गर्भबाट गाइ, सिंह, हात्ती, मृग आदि भए। यस्ता प्रकारले देवता, दानव, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पशुपंक्षी, कीटपतङ्ग, आकाशमा उड्ने, भुइँमा घस्रिने, पानीमा पौडने गरी जलचर, स्थलचर, नभचर प्राणीको सृष्टि विकासक्रमसँगै विकास हुँदै उत्पत्ति हुँदै गए। अनि ब्रह्माजीले यिनीहरुलाई आहाराका लागि सप्त धान्यादि अनेकौं प्रकारका आहाराहरु विकासक्रम सँगै उत्पत्ति गर्दै रहे।

हे अगस्त्य मुनि! प्रजापति जम्मा आठ थिए। तिनैलाई अष्ट प्रजापति भनिन्छ। तीमध्ये जेठा प्रजापतिको नाउँ दक्ष थियो, उनलाई दक्षप्रजापति भनियो। तिनकी पत्नीको नाउँ विरणी थियो। तिनी गर्भवती भइन्। अनि बत्तीस लक्षणले युक्त भएकी कन्या जन्माइन्। उनै सतीदेवी भइन्।

प्रकाशित : २६ पुस २०७६, शनिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: