Logo

शिक्षा

उपाध्यक्षमा ‘अयोग्य’ श्रीकृष्ण गिरीका छोराको फोटो चिकित्सा शिक्षा आयोगको वेबसाइटमा



प्रा.डा. गिरी, छोरा पियुश (रातो गोलाकारभित्र) र आयोगका कर्मचारी।

काठमाडौं, १० पुस – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने योग्यता नपुगे पनि राजनीतिक दवावमा नियुक्त भएका प्रा.डा. श्रीकृष्ण गिरीको कार्यशैलीप्रति कर्मचारीहरूले नै विरोध गर्न थालेका छन्।

उपाध्यक्षमा नियुक्त भए लगतै गिरीले नवगठित संस्थामा अनियमित कार्य शुरू गरेपछि कर्मचारीहरू आक्रोशित भएका हुन्।

‘उपाध्यक्ष प्रा.डा. गिरीको नियुक्ति असंगत भएको कुरा पहिल्यै उठेको थियो, अहिले छोरा पियुश गिरीसहितको फोटो आयोगको वेबसाइटमै राख्नु लगाएपछि उहाँप्रति गुनासो बढेको छ,’ आयोगका एक कर्मचारीले भने।

डा. गिरीका छोरा पियुशलाई आफ्नो दाँयातर्फ राखेर खिचेको फोटो वेबसाइटमा राखिएको छ। ‘उपाध्यक्ष र कर्मचारी’ क्याप्सन लेखिए पनि वेबसाइटमा गिरीका छोरासहितको तस्वीर राखिएको छ।

प्रा.डा. श्रीकृष्ण गिरी।

‘यो पनि एक किसिमको अनियमितता र भ्रष्टाचार हो, गिरी उपाध्यक्ष भएर काम गर्न आउनु भएको कि छोराको फोटो आयोगको वेबसाइटमा राख्न?,’ ती कर्मचारीले आक्रोशित हुँदै भने।

चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर संघर्ष गरिएका प्रा.डा. गोविन्द केसीको सत्याग्रहकै कारण गठित चिकित्सा शिक्षा आयोगमा अयोग्य व्यक्तिलाई नै उपाध्यक्षमा नियुक्त गरिएपछि चौतर्फी आलोचना भइरहेको छ।

के छ कानूनी व्यवस्था?

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ (१)(क) मा आयोगको उपाध्यक्षका लागि ‘मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी, चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको’ हुनुपर्ने छ।

तर, गिरीको मेडिकल शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरी २० वर्ष चिकित्साशास्त्रको अनुभव र चिकित्सा शिक्षा अध्यापनमा कम्तीमा १० वर्षको अनुभव र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव दुवै छैन।

गिरीसँग स्वास्थ्य सेवाका क्षेत्रमा २० वर्षको अनुभव भए पनि उनको चिकित्सा शिक्षा अध्यापनमा १० वर्षको अनुभव छैन। नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार प्राडा गिरी सन् २००२ मा विशेषज्ञ चिकित्सकको रूपमा दर्ता भएको देखिन्छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले २०६६ जेठ ४ गते उनलाई अर्थोपेड्रिकका प्राध्यापकमा नियुक्त गरेको प्रतिष्ठानले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित : १० पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल