Logo

मनोरञ्जन

श्रष्टा सम्मान गर्दै पूर्वउपराष्ट्रपतिले भने, ‘कलाकारको एउटै सृजनाले देश जाग्नसक्छ’



तिलक फिल्मस्‌काे वार्षिकोत्सव


जीवन पौडेल, काठमाडौं – पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएर मात्रै कलाकारहरूले राज्य सत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन्। अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्नै नसकेको झाको गुनासो छ।

तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, तथा श्रष्टा सम्मान कार्यक्रममा संघीय नेपालका प्रथम उपराष्ट्रपति झाले कलाकर्मीहरूलाई राष्ट्रले सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।

परमानन्द झा, पूर्वउपराष्ट्रपति।

‘यहाँ त पैसाको बिटो बुझाए मात्रै राज्य सञ्चालन र उच्च तहमा पहुँच पाउन सक्छन् कलाकारले, नभए केही हुँदैन, यो अवस्थालाई वर्तमान सरकारले अन्त्य गर्नुपर्छ,’ झाले भने, ‘कलाकारको मेहनत, देश र जनताप्रति दिएको बलिदानीलाई सम्मान गर्नुपर्छ, कदर गर्नुपर्छ।’

देश र आफू जन्मेको माटोको माया कलाकारहरूलाई बढी हुने चर्चा गर्दै पूर्व उपराष्ट्रपति झाले कलाकारको एउटै सृजनाले देश जाग्नसक्ने धारणा व्यक्त गरेका न्। पूर्व उपराष्ट्रपति झाले मुलुक विस्तारै विकास र समृद्धिको यात्रामा अघि बढेकाले अब कलाकारहरूले पनि सम्मानजनक स्थान पाउने धारणा व्यक्त गरे।

प्रमिला यादव, राष्ट्रिय सभा सदस्य।

कार्यक्रममा समाजवादी पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएमा कलाकारहरूलाई पनि फाइदा पुग्ने बताइन्।

‘केन्द्रिकृत भएर बसेको मुलुकको पूँजीलाई अब विस्तारै प्रदेश र स्थानीय तहमा पुर्‍याउनुपर्छ,’ यादवले भनिन्, ‘यसबाट कलाकारहरू पनि लाभान्वित हुनुहुने छ।’

प्राज्ञ नन्दकृष्ण जोशी, वरिष्ठ संस्कृतिविद्, गायक तथा देउडा सम्राट।

त्यसैगरी, वरिष्ठ संस्कृतिविद्, गायक तथा देउडा सम्राट प्राज्ञ नन्दकृष्ण जोशी र संगीतकार तथा समाजसेवी मनोजराज शिवाकोटीले परिवर्तनका आन्दोलनहरूमा कलाकारको योगदान रहने गरे पनि त्यसपछि सधैँ राज्यबाट उपेक्षाको शिकार भइरहेको बताएका छन्।

मनोजराज शिवाकोटी, संगीतकार।

विभिन्न क्षेत्रका श्रष्टा सम्मानित

तिलक फिल्मस्ले विभिन्न क्षेत्रमा क्रियाशील श्रष्टाहरुलाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष एवम् गायक तथा निर्देशक दीपकराज जोशीले सामाजिक, सांगीतिक र मुलुकको आर्थिक क्षेत्रसँगै शिक्षामा योगदान गर्ने समाजसेवीहरूलाई सम्मान गरिएको बताए।

‘विविध भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण, सम्बर्द्धन तथा उत्थान गर्ने उद्देश्यले तिलक फिल्मस् प्रालिको स्थापना भएको हो,’ उनले भने, ‘नेपालको कला, संस्कृति र मौलिक परम्परा एवम् समग्र नेपाली साहित्य र रंगमञ्चको उन्नयनमा हामी निरन्तर सक्रिय रहने छाैं।’

दीपकराज जाेशी, अध्यक्ष तिलक फिल्मस्।

कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विभिन्न सांगीतिक, सेवामूलक तथा सामाजिक संघसंस्थामा सक्रिय तथा मुर्छना संगीतालयका प्रबन्ध निर्देशक, वरिष्ठ गायक एवम् संगीतकार मनोजराज शिवाकोटी, विभिन्न शैक्षिक तथा सामाजिक संघ–संस्थामा आबद्ध रहेकी लब्ली किड्स स्कुलकी संस्थापक प्रिन्सिपल सपना लामालाई सम्मान गरेका छन्।

त्यसैगरी, झरना कला केन्द्रकी प्रबन्ध निर्देशक, नृत्य निर्देशक, कलाकार तथा समाजसेवी मनिषा राई, माउण्ट गौरीशंकर स्कुलका संस्थापक प्रिन्सिपल एवम् वरिष्ठ शिक्षासेवी रामकृष्ण बललाई पनि सम्मान गरिएको छ।

निर्माण, सौन्दर्य तथा सामाजिक संघ–संस्थामा आबद्ध रहेकी महिला उद्यमी, सौन्दर्यकला व्यवसायी तथा समाजसेवी सरस्वती श्रेष्ठ (सरु)लाई पनि कार्यक्रममा सम्मान गरिएको छ।

पत्रकार अशोक अधिकारी, नृत्य निर्देशक तथा कलाकार रोशन बुढाथोकी, महिला उद्यमी तथा समाजसेवी छपिकुमारी ओली, मारुनी डिजिटल रेकडिङ स्टुडियोका प्रबन्ध निर्देशक, वरिष्ठ ध्वनी सम्पादक तथा गायक कुमार रानालाई उपराष्ट्रपति झाले सम्मान गरेका थिए।

कार्यक्रममा वरिष्ठ गायक तथा नेपाल आयल निगमका निवर्तमान निर्देशक सीताराम पोखरेल, वरिष्ठ शिक्षासेवी तथा कुमुदिनीकुञ्ज माविका संस्थापक प्रिन्सिपल रामचन्द्र देवकोटा, सुदूरपश्चिम कलाकार संघकी संस्थापक अध्यक्ष रीना बम, गायिका तथा कलाकार लक्ष्मी आचार्य लगायतका कलाकारहरूको आतिथ्य रहेको थियो।

प्रकाशित : ८ मंसिर २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल