Logo

समाचार

कुल आचार्यद्वारा ‘पसिना फन्ड’ प्रस्ताव, वैदेशिक रोजगारको बचत उत्पादनमा लगाइने



काठमाडौं – गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको बचत नेपालको नवनिर्माणमा प्रयोग हुने गरी एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन्।

कोषमा जम्मा भएको रकम नेपालको हित र लगानीकर्तालाई मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने योजनाका साथ आचार्यले ‘पसिना फन्ड’को प्रस्ताव गरेका हुन्।

‘कोषको सञ्चालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ, यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसँग समन्वय गरेर काम गर्ने छु,’ एनआरएनएको नवौं विश्व सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी आचार्यले भने।

स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले देशको अर्थतन्त्र थेगेको उनले बताए।

तर, विप्रेषणको रुपमा आएको अधिकांश रकम उपभोगमा खर्च हुने गरेको अनुसन्धानहरुले देखाएको उनले उल्लेख गरे।

‘महँगो ब्याजमा ऋण लिने र २–३ वर्ष त्यही साँवा र ऋण तिर्न हाम्रा धेरैजसो युवाको समय खर्च हुने गरेको छ, तीन वर्ष काम गरेर घर फर्के पछि फेरि ऋण खोजेर विदेश जानु पर्ने अवस्था छ, यस्तो अवस्थामा एकातिर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नु पर्ने आवश्यकता छ, अर्कोतर्फ नेपाली युवाहरुले पसिना बगाएर बचत गरेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,’ आचार्यले भने।

अहिलेको जल्दोबल्दो समस्या नेपालीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा रहेको आचार्यले बताए। नेपाली चेलीहरु विदेशमा घरेलु तथा यौनहिंसाको शिकार हुँदै आएको र उनीहरुको सुरक्षित आप्रवासन र रोजगारी सुरक्षा सुनिश्चितता प्रमुख दायित्व रहेको उनले बताए।

‘त्यसैले नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सञ्जालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन काम गर्नेछु,’ आचार्यले भने।

एनआरएनए उपाध्यक्ष आचार्यद्वारा प्रस्तुत पसिना फन्डका बुँदाहरु

–वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा झन्डै अढाई करोड रकम छ। यसका लागि अभियान नै सञ्चालन गरी आगामी दुई वर्षमा कोषलाई कम्तिमा पाँच करोड पुर्याउने छु। र विद्यमान कार्यविधि पुनरावलोकन गरी कोषको सञ्चालन पारदर्शी ढंगले गर्नेछु।

–वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्नेछु। नेपाल सरकार तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएम जस्ता संस्थाहरुसँग समन्वय गरेर विदेशमा अलपत्र परेका पीडित कामदारहरुलाई सहयोग गर्न सुरक्षित गृहको व्यवस्था मिलाउन पहल गर्नेछु।

–रेमिटान्समा निर्भर अर्थतन्त्रलाई क्रमशः उत्पादनशीलतामा आधारित अर्थतन्त्रमा परिणत गर्ने गरी युवा उद्यमशीलता कार्यक्रम तर्जुमा गर्न प्रोत्साहन गर्ने छु

–वैदेशिक रोजगारमा जाने नेपालीहरुमध्ये झन्डै ७५ प्रतिशत अदक्ष कामदार रहेका छन्। यसबाट सम्बन्धित व्यक्ति मात्रै हैन, मुलुकले नै ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ। खास गरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीप बीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न पहल गर्ने छु। यसैगरी नेपाल सरकारले इटहरी, भैंसेपाटी र बुटवलमा स्थापना गर्न लागेको सीप विकास केन्द्रका लागि पाठ्यक्रम तर्जुमादेखि प्रशिक्षण लगायतका विषयमा सहकार्य गर्न पनि सङ्घको तर्फबाट प्रस्ताव गर्ने छु।

–वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सही र जीवनोपयोगी जानकारी दिने उद्देश्यले झन्डै तीन वर्ष अघि गैरआवासीय नेपाली संघ तथा द एसिया फाउन्डेसनसँगको सहकार्यमा ल्याइएको ‘शुभयात्रा मोबाइल एप’लाई थप जानकारीमूलक र उपयोगी बनाउन सम्बन्धित एनसीसीहरुसँग सहकार्य गर्ने व्यवस्था मिलाउने छु।

–युरोप, अमेरिकालगायतका देशमा रोजगारी लगाइदिने नाममा सर्वसाधारणबाट ठूलो रकम ठगी गर्ने, अलपत्र पार्ने, शोषण गर्ने सङ्गठित गिरोहलाई दुरुत्साहित गर्न नेपाल सरकार, कूटनीतिक नियोगहरु, सञ्चार जगत तथा सङ्घका राष्ट्रिय समन्वय परिषद्हरुसँग समन्वय गरी सचेतना अभियान थाल्ने व्यवस्था मिलाउने छु।

आचार्यले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनेबारे हालै कतार, बहराइन, कुवेत, मलेसिया लगायतका मुलुकमा कार्यरत नेपालीहरुसँग बृहत् अन्तरक्रिया पनि गरेका थिए।

‘पसिना फन्ड’ स्थापन गर्ने योजना गैरआवासीय नेपाली संघका लागि कोशेढुंगा सावित हुने आचार्यले बताएका छन्।

प्रकाशित : २५ आश्विन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल