Logo

राजनीति

राष्ट्रिय संकल्प पूरा गर्न तीव्र विकासको मार्गमा सरकार: प्रधानमन्त्री



काठमाडौं – प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताउनु भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिनुभएको हो ।

राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाई छ ।

अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूची वा डार्क लिस्टमा राख्नुपर्ने उहाँले बताउनुभयो । ‘त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि पर्यो ? बाटो घाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि पर्यो ?’ बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभएको थियो ।

कुखुराको माऊले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिंदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने स्पष्ट पार्नुभयो ।

‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ वहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ ।’ प्रम ओलीले भन्नुभयो ।

जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रम ओलीले आम जनता बीच जागरणको लहर सृजना गर्नुपर्ने बताउनुभयो । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उहाँको भनाई थियो ।

हिंसा फैलाउन खोज्ने र गाउँ गाउँमा गएका विकासको वजेट लुट्ने विप्लव नामका समूह हामीले चाहेको विकासका वाधक हुन् भन्दै प्रधानमन्त्री ओलीले वातावरणको विनाश नहुने गरी विकासका गतिविधि बढाउन जोड दिनुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवं लगानी वोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल