Logo

राजनीति

विवेकशील साझाको महाधिवेशन २०७६ फागुनमा, नियोजित रुपमा पार्टी फुटाउन खोजिएको ठहर



काठमाडौँ – रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आगामी २०७६ फागुनका लागि महाधिवेशनको मिति घोषणा गरेको छ। पार्टी प्रवक्ता सूर्यराज आचार्यका अनुसार २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने तय भएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले पुस ३० र माघ १ गते सम्पन्न पार्टीको बैठकले महाधिवेशनको मिति तय गरेको बताए। हालै पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि केन्द्रीय समितिको बैठकले महत्वपूर्ण तथा दुरगामी निर्णयहरु गरेको उनले बताए।

‘हालै पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रीय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ,’ प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका तात्कालिक एक जना संयोजकले नियोजित रुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रीय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको देखिन्छ। यो केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल गर्ने एजेण्डा पूर्वनिर्धारित थियो।’

केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको प्रवक्ता आचार्यले जनाए। ‘साथै हाम्रा सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरको मूल्यांकन पनि गरियो। तर पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा भने केही अन्यौल उत्पन्न भएकोले त्यसलाई यथाशीघ्र चिर्नको लागि पार्टीका विभिन्न तहमा विविध कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरिएको छ,’ आचार्यले भने।

विवेकशील साझा पार्टीका निर्णयहरु निम्न छन्ः

१, आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौँमा विवेकशील साझा पार्टीले भव्यताका साथ पहिलो महाधिवेशन गर्नेछ।

२, विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिनेछ।

साथै, विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने छ।

३, पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। र, अनिल भेटवाल पार्टीको विधान अनुसार पदेन केन्द्रीय सदस्य समेत हुनुभएको छ।

४, पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एक–एक जना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ।

५, पार्टीमा युवा तथा महिला सहभागितालाई प्रवर्द्धन गर्न र तीव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमशः पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले पेशागत र व्यावसायीक भातृ संगठन भने निर्माण नगर्ने प्रतिवद्धतामा पुन जोड दिएको छ।

६, पार्टीमा देखापरेका पछिल्ला चुनौतीहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरिका पार्टी प्रतिनिधि सदस्यहरु सहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको छ। साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझाः अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने छ।

७, पार्टीका केन्द्रीय विभागहरुको पुनर्गठन र जिम्मेवारीको बाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलनमा डा उमेद पुन, संगठनमा मुमाराम खनाल, अभियानमा किशोर थापा, नीति तथा कार्यक्रम डा. सूर्यराज आचार्य, प्रशिक्षण केशव दाहाल, सञ्चार किरणकृष्ण श्रेष्ठ, सामाजिक न्याय तथा समावेशिता प्रकाशचन्द्र परियार, कानून निरूपमा यादव, उद्यमशीलता रमेश महर्जन, तथ्यांकमा राम साह, केन्द्रीय कार्यालयमा मानवी पौडेल तथा विदेश विभाग रवीन्द्र मिश्रले सम्हाल्ने छन्।

८, पार्टीले केही महिनाअघि शुरू गरेर बीचमा अवरूद्ध भएको संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुन जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पुर्याउने छ।

९, पार्टीले मधेशको भावना, चाहना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष मधेश मिसन सञ्चालन गर्नेछ।

प्रकाशित : १ माघ २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल