काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताउनु भएको छ।
सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई विक्री गर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो। त्यस विषयमा काम गर्न जलउर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेका छौं।’
![](https://www.asiasanchar.com/wp-content/uploads/2018/09/KP-Sharma-Oli.jpg)
त्यस विषयमा भारत र बंगलादेशसँग विशेष रुपमा केन्द्रित भएर कुराकानी गरेको ओलीले बताउनु भयो। ‘जसबाट हामी भारत, वंगलादेश र म्यानमार मात्र होइन सुदूर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं’ – उहाँले भन्नुभयो।
नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्र जारी गरिएको प्रधानमन्त्रीले बताउनु भयो। उहाँले भन्नुभयो – ‘बिमस्टेक होस् वा अन्य क्षेत्रीय वा अन्तर्राष्ट्रिय मञ्च होस्, न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं।’
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मिहेनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षा मन्त्रालय अन्तरगतका सुरक्षा निकायलगायत सकारका सबै निकायप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले नेपाली जनता खासगरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकाबासीप्रति आभार प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, ‘आमसञ्चार माध्यम, बौद्धिक जगत र आमरुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।’
प्रतिक्रिया