Logo

आर्थिक

प्रधानमन्त्रीको प्रष्टोक्ति, ‘नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ’



काठमाडौं, १९ साउन – प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्। हालसम्म देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा  सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  व्यापार समस्याको बारेमा कुरा गरिने बताएका छन्। ‘विमस्टेकमा आउनुभएका राष्ट्र प्रमुखसँग सामूहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्छाैं,’ उनले भने।

प्रधानमन्त्री ओलीले  उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नु पर्ने बताएका छन्। ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट समृद्ध नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ,’ ओलीले भने, ‘नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवसायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ।’

प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्। ‘हामी आर्थिक परिर्वतन त भनिरहेका छौं, तर त्यो बाटो पक्रिरहेका छैनौं,’ ओलीले भने, ‘सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ। यसमा कृषिलाई पनि जोड्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताएका छन्। ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन्, अत्याधुनिक खाना पनि खाएकै छन्,’ ओलीले भने, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन। व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो।’

अहिलेको सरकार स्थिर भन्नाले गतिहीन नभएको प्रधानमन्त्रीले बताए। ‘जनताको अपेक्षा स्थिरताका लागि पनि गतिशील सरकारको थियो, त्यो पूरा भएको छ, अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्छ,’ ओलीले भने।

उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे–जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुस्याईं नगर्ने प्रतिवद्धता ओलीले व्यक्त गरेका छन्। सरकारले दोहोरो–तेहोरो कर नलिने उनले बताएका छन्। व्यवसायीहरुले करवृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाहिँ हटाइने बताएका छन्।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कामका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका छन्।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तव्य राखेका थिए। अन्तरक्रिया कार्यक्रममा मन्त्री र सचिवहरुको पनि उपस्थिति थियो।

​​​​​​​

प्रकाशित : १९ श्रावण २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल