Logo

राजनीति

विपी कोइरालालाई जेल हालेपछि राजा महेन्द्रविरुद्ध संघर्षमै उत्रिएका भरतशमशेर



काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको निधन भएको छ। नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको ८९ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक श्रोतका अनुसार राणाको कलकत्तास्थित निवासमा शनिबार बिहान निधन भएको हो।

शुक्रबार रातिसम्म सक्रिय रहेको र खाना खाएका राणाको शनिबार बिहान निधन भएको हो। प्रजातन्त्र स्थापनापछि भएको निर्वाचनपछि २०१५ सालमा गठित पहिलो संसदमा राणा प्रमुख प्रतिपक्षी नेता थिए।

भरतशमशेर राणा (पछिल्लाे समय र युवावस्थामा)

​​​​​​​प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट उनले विजय हासिल गरेका थिए। गोर्खा परिषद्का महामन्त्री रहेका राणाले राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदमपछि आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराए। र, भारत गए।

कलकत्तामा रहँदा राणाले थुप्रै बंगाली चलचित्रहरु पनि निर्माण गरेका थिए। नेता राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

यसैबीच, नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले आफ्ना ठूलोबुवाको निधन भएको जनाउँदै फेसबुकमा लेखेका छन्, ‘२०१७ सालमा तत्कालीन राजाले नेपाली कांग्रेसको सरकारविरुद्ध राजनीतिक ‘कु’ गरेपछि उहाँले प्रजातन्त्रका लागि आफ्नो पार्टीलाई निशर्त कांग्रेसमा बिलय गर्नुभएको थियो। लोकतन्त्रप्रति उहाँको सधैं उच्च सम्मान थियो। ठूलो बुबाको निधनले हामीले आज परिवारको अभिभावक गुमाएको महसुस गरेका छौं। स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना गर्दछु।’

सभापति देउवाद्वारा शोकव्यक्त

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं राजनीतिक र सामाजिक परिवर्तनका पक्षधर भरतशमशेर राणाको निधनप्रति दुख व्यक्ति गरेका छन्।

‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ। उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु। साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसरी स्मरण गरे प्रवक्ता शर्माले

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका पुराना नेता भरतशमशेर राणाको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

भारतको कलकत्तामा शनिबार बिहान दिवंगत भएका राणाका विषयमा छोटो टिप्पणी गर्दै प्रवक्ता शर्माले श्रद्धासुमन व्यक्त गरेका हुन्।

शर्माले ट्वीटमा लेखेका छन्, ‘विपीका कट्टर आलोचक भरतशमशेर, जोपछि विपीका इमानदार समर्थक बन्नुभयो, २०१५ सालको संसदमा प्रमुख विपक्षी नेता, संसद भंग र विपीलाई जेलपछि खरो विरोध गर्दै संघर्षको पक्षमा उभिनु भयो, विपीलाई साथ दिनुभयो र कांग्रेसमै प्रवेश गर्नुभयो।’

प्रकाशित : २६ श्रावण २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल