Logo

समाचार

३ दिन देशभर भारी वर्षा हुने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी



काठमाडौं – आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ। साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। असार १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बद्लीसहित वर्षा भइरहेको छ। काठमाडौँका कतिपय स्थानमा भारी वर्षा भएको छ। यद्यपि, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ। काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव पाँच र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाव खतराभन्दा माथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

आज देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतराभन्दा तलैहुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ।

साउन १४ गतेसम्म खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ। पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : १३ श्रावण २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल