Logo

मनोरञ्जन

‘फोपी’ एपः पाइरेसी रोकिने सर्जक र निर्माताको विश्वास



काठमाडौं – सर्जक र श्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र श्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने मूल उद्देश्यका साथ एक कार्यक्रमबीच ‘फोपी एप’ सार्वजनिक गरिएको छ।

कार्यक्रममा पाइरेसी नियन्त्रणका लागि समर्थन गर्ने कलाकार, श्रष्टाहरूको राम्रो उपस्थिति रहेको थियो। नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मिहेनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम गर्ने एप निर्माता आविष्कार टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले बताएका छन्।

‘हाम्रा सर्जकहरू पाइरेसीका कारण कति पलायन भए, कति वैकल्पिक पेशामा लागे,’ कार्कीले भने, ‘उनीहरूलाई सधैं बचाइराख्ने हामी दर्शक र स्रोताले नै हो। उनीहरूलाई सिर्जनाबापत लाभ हुनैपर्छ। हामी त्यसकै लागि आएका हौं।’

फोपी एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ। यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको कार्कीले बताएका छन्।

‘यो एपमार्फत जो–कोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुर्याउन सक्छन्,’ उनले भने, ‘यो स्वतन्त्र र पारदर्शी माध्यम हो। आफ्ना सामग्री कतिपटक किनियो, त्यसबापत कति रकम प्राप्त भयो भन्नेसम्म जानकारी सर्जक वा कम्पनीले थाहा पाउन सक्छन्। कोही ठगिने गुन्जायसै छैन।’

कार्कीका अनुसार ‘फोपी’लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ। सीधा एप डाउनलोड गरी वाइफाईबाट हेर्न मिल्छ। उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन्।

अर्को, तोकिएको ‘फोपी पसल’बाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ। यो सुविधा वाइफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ। तेश्रो, सार्वजनिक स्थलहरू (होटल, रेस्टुराँ, सवारीसाधन)मा ‘फोपी हटस्पट’ सञ्चालन गरिनेछ। यी ठाउँमा फोपीको वाइफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ।

एप निर्माण कम्पनी आविष्कार टेक्नोलोजीले यो एपमार्फत सिर्जना चोरी पूर्णतः निषेध हुने विश्वास लिएको छ। यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ।

ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ। मूल्य पनि न्यूनतम तोकिएको छ। सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ। सबै मिडिया सामग्री तीब्र गतिमा (टुजीमा समेत) डाउनलोड गर्न सकिन्छ। जहाँ बसेर पनि आफूले चाहेको गुणस्तरमा हेर्न सकिन्छ।

‘फोपी एप’का सामग्री किन्नका लागि पैसा तिर्ने माध्यमहरू पनि सरल बनाइएका छन्। प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई–सेवाबाट तिर्न सक्नेछन्। साथै, फोपी पसलमा गई ’फोपी ब्यालेन्स’ पनि राख्न सकिनेछ। विदेशमा बस्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट माध्यम प्रयोग गर्ने सुविधा रहेको उनले बताएका छन्।

प्रकाशित : १९ असार २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल