Logo

राजनीति

‘कसैकाविरुद्ध कसैलाई उचाल्ने र गैह्रजिम्मेवार ढंगले प्रस्तुत हुने काम गर्दैनौं’



काठमाडौं, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

गत असार ५ देखि १० गतेसम्म भएको आफ्नो चीन भ्रमणको विषयमा संघीय संसदलाई जानकारी दिँदै ओलीले चीन भ्रमणका क्रममा पनि देशलाई फाइदा पुग्ने यस्ता थुप्रै सहमति र सम्झौता भएको जानकारी दिएका हुन्।

भ्रमणका क्रममा सरकारीतर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए।

​​​​​​​

ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको, सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न यो सरकार सक्षम हुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्री ओलीले बताएका छन्।

‘नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालीन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रस्तुत हुने काम गर्दैनौं,’ ओलीले भने, ‘देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गर्छौं।’

नेपाल र चीनबीच मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्देश्य रहेको ओलीले बताएका छन्।

यसैगरी, राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘हाम्रो भ्रमणका अधिकांश उद्देश्य पूरा भएको हामीले महसुस गरेका छौं,’ ओलीले भने।

चीनमा रहँदा आफूले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ, राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

यसैगरी, तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष सी तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारीपत्र, मितेरी पुल र रसुवा पुल पुनर्निर्माण सम्बन्धी सम्झौताहरु, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र, नुवाकोट दरबार पुनर्निर्माण, रसुवा, दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। यसैगरी, पूर्वी तराई नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

आफू भारत भ्रमणबाट फर्केपछि यस भ्रमणका सकारात्मक असर क्रमशः देखिने प्रधानमन्त्री ओलीले भने, ‘विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु, थप हवाइ रुट नेपालले पाउनु, डुबानको विषयमा नेपाल भारतको संयुक्त टिमले अध्ययन गर्नु त्यस भ्रमणका सकारात्मक पक्ष थिए। जो केही समयपछि देखिए। अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन्। चीन भ्रमणका पनि यस्ता सकारात्मक पक्ष अब क्रमशः देखिँदै जानेछन्।’

प्रकाशित : १२ असार २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल