Logo

राजनीति

प्रधानमन्त्रीको चीन भ्रमणः के होला रसुवागढी–काठमाडौं रेलमार्ग?



​​​​​​​

काठमाडौं, २२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौंसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ।

परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताउँछन्।

‘अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रकारका सहयोग लिएर नै रसुवागढीबाट काठमाडौं र रक्सौलबाट काठमाडौं रेल ल्याउन सकिन्छ, सरकारले यसकै लागि गृहकार्य गरिहरहेको छ, अनुदान पहिलो प्राथमिकता हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि कार्यकारी प्रमुखका रुपमा चीन भ्रमण गर्दा रेललगायत पूर्वाधार विकासका १० बुँदे सम्झौता गरेका थिए। यसपटक त्यसैलाई कार्यान्वयनमा लैजाने मुद्दालाई भ्रमणमा प्राथमिकता दिइने नेकपाका नेता डा. भट्टराईले बताएका छन्।

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर ट्रान्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब द्रूत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग वार्ता गर्ने सरकारको तयारी छ।

भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन विश्वासको वातावरण बनाउने गृहकार्यसमेत भएको उनको भनाइ छ। नेपालमा स्थिर सरकार भएकाले लगानीको वातावरण छ भन्ने सन्देश प्रधानमन्त्री ओलीको भ्रमणमा दिनुपर्नेमा नेता भट्टराईले जोड दिए।

नेपाल–भारत प्रबुद्ध समूह इपिजीमा नेपाली प्रतिनिधिमण्डलको सदस्य भट्टराईले समूहको अन्तिम बैठक यही असार १५ र १६ मा काठमाडौंमा बस्ने तयारी भएको जानकारी दिए।

‘हामीले सबै प्रतिवेदन टुङ्गो लगाएका छौं, भारतीय पक्षले छलफल गरिरहेको छ, यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौं,’ उनले भने।

देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन दुवै छिमेकीको सहयोग लिने सरकारको नीति रहेको सो अवसरमा नेता भट्टराईले स्पष्ट पारेका छन्।

प्रकाशित : २२ जेष्ठ २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल