Logo

राजनीति

सरकारको नीति तथा कार्यक्रममाथि व्यापक समर्थन, विश्वास र अपेक्षाः प्रधानमन्त्री



काठमाडौं, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता नरहेको जिकिर गर्दै व्यापक समर्थन, विश्वास र अपेक्षा देखिएको धारणा राखेका छन्।

‘कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ,’ उनले भने

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेकी थिइन्। उक्त नीति तथा कार्यक्रममाथि ६ संशोधनका सूचना दर्ता भएका छन्। नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिएका थिए।

नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटीमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ।

प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५/०७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७४/०७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्ने छन्।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो। बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित : १३ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल