Logo

विचार

माध्यमिक शिक्षा परीक्षा (एसईई) बहस: कोरोना ब्याच कि सुधारक ब्याच?



एसईईलाई फलामको ढोका मान्नु नै गलत हो। जबकी यो भन्दा पनि बलिया ढोका त पछि बल्ल भेटिन्छन्, जसलाई पार लगाउन निकै गाह्रो हुन्छ। यसपालि एसईई परीक्षा दिन नपाएकोमा कति विद्यार्थी दु:खी भए होलान्, त कति परीक्षा दिन नपरेकोमा खुशी भए होलान्। नतिजा प्रकाशित भयो। कति अभिभावक साथीभाइको बधाई ज्ञापन फेसबुकको वालमा भेटिइरहेका छन् त कोहीले परीक्षा नदिई, विद्यालयमा शिक्षकहरुको प्रिय भएका कारण, विद्यालयमा समयमा र प्रशस्त पैसा तिरेका कारण र अझै अनेकन कारणले आएको, मिहेनत बिनाको जिपिए हेरेर मख्ख नपरे हुन्छ भन्दै पोस्ट गरेको पनि भेटियो। एसईई मात्र हैन अब केही महिनामै कक्षा ११ को नतिजा पनि प्रकाशित हुन्छ र फेरि पनि यस्तै पोस्ट देख्न पाइन्छ।

थाहा छैन, पोस्ट गर्नेहरूले ठट्टा गर्नुभएको हो या गम्भीर भएर दु:ख प्रकट गर्नुभएको, उनीहरूको बिल्ला गर्न खोज्नु भएको हो या चिन्ता लिनुभएको हो। तर, त्यसरी पोस्ट गर्दै गर्दा जसलाई लक्षित गर्नुभएको हो, उनीहरूको मस्तिष्कमा कस्तो असर पर्छ भन्नेतर्फ ध्यान दिनु जरुरी छ। पहिले नै कोरोना कहरले गर्दा बालबालिकाको मनस्थितिमा परेको नकारात्मक असर, त्यसमाथि उनीहरूले पाएको जिपिएप्रतिको कैयौंको नकारात्मक विश्लेषण। आफ्नो र आफ्नाको जीवनमा आएका खुशीका क्षणमा हाँसीखुशी रमाउने हक जो कोहीको पनि हुन्छ। उनीहरूको खुशीले कसैको जीवनमा नकारात्मक प्रभाव नपर्दासम्म कसैलाई पनि त्यसविरुद्ध केही भन्ने र लेख्ने हक कसैमा छैन। उनीहरूले चैत्र ५ गतेसम्म परीक्षा दिनका लागि धेर थोर मिहेनत त गरेकै थिए। कति त परीक्षा दिनको लागि भनी आफ्नो घरबाट टाढा गई कोठा भाडामा समेत लिइसकेका थिए। र पनि किन मिहेनतबिनाको फल भन्दै अनेकन टिप्पणी गरिदैछ?

उनीहरूको भविष्य कस्तो हुन्छ र कति मिहिनेत गर्नुपर्छ भन्ने कुरा उनीहरू आफैले भावी दिनमा अवस्य पनि थाहा पाउने नै छन् । फेरि पनि किन ‘कोरोना ब्याच’को ट्याग लगाई उनीहरूमा हानिकारक विचार ल्याउन तिर लाग्नुभएको छ? सक्नुहुन्छ भने कम्तिमा पनि एकजना विद्यार्थीलाई आउने दिनहरूमा मार्गनिर्देशन गरिदिनुहोस्, सकारात्मक विचार र हौसला दिनुहोस्, जसले गर्दा हजुरको कारणले कसैको भविष्य उज्यालो हुनसक्छ। तर, यसरी नकारात्मक टिप्पणी गर्दै, नतिजा प्रकाशित भएका विद्यार्थीहरुलाई बिल्ला गर्दै हीनताबोध नगराइदिनुहोस्। तपाईंहरूको पोस्टले सामाजिक सञ्‍जालमा केही प्रतिक्रिया टीका टिप्पणी पाउला। तर, तपाईंले लक्षित गरेका विद्यार्थीले के पाउछन्? आफूले परीक्षा दिनको लागि महिनौं अगाडि गरेको मिहेनत सम्झिइ मिहेनत बिनाको फल प्राप्तिले धेरै नफुर्किनु भन्ने सन्देश? या आफैमाथि हीनताबोध?

यसरी प्रकाशित भएको नतिजाले न त विद्यार्थीको भविष्य निर्धारण गर्ने हो न त हजुरको मिहेनतले ल्याएको फलमा कुनै असर गर्ने हो। यो त वर्षभर विद्यार्थीले आफ्नो विद्यालयमा, कक्षाकोठामा र आफ्ना शिक्षकहरूसामु गरेको क्रियाकलापको नतिजा हो, आजसम्म आफू पढेको विद्यालयमा दिएका हरेक परीक्षाको नतिजा हो। हो, यो विषयमा पनि कति हदसम्म अपवाद होलान् जुन हर कुनै विषयमा हुन्छन्।

गएका वर्षहरूमा एसईईको नतिजाका कारण विद्यार्थीले गरेको आत्महत्याको समाचार पढ्दै ‘३ घण्टामा लिएको परीक्षा ले कुनै विद्यार्थीको वास्तविक मूल्यांकन हुँदैन’, भन्दै टिप्पणी गर्नेहरू आज फेरि विद्यार्थीको वर्षभरिको क्रियाकलापको मूल्यांकन गरि नतिजा प्रकाशित गर्दा किन यस्तो आपत्ति? यो त झनै विरोधाभास पूर्ण टिप्पणी भएन र? यो वर्ष मात्र नभएर आगामी वर्षहरूमा पनि एसईई मात्र नभएर हरेक शैक्षिकस्तरमा यही तरिका अपनाउने हो भने भने हामीले वर्षौंदेखि चाहेजस्तो शैक्षिक क्षेत्रमा सुधार आउन सक्छ। जसले गर्दा नेपालको शैक्षिक क्षेत्रको लागि कोरोना ‘Blessing in Disguise’ हुनसक्छ।

विपदग्रस्त परिस्थितिमा सरकारले लिएको निर्णयको दोष विद्यार्थीमाथि थुपार्नु कतिको उचित होला? आफ्नो पालामा ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने शिर्षकमा निबन्ध लेख्न मिहेनत गर्नुभएका शिक्षित वर्गहरु दोस्रो व्यक्तिको मानसिक स्वास्थका विषयमा किन यति साह्रो असावधानी? परीक्षाफल भनेको विद्यार्थीको वर्षभरिको क्रियाकलापको मूल्यांकन गरि दिइने सूचक हो। आगामी वर्षमा अझ राम्रो दिइने हौसला हो, प्रोत्साहन हो। त्यसैले यसलाई यसरी नै बुझौं। सकिन्छ हौसला दिउँ, सकिन्‍न, हीनताबोध र हतोत्साहित पार्ने काम नगराैँ। एक सचेत र शिक्षित नागरिकको परिचय दिउँ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल