Logo

बागमती प्रदेश

बुढानिलकण्ठमा कौशी खेतीको आकर्षण, वडा नं १२ का महिलालाई तालिम



प्रशिक्षक बाबुराम चौलागाईं, मञ्चमा प्रमुख अतिथि शम्भुप्रसाद भट्टराई र तालिममा सहभागीहरू।

काठमाडौं, १९ असार – बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–१२ को सहयोग तथा सर्वगणेश महिला समूह कपनको आयोजनामा दुई दिने कौशी खेती तालिम शुरु भएको छ।

सर्वगणेश महिला समूहकी अध्यक्ष सावित्रा ढकाल भट्टराईको सभापतित्वमा शुरु भएको उक्त तालिमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका–१२ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शम्भुप्रसाद भट्टराईले गरेका हुन्।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराईले १२ नम्बर वडाका फुलबारी र सोलुडाँडा टोललाई नमूना वस्तीका रुपमा विकास गरिने बताएका छन्।

‘फोहोररहित वस्तीका रुपमा विकास गर्नका निम्ति वडा कार्यालयले फुलबारी र सोलुडाँडा टोल सुधार समितिसँग सहकार्य गर्ने छ,’ अध्यक्ष भट्टराईले सम्बोधनका क्रममा बताए।

कौशी खेती तालिम कार्यक्रममा वडाको महिला सञ्जाल अन्तर्गतका ३० वटासम्म महिला समूहबाट १ सय ३० भन्दा बढी महिला र पुरुषको सहभागिता रहेको थियो।

मेलम्ची खानेपानी आयोजनाले वर्षा लागपछि पाइप बिछ्याउने कार्यका लागि गल्ली–गल्लीमा खाल्डो खनेर छोडिदिँदा वडाको सडक सञ्जाल कुरुप भएको गुनासो गर्दै वडाअध्यक्ष भट्टराईले भने, ‘त्यसबाट वडाबासीले निकै कष्ट झेल्नु परेको छ।’

यसै क्रममा अध्यक्ष भट्टराईले मेलम्ची आयोजनाको कपन शाखालाई चेतावनी दिँदै भने, ‘यथाशीघ्र १२ नम्बर वडामा खनेका खाल्डाहरूमा पाइप हालेर बाटो नबनाउने हो भने मेलम्ची आयोजनाको कपन शाखाको कार्यालयरमा ताला लगाइदिने छौं।’

बुढानिलकण्ठ वडा नम्बर–१२ का सात वटा टोलसुधार समितिका तर्फबाट प्रतिनिधित्व गर्दै राधाकृष्ण टोलसुधार समितिका अध्यक्ष रत्नप्रसाद उप्रेतीले कुकुर पालेर बाटो–बाटोमा दिसापिसाब गराउँदै हिँड्ने शहरियालाई वडाले कारबाही गर्नुपर्ने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उप्रेतीले भने, ‘कुकुर पाल्नका लागि नगरपालिकासँग अनुमति लिनुपर्ने नियम बनाउनु पर्छ, र फोहोर गर्ने–गराउनेलाई दण्ड जरिवानाको प्रावधान राख्नुपर्छ।’

वडाभित्र कुकुर र गाइपालनका निम्ति नगरपालिकाले एउटा ठोस मापदण्ड तोक्नुपर्ने उप्रेतीको भनाई थियो। अनुपमा सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वडा सदस्य पुरुषोत्तम नेपाल, महिला सञ्जालकी अध्यक्ष सुनिता श्रेष्ठ, समाजसेवी सुन्दर चालिसे, वडा सदस्य शान्ता पुडासैनी लगायतले कौशी खेतीको महत्त्वका बारेमा प्रकाश पारेका थिए।

असार १९ गतेबाट शुरु भएको कौशी खेती तालिम कार्यक्रम दुई दिनसम्म चल्ने छ। तालिम समापनको अवसरमा कौशी खेतीलाई निरन्तरता दिन चाहने १ सय जना महिलालाई न्यूनतम मूल्यमा १–१ वटा कम्पोस्ट बिन उपलब्ध गराइने आयोजकले बताएका छन्। १ सयभन्दा बढी महिलाले कौशी खेतीमा रुची देखाएको खण्डमा थप ५० वटा कम्पोस्ट बिन उपलब्ध गराउन वडा कार्यालय तयार रहेको अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए।

प्रशिक्षक बाबुराम चौलागाईंले दिइरहेको प्रशिक्षण घटराज मेमोरियल स्कूलको सभाहलमा सञ्चालित यस कौशी खेती तालिकको दोस्रो दिन वरिष्ठ कृषि विशेषज्ञले कौशी खेतीबारे विशेष जानकारी गराउने प्रशिक्षक चौलागाईंले बताएका छन्।

प्रकाशित : १९ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल