Logo

आर्थिक

ग्याँस ११ सय २० रुपैयाँमै, चिनीको मूल्य ६३, दाल, नून र तेलमा भारी छुट! यी हुन् पाइने स्थान



काठमाडौं, २१ जेठ – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले २० प्रतिशत छुटमा सामग्रीको बिक्री शुरु भएपछि कालिमाटीकी अनुशा थापामगर ‘सहुलियत मूल्यको पसल’मा पुगिन्।

सामग्री खरिद गर्नका लागि लाइनमा बसेकी थापामगरपछि पनि पचासौं सर्वसाधारण सामग्री खरिदका लागि कालिमाटी पुगे। कतिले त भोलि आउने भनेर फर्किए।

‘घाममा बसेर पनि केही छुट पाउँदा राहत नै हुन्छ भनेर बसिरहेकी छु,’ थापामगरले भनिन्, ‘सामान लिएर फर्किन्छु।’ थापामगरजस्तै सयौं सर्वसाधारणले छुटमा सामग्री खरिद गरेका छन्।

नेपाल सरकारले बजेट वक्तव्यमार्फत् लकडाउनको अवधिभरिका लागि नून, तेल, ग्याँस, दाल र चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो। यसका लागि बिहीबार अर्थमन्त्रालयमा छलफलमा भएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका डेपुटी सिइओ कुमार राजभण्डारीका अनुसार नून २ किलोग्राम, पिठो २ किलोग्राम, चिनी २ किलोग्राम, एक लिटर तेल र एक सिलिण्डर ग्यास छुटमा बिक्री गर्न थालिएको हो।

त्यसैगरी, खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले एक महिनामा एक बोरा चामल (३० किलोसम्म) र २ किलो दाल वा सिमी २० प्रतिशत छुटमा बिक्री गर्ने राजभण्डारीले बताए।

कहाँ–कहाँ पाइन्छ सहुलियतको सामग्री ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका डेपुटी सिइओ राजभण्डारीका अनुसार पहिलो दिन अधिकांश सहुलियतको पसलमा सर्वसाधारणको भीड लागेको हो।

‘खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले छुटमा सामग्री बिक्री गर्न थालेपछि असाध्यै ठूलो भीड लागेको छ,’ राजभण्डारीले भने, ‘भीड व्यवस्थापनका लागि प्रहरी प्रशासनको सहयोग लिएर नागरिकलाई सकेसम्म सहज रुपमा सेवा दिने प्रयत्नमा छौं।’

काभ्रेको बनेपा, भक्तपुर, काठमाडौंको जडिबुटी, ललितपुरका जावलाखेल र सतुंगल तथा काठमाडौंको कालिमाटीमा रहेका सहुलियतका पसलबाट सामग्री बिक्रीवितरणको व्यवस्था मिलाइएको छ।

कति थियो आजको बिक्री मूल्यसूची ?

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडका अनुसार शुक्रबारका लागि एसटिसी ग्यास सिलिण्डरसहित ३ हजार ५ सय प्रतिसिलिण्डर, फापर प्रतिकिलो २० रुपैयाँ, नून प्रतिकिलो २० रुपैयाँ, रहर दाल प्रतिकिलो १७५ रुपैयाँ, मुसुरो दाल प्रतिकिलो १ सय २५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, मास दाल प्रतिकिलो १ सय ६० रुपैयाँ, एसटिसी ग्यास प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँ, रञ्जित स्टीम चामल प्रतिकिलो ६३ रुपैयाँ तोकिएको थियो।

उपभोक्ताले तोकिएको मूल्यसूचीमा २० प्रतिशत छुटसहित सामग्री खरिद गरेका छन्।

सरकारले बजेटमार्फत् व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको हो।

बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो जानकारी दिएका हुन्।

सरकारले बजेटमार्फत् घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले उल्लेख गरेका थिए।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ। साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने प्रति किलो पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ।

सरकारले आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत् राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट बिक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो।

सामान किन्नका लागि थ्रेसहोल्ड राखिएको छ। पिठो र चीन दुई–दुई किलोग्राम, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिण्डर र चामल अधिकतम ३० किलोग्राम थ्रेसहोल्ड कामय गरिएको छ। किन्ने क्रममा नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपी चाहिने छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल