हामीले राजनीतिक परिवर्तन गर्‍यौं, तर समाज बदल्न सकेनौं, ‘ऐना’मा यही तस्वीर प्रस्तुत गर्दैछु: विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रखर वक्ता हुन्। स्पष्ट दृष्टिकोण र युवाहरूमाँझ लोकप्रिय नेता शर्मा अब टेलिभिजनको पर्दामा प्रस्तोताका रुपमा देखिने छन्। सामाजिक विषयवस्तुमा आधारित, नवीनतम् प्रस्तुतिसहित टेलिभिजन शो ‘ऐना’ बुधबारबाट प्रसारण शुरु भएको छ। ऐना कार्यक्रम निर्माण, यसका विषयवस्तुसहित समग्र विषयमा कांग्रेस प्रवक्ता एवं ‘ऐना’का प्रस्तोता शर्मासँग गरिएको कुराकानीः

विश्वप्रकाश शर्मालाई समाजले एक राजनीतिक व्यक्तिको रुपमा चिन्छ। तर, तपाई एकाएक नयाँ क्षेत्रमा आउनु भयो नि, किन?

–तपाईको प्रश्नलाई मैले २ पाटोबाट अनुभूति गर्छु। एउटा राजनीतिक मान्छे भन्ने पाटो अनि अर्को नयाँ क्षेत्रमा भन्ने पाटो। मुलतः म एक मान्छे हो। एउटा नेपाली। मेरो समाजप्रतिको कर्तव्यलाई निर्वाह गर्ने क्रममा म एउटा लोकतान्त्रिक बाटोमा एक राजनीतिक कार्यकर्ताका रुपमा क्रियाशील हुन्छु। त्यो मेरो जीवनको एउटा पाटो हो। तर, मूलरुपमा त म यो समाजको सदस्य हुँ। यो समाजको सदस्य रहँदै गर्दा राजनीति मेरो एउटा पाटो होला। तर, जीवनका अरु पनि पाटोहरू हुन्छन्। साहित्य होला, संगीत होला, दुई पैसा आयआर्जन गर्ने व्यवसाय होला। त्यसैले प्रस्तुतिको विषयमा जाँदै गर्दा त्यो राजनीतिक मान्छेको अर्कै कर्तव्य होला, त्यो कर्तव्यलाई नि प्रश्न उठाउने यो कार्यक्रम प्रस्तोताको विषय होला। अर्को चाँहि तपाईले नयाँ क्षेत्रमा भन्दै गर्दा, यसो सोच्दा त मलाई पनि नयाँ क्षेत्र लाग्न सक्छ। धेरैले त मलाई टेलिभिजन प्रस्तोताको रुपमा हेर्दा गर्दा एकाएक राजनीतिको मान्छे पत्रकारितामा आयो, प्रस्तोताको रुपमा आयो भन्ने सोच्नुहोला।

‘ऐना’बारे प्रस्ताेता विश्वप्रकाश शर्मासँग गरिएकाे अन्तरवार्ता (भिडियाे)

हो, टेलिभिजनको प्रस्तोताको रुपमा मेरा लागि यो नौलो अनुभव हो। तर, पत्रकारिता क्षेत्र मेरा लागि नौलो होइन। पञ्चायतकालमा पनि म साप्ताहिक विचार अथवा साप्ताहिक आलोख खबर जुन निस्किन्थ्यो, म त्यसमा पनि लेख्थेँ। ४६ सालको परिवर्तनपछि ५१ सालतिर देवप्रकाश त्रिपाठीज्यूले संयोजन गरेको रेडियो नेपालको घटना र विचार कार्यक्रममा म उहाँका साथमा प्रस्तोताको रुपमा थिएँ। त्यसपछि ५१ सालमै दर्ता गरिएको घटना र विचार साप्ताहिकमा देवप्रकाश त्रिपाठी ज्यूपछि छोटो अवधि ४–५ महिनाका लागि मैले सम्पादक रुपमा पनि काम गरेको थिएँ। त्यसकारण पत्रकारिताको क्षेत्रमा म आफ्नै घर वा आफ्नै ठाउँमा आएको हुँ भन्न चाहन्छु। मेरा लागि टेलिभिजन प्रस्तोताका लागि मेरो नयाँ अभ्यास हो। यसमा कमजोरीहरू हुन सक्छन्। म सुझाव, सल्लाह ग्रहण गर्दै र परिमार्ज गर्दै अगाडि बढ्छु। मलाई यसमा एक किसिमको आत्मीयता महसुस छ, सँगै मलाई गम्भीरता पनि महसुस छ। जुन विषयवस्तुमा म जाँदै छु, त्यो विषयवस्तुले मलाई उत्साहित होइन बढी भावुक, कारुणिक र जिम्मेवारी बोध भएको छ।

‘ऐना’मा कस्ता सामाजिक मुद्दाहरू उठान गर्नुभएको छ? समाजको कस्तो तस्वीर हामीले हेर्न पाउँछौं?

–यो कार्यक्रम निर्माण गर्दै–गर्दा तपाई कति उत्साहित हुनुहुन्छ भनेर प्रश्न गर्नुभयो भने उत्साहभन्दा पनि कारुणिकता अनुभूति हुन्छ। यस्ता–यस्ता चित्रहरू हामी दुरदराजका गाउँ अनि काठमाडौंकै कुनाकाप्चामा देख्छौं, जुन कुरा छोपिएका होलान् या लेखिए पनि कति लेखिएका कथाहरूले निष्कर्ष पाउन सकेका छैनन् होला। हाम्रै कथाहरू हामीले यसमा पाउने छौं। हामीले युवालाई प्रोत्साहित गर्दा भन्छौं– तिमी त शान्तिका अग्रदुत गौतम बुद्धको देशका नागरिक हौ, जसले संसारभरि शान्ति फैलाए। तर, संसारभरि अहिंसाको सन्देश फैलाउने त्यही बुद्धभूमिमा महिलाहरूले हिंसाबाट ग्रसित छन्। हामी संसार जित्ने वीर गोर्खालीको रुपमा आफूलाई चिनाउँछौं। त्यही वीर गोर्खाली आफ्नै घरभित्र आँगनभित्र प्रताडित भइरहेको हुन्छ। हामी संसारकै अग्लो शिखरको सगरमाथाको देश भन्छौँ। तर, त्यही अग्लो शिखरको फेदीमा बालश्रम, बोक्सी अथवा छाउपडी वा दाइजो प्रथाका कारण पीडाहरूको अर्को अग्लाई भएको छ। हामीले कार्यक्रम निर्माण गर्दा गौरवको गाथा गाउँछौं। तर, गम्भीर व्यथाको खोजी गरेर त्यसको निकासको सूत्रहरू सन्दर्भमा आउनुहोस् भनेर बहस गरौँ भनेर हामी ऐना प्रस्तुत गर्छौं।

एकातिर नेपाली कांग्रेस पार्टीको प्रवक्ताको भूमिकामा हुनुहुन्छ। अनि अर्कोतिर टेलिभिजन प्रस्तोताको भूमिकामा हुनुहुन्छ। यी दुई भूमिका र जिम्मेवारीबीच कुनै सम्बन्ध छ कि छैन?

–विल्कुलै छैन। अरु पनि राजनीतिक दलका प्रवक्ताहरू हुनुहुन्छ। ऐना कार्यक्रमका लागि कुनै पनि दलका प्रवक्ताहरू बराबर हुनुहुन्छ। हामी सबैलाई प्रश्न गर्छौं। सबैलाई सामाजिक रुपान्तरणको विषयमा आउनुस् भनेर अपिल गर्छौं। विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्ता हुनु अलग विषय हो। ऐनाको कार्यक्रम विश्वप्रकाशको राजनीतिको बाटो, विषय र मुद्दाभन्दा फरक हो। सामाजिक रुपान्तरणका मुद्दा सबै राजनीतिक दल र व्यक्तिहरूको साझा मुद्दा हो। सामाजिक अभियानका विषयहरू हुन्। यो सिंगो देशको मुद्दा हो। देश बनाउने भन्दै गर्दा बाटो बनाउने, बिजुली निकाल्ने काम भइरहे देश बनाउनुपर्छ भन्दै गर्दा गणतन्त्र, संघीयतामा जानु भनेर हामी गइरह्यौं। तर, एउटा ठूलो जिम्मेवारीको भारी हामीले पर डाँडापारी छोडे छौं, त्यो सामाजिक रुपान्तरणको भारी। प्रस्तोताको रुपमा म आफैलाई पनि प्रश्न गर्न आएको छु। प्रश्न ऐनाको प्रस्तोताले कांग्रेसको प्रवक्तालाई पनि गर्छ। अरु पार्टीको प्रवक्तालाई पनि गर्छ। अनि राज्य, कानुन, प्रहरी र आफैलाई पनि प्रश्न गर्छ। अनि ऐना हेर्छ, त्यो ऐना हेरेर सबैलाई आउनुहोस्, ऐना हेरौं भन्छ। अनि अनुहारमा रहेका धब्बाहरू देखाउँछ। धब्बा मेटाउन ऐना पुछेर हुँदैन, धब्बा मेटाउन नवीन संकल्प गरौं भनेर अनुरोध गर्छ।

ऐना कार्यक्रमले सामाजिक रुपान्तरण र सामाजिक गतिशीलताका लागि कसरी नवीन चेतना प्रवाह गर्नसक्छ भन्ने विश्वास तपाईले लिनुभएको छ?

–ऐनाले एकदमै नवीन चिन्तन गर्ला वा गर्नेछ भनेर मैले नै यकिन गर्न उचित हुँदैन। ऐना टिमले समग्रमा गरेको परिकल्पना के हो भने केन्द्रीय बहसमा कम प्राथमिकता पाएका विषयलाई केन्द्रीय बहसमा ल्याउनु हो। यसले बहसमा ल्याउँछ, ल्याउनुपर्छ। निष्कर्षमा यसैले पुर्‍याउँछ भन्नु गलत हुन्छ, महत्वकाँक्षी हुन्छ। तर, यसले भन्ने छ, देश बन्नु भनेको बाटो बन्नु र बिजुली निकाल्नु मात्रै होइन। त्यो काम पनि गर्नुपर्छ। तर, त्यो मात्र गरिनु होइन। देश बन्नु भनेको राजनीतिक परिवर्तन मात्रै होइन। हामीले राजनीतिक परिवर्तन गर्‍यौं, राजनीतिक व्यवस्था बदल्यौं। तर, हामीले सामाजिक अवस्था किन बदल्न सकेनौं? यो विषयलाई किन बिर्सिएका छौं? अग्ला–अग्ला गगनचुम्बी भवनहरूमात्र बनाएर देश समृद्ध भयो भनेर प्रस्तुत गर्ने? अनि त्यसको सतहमा चाँहि धेरैको क्रन्दन, पीडा र आँशु बिर्सिरहने? ‘ऐना’ले त्यही गगनचुम्बी भवनको गहिराइमा लुकेका, दबिएका विषयलाई सतहमा ल्याउँछ। केन्द्रीय बहसमा ल्याउँछ। अनि यसले भन्छ कि अब यी विषयलाई अध्ययन, विश्लेषण र निष्कर्षमा पुर्‍याएर अनि मात्र देश सुन्दर हुन्छ भन्ने कुराको बारेमा देखाउँछ।

राजनीतिक कार्यक्रममा जाँदा देख्नुभएको दृश्य र ऐना कार्यक्रम निर्माणको क्रममा देश दौडाहामा जाँदा देख्नुभएको समाजको दृश्यका के–कति अन्तर पाउनुभयो?

–राजनीतिक कार्यक्रममा जाँदा एकखालको सैद्धान्तिक, वैचारिक कुराको केन्द्रमा हामी हुन्छौं। राजनीतिक परिवारको बीचमा हुन्छौं। त्यो विश्वप्रकाशले परको झुपडी नदेखेको हुनसक्छ। तर, अहिले त्यो राजनीतिक सर्कलभन्दा त्यो झुपडीमा पुगेको हुन्छ। अनि त्यहाँ जाँदैगर्दा राजनीतिक आँखाले हेरियो होला, अहिले मानवीय संवेदनाको आँखाले हेर्न थालियो। त्यसैले हामीले कार्यक्रमको क्रममा पनि भन्छौं कि, कोही मान्छे मुस्कुराइरहेको तपाई देख्नुहुन्छ नि त्यो सोझो आँखाले हेर्दा देखिएको हुन्छ। तर, त्यो मुस्कानभित्रको पीडा देख्नको लागि अन्तरदृष्टि नै चाहिन्छ। हामी ऐना कार्यक्रममार्फत् अन्तरदृष्टिबाट समाजका भिन्नभिन्न पीडाहरू खोज्छौं। तर, कसैलाई हामी पीडा मात्रै खोज्छौं भन्ने नलागोस्। त्यस्तो होइन, त्यो पीडापछि जुटेका प्रेमहरू, नवीन निर्माण भएकाहरू, बदलिएका कुराहरु, सकरात्मक कुराहरू, हार्दिकतामा बदलिएका कुराहरू, आश गर्न सकिने उज्यालाका कुराहरू पनि हामी देखाउँछौं। राजनीति गर्ने मान्छे भोलि सांसद् हुँदै मन्त्री, प्रधानमन्त्री बन्ला, एक उचाइँमा पुग्ला। तर, त्यही उचाइँको तल समाजका मान्छे क्रन्दनमा, पीडामा र आँशुमा डुबेमा व्यक्तिगत रुपमा भएको राज्याभिषेकको शान र गरिमा कति समय रहला र! अनि राजनीतिमा नरहेको मान्छे जीवनका प्रगतिको उचाइँमा पुग्ला। तर, समाजमा बोक्सीप्रथाका कथा, बलात्कारका घटना, छाउपडीका पीडा, विभेदका कुरा रहेका बेला त्यही समाजको उ कसरी सन्तुष्ट रहला? समाजका यी विषयमा सरोकार छैन भनेर कसरी रहन सक्ला? त्यसैले ऐनामार्फत् हामीले भन्ने कुरा यही नै हो।

ऐना टेलिभिजन कार्यक्रम यही रुपमा निर्माण गर्नुपर्ने आवश्यकता किन पर्‍यो?

–देशले कानुन निर्माण गर्‍यो। राजनीतिक दलले कानून बनाए। कानूनका ठेलीमा मात्र जाने हो भने जातीय विभेद धेरै अगाडि अन्त्य भएको थियो। तर, लेखेर मात्रै भएन, नियति नै बदल्नुपर्ने आवश्यक भएको छ। देश हिंसामा गयो, अस्थिरतामा गयो, संविधानविहीनतामा गयो। लामो समयपछि शान्ति आयो। संविधान आयो। अब यी विषयहरूले केन्द्रीय रुपमा स्थान पाउनुपर्ने हो नि! चन्द्रशमशेरले सती प्रथाको अन्त्य गरे। निरंकुश सत्ताले विवेकपूर्ण कदम चाल्यो। अहिले विवेकशील जनताले निर्माण गरेको लोकतान्त्रिक व्यवस्थाले यस्ता विभेदहरू निमिटान्न पार्न किन सकिरहेका छैनौं? यिनै विषयलाई उठान गर्न ऐनालाई यही रुपमा प्रस्तुत गर्नुपरेको हो।

२६ एपिसोडमा निर्माण भएको कार्यक्रम प्रसारण सम्पन्न भएपछि सकियो कि, अरु केही योजनामा पनि हुनुहुन्छ?

–ऐना कार्यक्रम आउँदै गर्दा कार्यक्रम आयो सकिन्छ भन्ने हैन। कार्यक्रम २६ एपिसोडसम्म सञ्चालन हुन्छ। टिम यही रहिरहन्छ। २६ एपसिोड सकिएपछि केही समय ग्याप हुन्छ। त्यसपछि आरके धितालजीले अर्को सिजनमा चलाउनु हुनेछ। ऐना कार्यक्रमको २६ एपिसोड सकिने बेलासम्म ऐना फाउण्डेशनले एक आकार लिन्छ। अनि हामी घर–घर जान्छौं। कार्यक्रमसँगै हामी एक नवीन अभियान शुरु गर्छौं। फरक–फरक आस्थामा रहेर पनि हामी एउटै छातामुनि बसेर बहस गरेर समस्या समाधानका लागि कानूनी प्रक्रिया, प्रशासनिक प्रक्रिया र मानवीय चेतनाका विषयमा केन्द्रित हुन्छौं।

राजनीतिक आन्दोलनको सशक्त योद्धा, युवा राजनीतिज्ञको रुपमा समाजका तमाम प्रश्नहरू राजनीतिबाटै सुधार गर्न र समयसापेक्ष रुपान्तरण गर्ने ठाउँ हुँदा पनि तपाईले टेलिभिजन कार्यक्रममार्फत् यावत प्रश्नहरू सोध्ने सोचमा कसरी र किन पुग्नुभयो?

–समाजलाई परिवर्तन गर्ने काम मूलतः राजनीतिले नै गर्छ। तर, अहिले यहाँ प्रश्न त राजनीतिलाई नै परिवर्तन गर्नका लागि गर्नुपर्नेछ। राजनीतिक सोच, शैली, संस्कार राजनीति नै रुपान्तरण गर्नुपर्ने अवस्था छ। म आफैले आफूलाई रुपान्तरित गर्ने भन्ने प्रश्न हो नि। प्रवक्तालाई यी प्रस्तोताले फरक रुपमा प्रश्न गर्छन्। एउटा दायरमा प्रवक्ताहरू होलान्, एउटा खुल्ला ठाउँमा प्रस्तोता होलान्। त्यसैले फरक कोणबाट सोच्न आवश्यक छ। अबको दशकपछि पनि बलात्कार भइरहन्छ भने त्यसबेला जेलमा हुनुपर्ने युवक अहिले कहाँ होला। हामीले आजलाई मात्र सोचेर भएन। भोलिका लागि पनि सोच्नुपर्‍यो नि। भोलिको समाज कस्तो छोड्न चाहन्छौं। ऐनाले राजनीतिलाई पनि प्रश्न गर्ने हो, ऐना देखाउने हो। राजनीतिककर्मीहरूलाई पनि फरक–फरक ठाउँ र मुद्दामा हुनुको बाबजुद साझा मुद्दामा आउन अपिल गर्ने हो। हामी लोकतन्त्र स्थापना गर्न, समाजलाई लोकतान्त्रिकरण गर्न र सामाजिक रुपान्तरण गर्न सामाजिक परिवर्तन गर्न हामी अर्को एउटा मञ्चमा किन उभिन सक्दैनौं? उभिनैपर्छ। राजनीतिले एउटा बाटो लिएको छ देशमा। सेवा सुविधाहरू बढ्दै छन्। समृद्धिको एउटा पाटो सबल भइसकेको छ। लामो दुरी पार गरेर हामी कहीँ पुग्दैछौं। तर, त्यसक्रममा बोक्नै पर्ने भारी छुटायौं कि, हामीले अब यो सोच्ने बेला आएको छ। सामाजिक रुपान्तरणको भारी बिर्सियौं भने हामीलाई गन्तव्यमा पुग्दा कस्तो अनुभूति हुन्छ।

ऐना कार्यक्रम प्रसारण भएपछि सामाजिक क्षेत्रका विविध आयाममाथि पक्कै बहस छेडिने छ। यससँगै नेपाली समाजमा रहेका विभिन्न किसिमका विभेद अन्त्य गर्ने सवालमा यो कार्यक्रमले कस्तो दुरगामी असर गर्छ भन्ने तपाईलाई लाग्छ?

–अहिले नै यस्तै हुन्छ भन्नु हतारो हुन्छ। ऐनाले एउटा प्रश्न उठाउँछ। त्यसलाई समाजले कसरी लिन्छ। राजनीति, कानून, सामाजिक अभियन्ता र मिडियाले कुन रुपमा लिनुहुन्छ। यो के हो भने शान्त तलाउमा ढुङ्गा हानेपछि जुन तरङ्ग, छाल आउँछ नि, त्यसले कुन रुपमा आकार लिन्छ, कुन आकार लिन जरुरी छ। हामी यसलाई आगामि दिनमा बहसमा ल्याउँछौं। म के आग्रह गर्दछु भने यसलाई कसैले पनि राजनीतिक कोणबाट नहेरिदिनुस्। यो राजनीतिको विषय होइन। एउटा बालिकाको आँशु पुछ्न जानु राजनीति हो र? दाइजोबाट जलिरहेकी आमाको न्यायका लागि बोल्नु राजनीति हो र? राजनीति आफ्नो ठाउँमा छ। जुन दृश्य हामी ऐनामा हेर्छौं, त्यो देशको प्रश्न हो। तपाई–हामी सबैको प्रश्न हो। सबै राजनीतिक दलका झण्डाहरू छन्। ती झण्डाभन्दा माथि सूर्य चन्द्र अंकित देशको झण्डा छ। त्यो राष्ट्रिय झण्डा शानले फहरिएमा त्यसमुनि अन्य झण्डाहरू शानले फहरिन सक्छन्। त्यसैले यो प्रश्न देशको साझा प्रश्न हो।

समाजमा व्याप्त विभेदका पर्खालहरू अझै कायमै रहनुमा तपाई आफू आफैलाई केही दोषी वा त्यसको भागिदार स्वीकार्न सक्नुहुन्छ?

–म अरूलाई मात्रै होइन, आफैले आफैलाई पनि प्रश्न गर्छु। म कहिलेकाही आत्मआलोचित हुने गर्छु। कहीँ कतै म मेरो परिवारबाट कुनै कालखण्डमा कसैलाई विभेद भएको छ कि? मैले सबैसँग अनुरोध गर्छु, हामी सबैलाई आफैंलाई प्रश्न गरौं, आत्मआलोचना गरौं। ऐना हेरौं, ऐनामा देखेको धब्बा मेटाऔं। यो आग्रहलाई अध्यात्मको रुपबाट बुझौं। विभिन्न जात, धर्म भाषाको थलो नेपाललाई गौरवको थलो बनाऔं।

तपाईका शुभचिन्तक, दर्शक र सम्पूर्ण देशबासीमा के सन्देश दिन चाहनुहुन्छ?

–ऐना कार्यक्रम हेरेर सुझाव र प्रतिक्रिया दिन सबैलाई आग्रह गर्दछु। हरेक बुधबार राति नौ बजे कान्तिपुर टेलिभिजन र ऐना यूट्युब च्यानलबाट यो कार्यक्रम हेर्न सक्नुहुनेछ। त्यही कार्यक्रममार्फत् हामीले भन्ने छौं– ठूलाठूला सपनाको भारी बोकेर हिँडेका बेला हामीले जिम्मेवारीको भारी परै डाँडापारी बिसिएछौं। हामीले कमजोरी गरेका छौं। अब त्यो बिर्सिएको भारीलाई पनि बोक्न आवश्यक छ। अनि मात्रै हामीले भन्न सक्ने छौं– हामी सुन्दर र समृद्ध देशमा छौं।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: