सहकारीमा अभाव महसुस गरिएको पुस्ता


सहकारी संस्थाहरूमा ३५ वर्षभन्दा कम उमेरका मानिसहरूको सहभागिता कति रहेको छ भन्ने यकिन तथ्याङ्क भेटिदैन । तर, केही अध्ययनहरूले सहकारी संस्थाका अधिकांश सदस्यहरू ५० वर्षभन्दा माथिको उमेर समूहको रहने गरेको देखाएका छन् । बचत तथा ऋण सहकारी अभियानमा सबैभन्दा सफल अभ्यास गरिरहेको दक्षिण कोरियामा पनि सदस्यहरूको उमेर समूहलाई विश्लेषण गर्दा यस्तै प्रकारको नतिजा देखा परेको थियो । नेपाल लगायत अन्य मुलुकहरुको पनि यही तथ्याङ्कसँग मिल्दोजुल्दो अवस्था देखिन्छ । विशेषगरी सन् १९९० पछाडि जन्मिएका पुस्तालाई हाम्रा सहकारी संस्थाहरुले आकर्षित गर्न सकेका छैनन् । सन् १९९० पछाडि जन्मिएको पुस्तालाई सहश्राब्दी पुस्ता पनि भनिन्छ । यही सहश्राब्दी पुस्ता सहकारीमा अभाव महसुस भएको पुस्ताको रुपमा लिन सकिन्छ ।

एक अध्ययन अनुसार सहकारी संस्थाहरुमा किन सदस्य नबनेको भनी युवाहरुलाई सोधिएको प्रश्नमा अधिकांश युवाहरुले सहकारीका बारेमा आफूहरुलाई राम्रोसँग जानकारी नभएको जवाफ दिएको पाइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने युवाहरु हाम्रा सहकारी संस्थाहरुको प्राथमिकतामा अझै पर्न सकेका छैनन् । युवाहरुको रुची र आवश्यकता अनुसारको सेवाहरु सहकारी संस्थाहरुले दिन सकिरहेका छैनन् । युवा पुस्ता हरेक क्षेत्रको दिगो विकासका संवाहक हुन् । यो पुस्तालाई सहकारी क्षेत्रले समेट्न सकेन भने सहकारी क्षेत्रको भविष्य अन्धकार हुन सक्दछ ।

राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालको कुल जनसंख्यामध्ये युवाहरुको संख्या ४० दशमलव ३ प्रतिशत रहेको छ । हाम्रा सहकारी संस्थाहरुमा यो अनुपात कति छ भन्ने विश्लेषण गर्न अति नै जरुरी छ । धेरथोर सहभागी भइरहेका युवाहरु पनि कहिले वैदेशिक रोजगारी, कहिले वैदेशिक शिक्षा त कहिले सेवाहरुद्वारा असन्तुष्ट भएको कारण देखाउँदै सदस्यता छाडिरहेका हुन्छन् । अधिकांश युवाहरुले सहकारी संस्थाहरुका सेवाहरु स्तरीय हुन्छन्, आर्थिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि भरपर्दाे वित्तीय र व्यवसायीक सेवाहरु प्राप्त हुन्छन् भन्ने कुरा सोचेकै हुँदैनन् । त्यसैगरी सहकारी संघ–संस्थाहरुलाई नेतृत्व प्रदान गरिरहेका व्यक्तिहरुले पनि युवाहरुलाई नेतृत्व अभ्यासमा आवश्यक मात्रामा अग्रसर गराउन सकेका छैनन् । केही संघ–संस्थाहरु यथास्थितिवादलाई हस्तक्षेप गर्न चाहन्छन् । तर, केही यस्ता चुनौतीहरुसँग डराउने गर्दछन् । किनभने नयाँ पुस्तालाई एकत्रित गर्न र अग्रसर गराउन परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछ । युवा पुस्तालाई अग्रसर गराउनका लागि सहकारी क्षेत्रका नेतृत्वसँग अरुलाई अवसर लिनको लागि प्रोत्साहित गर्ने खुल्ला हृदय, साहसिक कदम उठाउन र जोखिम मोल्ने खुल्ला ईच्छाशक्ति र निरन्तर सिकाई तथा बृद्धि गरिरहने खुल्ला सोच हुन जरुरी हुन्छ ।

सहकारी संस्थाहरु युवा मैत्री कसरी बनाउन सकिन्छ ?

सहकारिता भनेको सिद्धान्तमा आधारित उद्यम् हो । जसले नाफालाई भन्दा पनि सदस्यहरुलाई आफ्नो व्यवसायको केन्द्रमा राख्नु पर्दछ । सहकारीले स्वाबलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यवद्धता जस्ता आधार मूल्यहरुलाई आत्मसाथ गर्दछ । सहकारी उद्यमको लोकतान्त्रिक चरित्रले सहभागिता, बृहत्तर अपनत्वलाई प्रोत्साहित गर्नुको साथै युवा सशक्तिकरणलाई प्रवद्र्धन गर्दछ । सहकारीको सिद्धान्त र मूल्यहरुले वास्तवमा युवाहरुलाई उनीहरुको आफ्नै उद्यम सिर्जना गर्न वा सम्भावित मानव संसाधनको रुपमा मर्यादित कार्य गर्न उत्प्रेरित गर्दछ ।

युवाहरुमा रोजगारी सिर्जना गर्नका लागि सहकारी क्षेत्रले काम गर्न सक्दछ । तलबी रोजगारीका लागि सक्षम मानव संसाधन आकर्षण गर्ने क्षेत्रको रुपमा सहकारी संस्थाहरु विकसित हुँदै गइरहेका छन् । श्रम बजारमा प्रवेश गर्ने युवाहरुका लागि आफ्नो आर्थिक आवश्यकताको साथै मानिसहरुसँग काम गर्ने व्यवसायमा संलग्न हुन सहकारीले आकर्षित गर्न सक्नुपर्दछ । त्यसैगरी स्वरोजगार बन्न चाहने युवाहरुका लागि उपयुक्त समाधान दिने क्षेत्रको रुपमा सहकारी संस्थाहरु सञ्चालित हुनु पर्दछ । अवसर र अनुभव भइनसकेको यस अवधिमा युवाहरुलाई शुरुवाती रोजगारी प्रदान गरी श्रम बजारमा प्रवेश गराउन सहकारीबाट प्राप्त हुने स्वरोजगारको विकल्प महत्त्वपूर्ण हुन सक्दछ ।

त्यसैगरी, सहकारी संस्थाहरुलाई पूर्ण समाधानको केन्द्रको रुपमा विकसित गर्न सक्नु अर्काे आवश्यकता भित्र पर्दछ । त्यो समाधानलाई हामी सहकारी समाधान भन्न सक्दछौं । जस्तै सदस्यहरुको समृद्धि निर्माण गर्ने वस्तु तथा सेवा, सदस्य सुरक्षा कार्यक्रम तथा अन्य सेवाहरु, उद्यमशिलता विकासका अवसरहरु, वित्तीय साक्षरता र प्रविधिमा आधारित सेवाहरुलाई सहकारी समाधानको प्याकेजको रुपमा लिन सकिन्छ । यो प्याकेज भित्र युवा अवस्थाका आवश्यकताहरु समेत समाधान गर्ने सेवाहरु पर्नु पर्दछ ।

युवाहरुलाई सहकारीमा कसरी आकर्षित गर्न सकिन्छ ?

बचत तथा ऋण सहकारी संस्थाहरुले आज भोगिरिहेको प्रमुख चुनौती भनेको इन्टरनेटमा आधारित, फिनटेक कम्पनीहरुले मोबाइलहरुको माध्यमबाट प्रवाह गरिरहेको तेश्रो पक्ष भुक्तानी गर्न सकिने एप्लीकेसनको शीघ्र, सुलभ र उपभोक्ता मैत्री सेवाहरु प्रयोग गर्ने सदस्यहरुलाई मापन गर्न असक्षम हुनु वा गुमाउँदै जानु हो यद्यपि त्यस्ता सेवाहरु लागतको हिसाबले महँगो छन् । उदाउँदै गरेको गरेको थुप्रै बजार अर्थव्यवस्थाको लागि यो एउटा ठूलो नोक्सानी हो । सन् १९९० पछि जन्मिएका पुस्ता इन्टरनेट, सम्पर्क सञ्जाल र शीघ्र प्रतिक्रियात्मक सेवाहरु सँगसँगै हुर्किएका हुन्छन् । विश्व ऋण परिषद्को एक प्रतिवेदनका अनुसार पनि युवाहरु खाफ्नो खाता खोल्न, ऋण माग गर्न, ब्यालेन्स चेक गर्न, फण्ड ट्रान्सफर गर्न, विलहरु भुक्तानी गर्न, सूचना प्राप्त गर्न मोबाइलको प्रयोग गर्न रुचाउँछन् । उनीहरु कुनै पनि सेवा थोरै समय भित्र सजिलोसँग प्राप्त होस भन्ने चाहन्छन् । तसर्थ सहकारी संस्थाहरुले अब अनलाइन तथा मोबाइल कोर सेवाहरु प्रदान गर्न अत्यन्त आवश्यक देखिन्छ ।

वित्तीय संस्थाहरुमा नजोडिँदा पनि विश्वका कैयन् युवाहरु प्रायः गुगल वालेट र पेपल जस्ता पेमेन्ट सिस्टमहरु प्रयोग गर्दछन् । आफ्नो सहकारीको खातामा जम्मा गरेको रकम देशभरिको जुनसुकै सहकारीमा गएर निकाल्न मिल्ने पेमेन्ट प्लाटफर्महरु कैयन एशियाली मुलकहरुका सहकारीहरुमा प्रयोगमा आइसकेका छन् । हामीसँग हाम्रै क्षेत्रबाट प्रवद्र्धित पेमेन्ट सिस्टमहरुको विकास भइनसके पनि नीजि क्षेत्रबाट प्रयोगमा आइरहेका प्लाट्फर्महरु प्रयोग गर्न सहजीकरण गरेर पनि सहकारी संस्थाहरुले युवाहरुलाई सहकारीको सेवामा आकर्षित गर्न सक्दछन् ।

सहकारीका सामान्य प्रोडक्टहरु भन्दा फरक युवा केन्द्रित प्रोडक्ट डिजाइन गरेर युवाहरुलाई सहकारी संस्थाहरुमा सहभागी गराउन सकिन्छ । त्यसका लागि सहकारी संस्थाहरुले युवा लक्षित सेवाको अवधारणा विकास गर्ने, बजार र व्यवसाय विश्लेषण गर्दै युवाहरुका बीचमा बजारीकरण गर्ने कार्य गर्न आवश्यक हुन्छ । युवाको राम्रै सहभागिता भएका सहकारी संस्थाहरुले पनि युवाहरुलाई चाहिने पूँजीको मात्र व्यवस्था गरिरहेको देखिन्छ । यो परम्परागत तरिका हो । अब पूँजी परिचालन गर्ने तरिका र योजना पनि पूँजी सँगसँगै युवाहरुलाई दिन सक्नुपर्दछ । यसको मतलब एउटा हातमा पूँजी र अर्काे हातमा विधि र प्रविधि दिन सक्यौं भने हामीले युवाहरुमा स्वरोजगार बनाउन सक्दछौं ।

युवाहरु राम्रो छवि भएको प्रतिष्ठित संस्थामा आबद्ध हुन रुचाउँछन् भन्ने तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ । तसर्थ सहकारी क्षेत्रले युवा वर्गलाई आकर्षित गर्न बजारमा आफ्नो छवि राम्रो बनाउन सक्नुपर्दछ । जतिबेला अमेरिकामा वित्तीय सेवा क्षेत्र संकटमा परेको थियो, त्यतिबेला त्यहाँका ७१५ युवाहरु भन्थे, ‘बैंकको कुरा सुन्न जानुभन्दा त हामीलाई डेन्टिस्ट कहाँ जान बढी मनपर्छ ।’ तसर्थ जबसम्म सेवाको गुणस्तर ‘वाह’ भन्ने खालको हुँदैन तबसम्म युवाहरुलाई आकर्षित गर्नै सकिँदैन । तसर्थ सहकारी क्षेत्रमा अब हामीले ‘वाह !’ संस्कृतिको विकास गर्न आवश्यक देखिन्छ ।

युवाको कुरा युवाले मात्रै राम्रोसँग बुझ्न सक्दछ अनी युवाको कुरा युवाले मात्रै राम्रोसँग पत्याउँदछ । तसर्थ सहकारीको भिन्नता र यसको सुन्दर पक्षका बारेमा युवा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने र युवा सदस्यहरुसँग सम्पर्क, सञ्चार र व्यवहार गर्न युवा कर्मचारीहरुलाई युवादूतको रुपमा नियुक्ति गर्नु उपयुक्त हुने देखिन्छ । त्यसैगरी, युवालाई सेवा दिने विषयमा सहकारी क्षेत्र यदि गम्भीर हुने हो भने युवाहरुलाई नेतृत्वमा सहभागी हुने अवसर पनि दिनु पर्दछ ।

युवाहरुलाई आकर्षित गर्नका लागि सहकारीहरु युवाहरु भएकै ठाउँमा पुग्नु पर्दछ । युवाहरु कहाँ हुन्छन् त ? निश्चित रुपमा युवाहरुसँग अन्तरक्रिया हुने ठाउँ भनेको अहिलेको समयमा सामाजिक सञ्जालहरु नै हो । त्यसकारण सहकारी संस्थाहरुको जानकारी तथा सूचनाहरु पोष्ट मात्रै नगरी त्यसमा युवाहरुलाई अन्तरक्रिया गराउने गरियो भने सहकारीका विषयहरुमा युवाहरुलाई परिचित गराउँदै लान सजिलो हुन्छ ।
(श्रेष्ठ चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: