साहित्य समाजको एक मार्गदर्शक हो। साहित्य भनेको विचार र भावनाहरूको लिखित शब्दमार्फत् जनमानसमा प्रवाह गर्ने प्रक्रिया पनि हो। यो एक व्यक्ति वा लेखकबाट अन्य कुनै पनि पाठकबीच एक धेरै भावना एकसाथ पठाउने कार्य समेत हो। म पनि आफ्नो भावनालाई ‘भुपेन डायरी’मार्फत् प्रस्तुत गर्ने गर्दछु। यस्तैगरी हरेक भावनालाई शब्दको संयोजन गरी प्रवाह गरिन्छ भने त्यसलाई साहित्य भनिछ। साहित्यको निम्ति कुनै एक भाषाको आवश्यकता पर्दैन। नेपालभित्र बोलिने हरेक भाषा नेपालका मौलिक सम्पदा हुन्। साहित्य जुनसुकै भाषामा प्रस्तुत गर्न सकिन्छ। साहित्य मात्र बुझ्न आवश्यक छ। यसलाई मानवीय व्यवहार अनुसार हरेक व्यक्तिले आफ्नो तवरले बुझ्न सक्छ्न्।
साहित्यलाई मानिसले आफ्नो कथाव्यथा र जीवनसँग मेल खान गए सबैभन्दा प्रिय मान्छ्न्। तर, यसका बाबजुद हरेक मानिससँग मेल खाने गरी साहित्य सिर्जना गर्नु आफ्नो बौद्धिक कला र कल्पना शक्तिमा निर्भर रहन्छ। साहित्यका विभिन्न उद्देश्य हुन्छन्। यसले लेखकको विचार र आवाजलाई विस्तार गर्छ। साहित्यले बुलन्द आवाजमा विभिन्न कुरीति र कुनीतिको मिठो तरिकाबाट विरोध गर्दै समाजको एउटा असल पात्रको भूमिका निर्वाह समेत गर्दछ। साहित्य वैज्ञानिक, कलात्मक, रचनात्मक हरेक प्रवृत्तिका हुन सक्छन्। आजको भर्चुअल दुनियाँमा यसको झनै व्यापक परिमार्जन देख्न थालिएको छ।
मानिसहरू आफ्नो फेसबुक स्टाटस फोटो क्याप्सन र ट्वीटरमा मिठा लाइनहरू राखेर पनि साहित्यको प्रस्तुति दिँदै गरेको प्रशस्त पाइन्छ। मेरो सबैभन्दा ठूलो सुझाव सधैं आफ्नै शब्दमा, साहित्य परिभाषित गर्नुहोस्। साहित्य भनेको विचार र भावनाहरूको सञ्चार लिखित शब्दमार्फत् गर्ने कार्य हो। यो एक व्यक्ति, लेखक र पाठकबीच धेरै व्यक्तिगत सन्देशको लेनदेन हो। साहित्य कति बेला नराम्रो हुन्छ भन्ने कुरामा एक साहित्यका रचना कोर्ने व्यक्तिले सदैव ध्यान दिनुपर्छ। गलत धारणा, गलत सम्झनाको दुरुपयोग पूराना आफ्ना घटनालाई बेइमानीपूर्वक प्रस्तुत गर्नु, भाषाको मर्मलाई प्रहार गर्नु, भाषालाई विकृत गर्नु र अन्य व्यक्तिको गोपनीयतामा प्रहार गर्नु साहित्य नीतिभन्दा बाहिर हुन्छ। तसर्थ यस्तो कार्यमा सधैं ध्यान दिनुपर्छ। तबमात्र साहित्य राम्रो र सबैलाई सहज तबरले महसुस गर्न सक्नेहुन्छ।
आजभोलि मानिस चर्चाको शिखर उक्लिने उदेश्यबाट प्रेरित भइ आफ्नो साहित्यको भित्री मर्मलाई आमपाठक माझ सुनाउँदै हिँड्ने गर्छन्। जो आफैमा साहित्य क्षेत्रमा त्यति उपयुक्त होइन। साहित्यका रसहरू धेरै हुन्छन् भने यसको प्रस्तुति एक भए पनि पाठकहरू आफ्नो बुझाइ अनुरुप साहित्यलाई फरक ढंगले बुझ्न सके साहित्यको परिचय साँच्चै लेखक र पाठकबीचको सुन्दर सम्बन्धबाट प्रेरित हुन्छ। लेखक र पाठकबीच रेडियो कार्यक्रम सञ्चालक र श्रोताबीचको भावनात्मक सम्बन्ध जस्तै हुनसके एउटा रमाइलो मनोवैज्ञानिक प्रभावले सदैव जोड कायम राख्छ। साहित्य दमदार भए अवश्य सफलता प्राप्त हुन्छ तसर्थ पाठक कमाउने वा परिचित हुने तुच्छ उदेश्य लिएर पाठक माझ प्रस्तुत हुनाले साहित्यको गहिरो भावना सबैतिर छताछुल्ल हुने हुँदा आफ्नो साहित्यको मर्मलाई आफैमा निहीत गर्नु एक सफल र भावनात्मक अनि साहित्यसँगै समाहित भएर कलम चलाउने लेखकले नै बढी पाठकलाई छुन वा प्रभावित गर्न सक्छन्।
नेपाली साहित्यमा मुलतः कविता क्षेत्रमा धेरै कलम चल्ने गरेको इतिहास सर्वविधित नै छ। साहित्यको आधुनिक इतिहास हेर्ने हो भने कथा, निवन्ध, आख्यान, समालोचना हुँदै आजको नेपाली साहित्यमा उपन्यास क्षेत्रको ठूलो दबदबा हेर्न पाइन्छ। हुनतः उपन्यास लेखन क्षेत्रमा धेरै पहिलेबाट कलम चल्दै आए पनि व्यावसायिक साहित्य जगतमा बुद्धिसागर, अमर न्यौपाने, सुबिन भट्टराई लगायतले युवा वर्गलाई व्यापक आकर्षित गरेसँगै साहित्य लेखनबाट पनि बाँच्न सकिन्छ।
साहित्यलाई सदैव पार्टटाइमको रुपमा हेरेर फुर्सदको समयमा रचना कोर्नुपर्छ भन्ने मान्यतालाई केही हदसम्म कम गर्न सफल भएको छ। तर बरिस्ठ लेखक तथा आख्यानकार अमर न्यौपानेको भनाइ छ, ‘कोही पनि पैसा कमाउन लेख्छ भने त्यो साहित्यकार हुन सक्दैन। लेखन पश्चात् पैसा कमिने हो। साहित्य लेखन मार्फत पैसा कमाउन सकिन्छ। तर पैसा कमाउन साहित्य लेख्ने होइन।’ तर, जे भनेपनि गरेपनि केही हदसम्म साहित्य क्षेत्र व्यावसायीकरण चाहिँ भएकै हो। तर, पनि यो अझै सम्म सन्तोषजनक छैन।
शिक्षामूलक स्रोतको रूपमा, साहित्यले मानव जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। साहित्यले प्रत्यक्ष वा निहीत र नैतिक साथ काम गर्छ। साहित्यले हामीलाई प्रभाव पार्छ र हामीलाई जीवनको हरेक चाल बुझ्न मद्दत गर्छ। विशेषगरी मानवीय गुणलाई प्रेरित गर्न र मानिसहरूलाई आफ्नो जीवन र अरूको जीवनमा एक नयाँ आयाम दिन साहित्य अपरिहार्य छ। तसर्थ मानव जीवनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साहित्य नकार्न सक्दैन। हरेक मानव कुनै न कुनै रुपमा साहित्यसँग नजिक रहन्छ।
प्रतिक्रिया