Logo

विचार

‘देशका सबै श्रमिकलाई राहत दिइयोस्, विदेशमा अलपत्र नेपाली श्रमिकको उद्दार गरियोस्’



आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वको श्रमिक आन्दोलनका लागि एउटा ऐतिहासिक दिन। श्रमिकले लामो संघर्ष, त्याग र बलिदानबाट आफ्नो अधिकार स्थापित गर्न सफल भएको ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण श्रमजीवी श्रमिक वर्गमा शुभकामना व्यक्ति गर्न चाहन्छु ।

मे दिवसको ऐतिहासिक सन्दर्भलाई स्मरण गर्दै अझै सशक्त र प्रभावकारी रूपमा अधिकारका लागि लड्न प्रेरित गर्ने आशा पनि यस अवसरमा राखेकी छु ।

यस अवसरमा म केही ऐतिहासिक पक्षको स्मरण पनि गर्न चाहन्छु। १९औं शताब्दिको औद्योगिकीकरणसँगै यूरोपका उद्योगीले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरिरहे । त्यसविरुद्ध मजदुरहरुले सन् १८८६ मे १ का दिन एकताबद्ध भएर आन्दोलनको उद्घोष गरे । समानता, उपयुक्त श्रमज्याला, बिदा तथा श्रम गर्ने वातावरणका निम्ति श्रमिकले गरेको यो महत्त्वपूर्ण र ऐतिहासिक आन्दोलनको प्रस्थानबिन्दु थियो । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि आवाज उठाउँदा त्यसको प्रभाव अमेरिकामा पनि पुग्यो ।

सिकागोमा श्रमिकको प्रदर्शन शुरू भयो । शान्तिपूर्ण आन्दोलनमा कयौँको ज्यान गयो । प्रतिवाद स्वरूप मे ४ मा श्रमिकले बम विष्फोट गराए । उक्त प्रकरणमा प्रहरीसहित ७ जनाको ज्यान गयो । त्यसरी शुरू भएको श्रमिक अधिकारको आन्दोलन नेपालमा पनि चल्यो ।

वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको तथ्यलाई म आज स्मरण गर्न चाहन्छु । तत्कालीन राणाशासकले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेको थियो । जननायक बिपी कोइरालासहित धेरै नेताहरुलाई पक्राउ गरे पनि नेपालमा प्रजातन्त्रको जग बसाल्ने कार्यको उद्घोष भइसकेको थियो । विराटनगर मजदुर आन्दोलनको आधारशिलालाई टेकेर वि.सं. २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भयो ।

श्रमिकका सवालमा सरकारलाई आग्रह

नेपाली श्रम बजारमा अहिले ७१ लाख आश्रित छन् । त्यसमा पनि १५ लाख २३ हजारभन्दा धेरै श्रमिकहरू कृषिमा संलग्न रहेका छन् । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय श्रम संगठनले एक खर्ब ६० करोड श्रमिकको रोजगारी कोरोना भाइरसको महामारीका कारण खोसिएको बताएको छ । नेपालको श्रम क्षेत्रमा पनि महामारीको गम्भीर असर परेको छ । नेपालमा लकडाउन जारी रहँदा सम्पूर्ण नागरिकको जीवन असहज बन्न पुगेको छ ।

त्यसमा पनि श्रमिक र मजदुरहरू अझै संकटमा छन् । तत्काल मुलुकभित्रका श्रमिकहरूको दैनिकी सहज हुने व्यवस्था सरकारले गर्नुपर्छ । श्रमिकलाई पर्याप्त राहत दिएर आश्रित परिवारको जीवनरक्षा गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

साथै, वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका नेपाली श्रमिकहरू कोरोना भाइरसको संक्रमणबाट पीडित भएको सार्वजनिक भएकाले उनीहरूको उपचारको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछु ।

साथै विदेशमा अलपत्र नेपाली श्रमिकलाई बस्ने र खाने व्यवस्था गरेर उचित समयमा उद्दार गर्न पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

साथै, हाम्रो जीवनसँग जोडिएका श्रमिक वर्गको सम्मान गर्न र उनीहरूको अधिकार स्थापित गर्ने अभियानमा साझा साथको आवश्यकतामा सबैलाई गम्भीर बन्न अनुरोधसहित सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

जय नेपाल।

डा. डिला संग्रौला पन्त
सदस्य, प्रतिनिधिसभा
१८ वैशाख, २०७७

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल