सरकारी संयन्त्रलाई सुझाव


उत्तमबाबु श्रेष्ठ

कोभिड १९ सँग लड्नको लागि विश्वका विभिन्न देशहरुले प्रविधीको भरपुर प्रयोग गरिरहेका छन्। विषेशगरी चीन, कोरिया जस्ता मुलुकहरुले फोनको लोकेसन पत्ता लगाउने (phone location tracking), अनुहार चिन्ने (face recognition) जस्ता प्रविधिहरु यसको नियन्त्रणका लागि प्रयोग गरेको खवरहरु आएका छन्। यतिखेर भारत लगायतका अन्य १९ देशहरुले फोनको लोकेसन पत्ता लगाउने प्रविधि कोभिड १९ सँगै जुध्नका लागि प्रयोग गरिरहेको छ। नेपालमा पनि व्यक्तिको फोनको लोकसन पत्ता लगाउने प्रविधि आएको निकै भयो। अहिले पनि यो प्रविधि चोरी भएको फोन पत्ता लगाउन प्रयोग गरिन्छ। अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या हेर्दा विदेशवाट आउने यात्रुहरुमा देखिन्छ, जुन स्वाभाविक हो।

त्यस्तो होला र उनीहरुलाई ट्याकिङ र ट्रेसिङ गर्न सजिलो होस् भनेर त्रिभुवन विमानस्थलमा कोरोना महामारीपछि सबैको यात्रा र व्यक्तिगत विवरण भर्न लगाइएको थियो। म १६ दिनअघि त्यहाँबाट आउँदा त्यस्ताे फर्म भरेकाे थिए। यात्रुहरुबाट भराइएका फारामलाई कम्प्युटरमा सारेर त्यसबाट तथ्यांक बनाउनु पर्‍याे। तर, त्यो हालसम्म नगरिएको थाहा लागेको छ। अहिले पनि १०० जना मान्छेहरुले रातदिन काम गरे भने त्यसलाई केही दिनभित्रमै कम्प्युटरमा तथ्यांक बनाएर राख्न सक्छन्। घर बसेका सरकारी कर्मचारीहरुबाट त्यस्तो सहयोग लिन सकिन्छ। उनीहरूले घरमा बसेर कागजमा भरिएकाे विवरणलाई कम्प्युटरमा सार्न सक्छन्। त्यसको साथै स्थानीय तहबाट पनि विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको छ।

म हाल बसिरहेकाे गोरखा नगरपालिकाले पनि त्यसो गरिरहेको छ। उनीहरूले मेराे बारेमा खाेजेकाेले मैले जानकारी पाएको हो। अन्य स्थानीय निकायहरुले गरेका कुरा सामाजिक सञ्‍जालमा आएका छन्। यसलाई स्थानीय एफएमहरूबाट सूचना प्रकाशित गरेर देशव्यापी बनाउन सकिन्छ। त्यसरी स्थानीय तहमा संकलन गरिएको तथ्यांकहरुमा विदेशबाट आएका व्यक्तिहरुको फोन नम्बर अनिवार्य रुपमा संकलन गर्नपर्‍याे। विमानस्थलबाट लिएको र स्थानीय निकायबाट संकलन गरेको तथ्यांकहरुको एउटा केन्द्रीय डाटाबेस बनाएर उनीहरुलाई सम्भावित सक्रंमित मानेर उनीहरुको फोन नम्बरको आधारमा फोनको लोकेसन पत्ता लगाउन सकिन्छ।

त्यसको आधारमा उनीहरुको लोकेसन पत्ता लगाएर उनीहरुसँग सम्पर्क गरेर वा गर्न लगाएर आइसोलसनमा बसेको नबसेको मात्रै होइन, उनीहरुलाई उचित स्वास्थ्य सल्लाह, मनोवैज्ञानिक परामर्श दिन सकिन्छ। त्यसको साथै उनीहरुको, उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्नपनि सहज हुन्छ जुन राेगलाइ फैलिन नदिन अनिवार्य छ। अहिले सबैले भनिरहेको ट्याकिङ र ट्रेसिङ भनेको यही हो जस्ताे लाग्छ। सम्भावित संक्रमित कहाँ छन् भनेर पत्ता नलगाइ कसरी परिक्षण गर्ने? अहिले त टेकुमा भइरहेकाे छ। चीनबाट आएका प्राेटेवल डिभाइस र कीटबाट परीक्षण गर्न याे तथ्यांक उपयुक्त हुनसक्छ।

मेरो विचारमा सूचना प्रविधिका विज्ञ, तथ्यांकशास्त्री, जिआइएसका विज्ञहरुले त्यस्ता तथ्यांककाे आधारमा फाेनकाे लाेकेसन र मान्छेकाे अवस्था पत्ता लगाइदिने काम गर्न सक्छन्। यदि हामीले काेराेनापछि विमानस्थलबाट नेपाल भित्रिएका मानिसहरुको अहिलेकाे लोकसन मात्रै पनि पत्ता लगाउन सक्यौं भने त्यही परिमाणको टेस्ट कीटहरु विभिन्न ठाँउमा पठाउने गर्न सक्छौं। धेरै जना भएका ठाउँमा धेरै र थोरै जना त्यस्ता सम्भावित संक्रमित भएका ठाँउमा थोरै। हामीसँग टेस्ट कीटहरु अभाव छ। जथाभावी परीक्षण गर्नभन्दा यसरी अलिकता तथ्यांकहरुको विश्लेषण गरेर गरेमा अध्यारोमा ढुंगा हान्ने काम हुनबाट रोक्न सकिन्थ्यो।

यस्तो तथ्यांकको विश्लेषणले सम्‍भावित महामारीको केन्द्रविन्दु पत्ता लगाउन सक्छौं। त्यही अनुसार त्यो ठाँउको अस्पतालमा भ्यान्टिलेटर, आइसोलेसन वार्ड, आइसियू र स्वास्थ्य जनशक्तिको परिचालन गर्न पनि सकिन्छ। अझ यसलाई विस्तार गर्ने हाे भने उनीहरू घरमा बसे नवसेकाे निगरानी पनि गर्न सक्छाैं। हामीसँग तथ्यांक भयो भने, विश्लेषणकाे काम मानिसहरुले टाढा बसेर पनि गर्नसक्छन्। यहाँ कि नेपाल वाहिर बसेका वैज्ञानिक, अध्येताहरूले पनि याे काम गरिदिन सक्छन्। हुन त यस्तो काम भइरहेको पनि हुनसक्छ। नभएकाे भए यसतर्फ ध्यान दिन उचित हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: