हटाउ प्रतिबन्ध खुलाउ गाँजा!


हरि तिमिल्सिना

वेदहरूमा गाँजालाई खुशी प्रदायक वा मुक्तिदाता भनिएको छ। वनस्पति विज्ञानको अध्ययनले गाँजा क्यानाबेसी (Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो भन्छ। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस। यी तीनदेखि बाहेक पनि यसका कैयन प्रजाति (Species) हरू छन्। गाँजा (अङ्ग्रेजीमा क्यानाबिस वा म्यारिजुआना) वनस्पति साइकोएक्टिभ(मानसिक अवस्था र व्यवहारलाई प्रभावित पार्ने) औषधि हो।  गाँजामा पाइने प्रमुख साइकोएक्टिभ अंश भनेको टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी, THC, Tetrahydrocannabinol) हो। जुन सो वनस्पतिमा पाइने ४८३ ज्ञात रसायनहरूमध्येको एक हो। यसैमा ६५ अन्य क्यानाबिनोइड(Cannabinoid) रसायनहरू पनि सामेल छन्।

गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछ। जसबाट कपडा, ब्याग, थैली आदि वस्तुहरू बनाइन्छन्। गाँजाको बीउ, बीउको तेल र पातका विभिन्न प्रयोगहरू रहेका छन्। सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि गाँजाको प्रयोग गरिन्छ। धेरै देशहरूमा गाँजा संस्कृतिको अभिन्न अङ्ग बनेको छ। गाँजालाई धूमपान, गरेर, वाष्पीकरण गरेर, खानासँग वा एक्स्ट्रयाक्टका रूपमा प्रयोग गर्न सकिन्छ। गाँजाको सेवन गर्दा मानसिक र शारीरिक प्रभावहरू देखा पर्छन्। उच्च वा आत्मविश्वासी भावना, उच्च मनोभावना (मुड), र बढी भोक लाग्नेजस्ता लक्ष्यणहरू देखिन्छन्। यी प्रभावहरू धूमपान गरेको केही मिनेट पछाडि नै र यदि खानासँग खाइएको छ भने करिब ३० देखि ६० मिनेटभित्रमा देखा पर्छन्। यी प्रभावहरू दुई देखि ६ घण्टासम्म कायम रहन्छन्। अल्पकालीन पार्श्वप्रभावहरूमा अल्पकालीन स्मरण शक्तिको कमी, मुख सुक्ने, असन्तुलित चाल, आँखाहरू राता हुने, र मानसिक उन्माद वा अवसादको भावना हुनसक्छन्।

किशोरावस्थामै गाँजा लिन थालेका किशोरहरूमा देखिने दीर्घकालीन पार्श्वप्रभावहरूमा, व्यसन र कमजोर मानसिक क्षमता देखिन्छ र बच्चापेटमा हुँदा गाँजा प्रयोग गर्ने आमाहरूको बच्चामा व्यावहारिक समस्याहरू देखिन थाल्छन्। गाँजाका फाइदा र बेफाइदालाई केलाएर हेर्दा यसको फाईदाजनक पक्ष नै मजबुत देखिन्छ, यसको बेफाइदा भनेको अनावश्यक रुपमा सेवनबाट मात्र हुन्छ। व्यवसायीक रुपले गरिने गाँजा खेतीले कसैलाई हानि गर्दैन, बरु यसले देशको अर्थतन्त्रको जग थप मजबुत बनाउन सहयोग गर्छ। यहाँ म व्यावसायिक गाँजा खेतीबाट देशको अर्थतन्त्रमा सुधार र सही तरिकाले गाँजाको प्रयोगबाट मिल्ने फाईदाको विषयमा बहस गर्ने कोसिस गर्दैछु।

अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गाँजाबारे बहस हुँदै गर्दा यो लेखले केही सकारात्मक विचार प्रवाहित गर्नलाई सहयोग गर्छभन्ने विश्वास लिगेको छु।  कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो। नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै प्रतिबन्ध लाग्यो। तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज उठिरहेका छन्। यिनै आवाजका कारण गाँजा बहसले पुन: अर्को पटक स्थान पाएको छ।

विश्व बजारमा नेपाली गाँजा

विश्व बजारमा नेपाली गाँजाको निर्यात कहिलेदेखि सुरु भयो यसै भन्न मुस्किल पर्छ। किनभने हिमालयमा आएर महादेवले प्रयोग गर्ने गाँजाका कयौं किम्बदन्ती छन्। जब विश्वमा आर्थिक क्रान्ति सुरु भयो, त्यससँगै नेपालले पनि गाँजालाई आम्दानीको स्रोत बनाएको देखिन्छ।
१९ औं शताब्दीमा नेपालमा आफ्नो व्यापार विश्वस्तरमा पुर्‍याएको र त्यसमा राम्रो उपलब्धि पनि पाएको विभिन्न तत्कालीन समयमा लेखिएका विभिन्न दस्तावेजमा भेटिन्छन्।  

२००८ सालबाट  सरकारले गाँजा कम रोप्न आह्वान गरेको भेटिन्छ। खाद्य तथा कृषि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रत्येक जिल्लामा १० विगाहभन्दा बढी जमीनमा गाँजा खेती गर्न नदिन आह्वान गरेको थियो। ‘खाद्य तथा कृषि मन्त्रालयले नेपालको गाँजा खेतीमा नियन्त्रण गर्ने निश्चय गरेको छ, त्यसअनुसार नेपालका प्रत्येक जिल्लाका बडाहाकिमलाई आदेश पठाइसकेको छ कि कुनै पनि जिल्लामा १० विगाह भन्दा बढी जग्गामा गाँजाको खेती गर्न नदिइयोस्’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै अर्को दस्तावेज हो, फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्गन्डम अफ नेपाल’।  सन् १८१९ मा  बेलायतबाट प्रकाशित यो पुस्तकमा नेपालको ऐतिहासिक रूप देखिन्छ। यतिमात्र होइन पुस्तकले त्यतिबेलाको नेपालको सामाजिक तथा आर्थिक स्वरुपको पनि व्याख्या गर्छ। ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्गन्डम अफ नेपाल’को कभर र एउटा पेज ह्यामिल्टनले नेपालको गाँजा व्यापारको बारेमा पनि व्याख्या गरेका छन्।

‘नेपालमा गाँजा चरेश धेरै प्रयोग हुने लागुपदार्थ हुन्। गाँजा नेपालमै उत्पादन गरेर व्यापार गरिन्छ,’ पुस्तकमा भनिएको छ, ‘ठूलो मात्रामा उत्पादन हुने गाँजा चरेशको बजार पनि यहाँ ठूलो छ।’ ह्यामिल्टनले नेपालको गाँजा व्यापारको बारेमा पनि व्याख्या गरेका छन्। ‘नेपालमा गाँजा चरेश धेरै प्रयोग हुने लागुपदार्थ हुन्। गाँजा नेपालमै उत्पादन गरेर व्यापार गरिन्छ,’ पुस्तकमा भनिएको छ, ‘ठूलो मात्रामा उत्पादन हुने गाँजा चरेशको बजार पनि यहाँ ठूलो छ।’

गाँजा किन भयो प्रतिबन्ध ?

नेपालमा गाँजाको खपत बढ्नुको कारण हिप्पी थिए। सामान्यतया अराजक देखिने उनीहरू लामो कपाल र असामान्य पहिरनले चिनिन्थे। उनीहरू युरोप र अमेरिकाबाट नेपाल आउने गर्थे। हिप्पीहरू आफ्नो समाजको परम्परागत मूल्य स्वीकार गरेनन् र चित्रकला, संगीत लगायतका कलालाई जीवन बनाएर नेपाल लगायतमा देशमा आएर नशामा लठ्ठिन थाले। तीमध्ये धेरै लागूऔषधका अम्मली हुन्थे। नेपालको गाँजाले उनीहरूको तलतल मेट्थ्यो। पछि, नेपालमा गाँजा प्रतिबन्ध लाग्नुमा हिप्पीको भूमिका पनि महत्त्वपूर्ण रह्यो।

युरोपियन र अमेरिकी देशहरूले आफ्ना देशका युवाहरू लागुऔषधमा लठ्ठिएर घुमिरहेको देख्न सकेन। र, विश्वमै लागुऔषधविरुद्ध अभियान सञ्चालन गरे। नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा बाँधिएको कारण उनीहरूको अभियानलाई साथ दियो। फलस्वरुप नेपालमा गाँजा उत्पादनमाथि रोक लगाउन थालियो। नेपाल राष्ट्रसंघको पनि सदस्य हो। यसैको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई लागुऔषधकै दर्जामा राखेको छ। ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६’मा पनि समावेश मुलुक भएकाले नेपाललाई गाँजालाई रोक लगाउनु नेपालको बाध्यता देखिन्छ। 

अन्तर्राष्ट्रिय दबावकै कारण २०३३ सालमा लागुऔषध नियन्त्रण ऐन ल्याएर नेपाल सरकारले गाँजा प्रतिबन्ध लगायो। ऐन आएपछि औषधिको रुपमा पनि गाँजा प्रयोग गर्न नहुने भनियो। त्यसपछि नेपालमा गाँजाले विदेशी मुद्रा तान्न छोड्यो। नेपालले पनि संयुक्त राष्ट्र सङ्घ र अमेरिकाको दबाबमा मुक्त रूपमा प्रयोग हुँदै आएको गाँजामा प्रतिबन्ध लगायो। कतिपय अनुसन्धानकर्ताहरूले त चुरोट र रक्सीका ठूल्ठूला उद्योगपतिहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भनेका छन्। किनभने गाँजा चुरोट र रक्सीको बजारका लागि ठूलो चुनौती बनेर देखा पर्‍यो। एक त औषधीय रूपमै प्रयोग गरेर चुरोट र रक्सीबाट मानिसहरूलाई जोगाउन सकिने भयो, अर्को गाँजाको लत लागेपछि मानिसहरूले रक्सी र चुरोट त प्रयोग गर्ने भएनन्।

आफ्नो बजार सुक्ने अवस्था देखेपछि तिनले सरकारहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष, देशी-विदेशी दबाब दिन थाले। सरकारहरूले पनि ती उद्योगहरूबाट आउने राजश्व गुमाउन चाहेन। यस्तै प्रभावमा गाँजालाई नार्कोटिक ड्रगको श्रेणीमा राख्‍न र प्रतिबन्ध लगाउन कैयन् अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरू पनि भएका छन्। नेपालले पनि सो सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। बेलाबेला फलानो ठाउँमा प्रहरीले अवैध गाँजा खेती नष्ट गऱ्यो भन्ने किसिमका समाचारहरू सञ्चार माध्यममा आइरहन्छन्।

गाँजाका उपयोगहरु

आधुनिक औषधीय प्रयोगः क्यानाबिनोइड्स  र क्यानाबिसलाई डाक्टरहरूले बिरामीको उपचार गर्नका लागि औषधि लेखिदिन्छन्। यद्यपि एलोप्याथिक चिकित्सा पद्धतिमा यसका औषधीय गुणहरूबारे पर्याप्त अध्ययनहरू भएका छैनन् र गरिएको क्लिनिकल अनुसन्धान पनि सीमित छ। त्यसैले गाँजाले कुन रोग कसरी निको पार्छ भन्ने कुरामा ठोस नतिजा छैन। प्रारम्भिक अध्ययनहरू अनुसार गाँजाको औषधीय प्रयोग निम्न छन्:

वाकवाकी र उल्टी: केमोथेरापीले गर्दा उत्पन्न वाकवाकी र उल्टीमा गाँजा प्रभावकारी देखिएको छ। यस्तो किसिमको वाकवाकी र उल्टी कम गर्नमा गाँजा परम्परागत औषधिहरूभन्दा बढी प्रभावकारी देखिएको छ। तर रिङ्गटा लाग्ने, मतिभ्रम आदि पार्श्वप्रभाव हुनाले यसको प्रयोग भने कम नै गरिन्छ।

एचआइभी/एड्स: एचआइभि/एड्सबाट पीडित रोगीहरूको अरुचि उपचार गर्नका लागि गाँजाको प्रयोग प्रभावकारी देखिएको छ तर यसका ठोस सबूतहरू छैनन्।

पीडा: सन् २०१७ मा गरिएको अध्ययनले दीर्घकालीन पीडामा गाँजा प्रभावकारी भएको सीमित प्रमाण मात्र फेला पऱ्यो। पीडा कम गर्नका लागि गाँजा सुँघ्दा(इनहेल) खाने चक्कीहरूभन्दा बढी छिटो काम गर्ने देखिएको छ। केही अध्ययनहरूले दीर्घकालीन गैर-क्यान्सर रोगीहरूको पीडा कम गर्नका लागि गाँजा उपयोगी भएको देखाएका छन्।

स्नायविक अवस्थाहरू: मल्टिपल स्क्लेरोसिस र शारीरिक चालका समस्याहरूमा गाँजा प्रभावकारी देखिएको छ। पक्षाघात सम्बन्धी समस्याहरूमा पनि गाँजा उपयोगी पाइएको छ।

आयुर्वेदिक  औषधीय प्रयोग

आयुर्वेदमा गाँजालाई “विजया” उल्लेख गरेको पाइन्छ। गाँजाको मात्रा थोर/धेर भएका केही आयुर्वेदिक औषधिहरू र तिनका काम निम्न रहेका छन्:

‘लक्ष्मीविलास रस’ – जसलाई रुघा लाग्ने (नाकबाट पानी बग्ने), ज्वरो आउने, चिसो लाग्ने बिरामाका लागि प्रयोग गरिन्छ।

‘सर्पगन्धा’ – उच्च रक्तचाप र अनिद्राका बिरामीका लागि प्रयोग गरिन्छ।

‘मोदनानन्द मोदक’ – मानसिक विकार र डिप्रेसनका लागि प्रयोग गरिन्छ।

‘पूर्णचन्द्रोदय रस’ – पुरुषको शीघ्रपतन/शीघ्रस्खलन रोक्नका लागि प्रयोग गरिन्छ।

‘भोग सुन्दरी’ – यौनशक्ति बढाउनका लागि प्रयोग गरिन्छ। पश्चिमा ‘भियाग्रा’ जस्तै।

‘रामबाण रस’ – झाडापखाला रोक्नका लागि प्रयोग गरिन्छ।

‘रातोबरी’ – झाडापखाला रोक्नका लागि प्रयोग गरिन्छ।

यीदेखि बाहेक गाँजाका घरेलु केही उपयोगहरू निम्न छन्:

गाँजाको पातको रस निकाली अर्क बनाएर कानमा दुईतीन थोपा हाल्दा टाउको दुखेको निको हुन्छ।

गाँजाको चूर्ण बनाई मरीचको धूलोसँग मिलाएर बिहानबेलुका चाट्नाले रुचि बढ्छ र भोक लाग्छ।

गाँजालाई अन्य औषधिहरूसँगै मात्रा मिलाएर लिएमा त्यसले यौनशक्ति बढाउँछ।

गाँजाको पातको चूर्ण बनाई काटेको वा अन्य घाउमा लगाए, घाउ छिनै निको हुन्छ।

गाँजाको बीउको तेलले मालिस गर्दा जोड्नीको दुखाइ कम हुन्छ।

गाँजाको चूर्ण एक मात्रा, शुठो(अदुवाको धूलो) दुई मात्रा र जीराको धूलो चार मात्रा मिलाएर बनाएको मिश्रणले कोलाइटिस वा मासी(अतिसार) ठीक हुन्छ।

यीबाहेक पूर्वीय चिकित्सा पद्धतिमा गाँजा मूर्छा पर्ने, अपच, क्यान्सरको औषधिको रूपमा प्रयोग गरिन्छ र अर्को अत्यन्त सफल प्रयोग चाहिँ रक्सी र लागू पदार्थ  लत छुटाउने हो।

अन्य प्रयोग

गाँजाबाट जैविक इन्धन तथा जनावरहरूका लागि उच्च प्रोटिनयुक्त खानासहित पचासभन्दा बढी उपयोगी वस्तुहरूको औद्योगिक तथा व्यावसायिक उत्पादन गर्न सकिन्छ। गाँजाबाट तेल, गुणस्तरीय धागो, कागज, कार्डबोर्ड तथा प्लाइबोर्ड निर्माण गर्न सकिन्छ।

संस्कृतमा एउटा भनाइ छ “अति सर्वत्र वर्जयेत्” अर्थात् जहाँ पनि अति गर्नु हुन्न। गाँजा प्रयोगका विषयमा पनि यही नियम लागू हुन्छ। निर्धारित वा अल्पमात्राको गाँजाले स्वास्थ्यमा सकारात्मक असर पार्छ भने मात्रा बढ्दा त्यसले हानी पुऱ्याउँछ। गाँजाले गर्ने हानीमा केही निम्न रहेका छन्:

शारीरिक चाल र गतिविधिमा असन्तुलन ल्याउने,

श्वासप्रश्वासमा प्रणालीमा प्रभाव पार्ने,

मुटुको ढुकढुकी बढाउने,

संज्ञानात्मक क्षमता घटाउने,

स्मरण शक्ति कम गराउने,

अल्पकालीन साइकोसिस(कडा मानसिक रोग) गराउने

दीर्घकालीन साइकोसिस(कडा मानसिक रोग) गराउने

स्किजोफ्रेनिया(खण्डित मनस्कता, एक किसिमको मानसिक रोग)

मस्तिष्कका कोषिकाहरू, फोक्सोका कोष तथा तन्तुहरू, घाँटी र टाउकाका मांसपेशीहरूमा गम्भीर असर पार्ने

गर्भावस्थामा सेवन गर्दा बच्चामा कम तौल भएको, शारीरिक विकारहरूसहित जन्मिन सक्ने, वा गर्भपतन हुनसक्ने

ऐतिहासिक महत्त्व

वेदहरूमा गाँजालाई खुसी प्रदायक वा मुक्तिदाता भनिएको छ। उहिले बूढापाकाहरूले शारीरिक पीडा कम गर्न र अनिद्रा भगाउन गाँजाको प्रयोग गर्थे। भजनकीर्तन तथा चाडपर्व मनाउनुका साथै घरपालुवा जनावरहरूको उपचार गर्न पनि गाँजाको प्रयोग गरिन्थ्यो। घरमा आउने जोगीहरू वा साधूहरूलाई गाँजा दिएर खुसी बनाइन्थ्यो। हिन्दु धर्ममा गाँजाको प्रयोग महत्त्वपूर्ण मानिन्छ। नेपाल र भारतमा मनाइने फागु वा होली पर्वमा भाङ खाने चलन छ। भाङको लड्डू वा भाङको सर्बत यसबेलाका प्रिय खानेकुरा हुन्। भाङ गाँजाको पुलिङ्गी बिरूवा हो।

यसदेखि बाहेक धर्मशास्त्रमा उल्लेख भए अनुसार समुद्र मन्थनबाट अमृत उत्पन्न भएपछि त्यो अमृत शुद्धीकरण गर्नका लागि भगवान् शिवले आफ्नो शरीरबाट गाँजा उत्पन्न गरेका हुन्। त्यस्तै सो अमृतका केही थोपा जमिनमा खसेपछि गाँजा उम्रिएको भनाइ पनि रहेको छ। गाँजाको जसरी व्याख्या गरिएता पनि हिन्दु धर्ममा गाँजालाई शिवको प्रसाद मानिन्छ। शिवरात्रिमा भगवान् शिवको आराधना पछि उनको आशीर्वाद प्राप्त गर्न र पाप मोचन गर्न गाँजा खाने चलन रहेको छ।

गाँजा खोल्ने कि नखोल्ने

विश्वका विकशित मुलुकले गाँजालाई औषधिको रुपमा खुल्ला गर्न थालेका छन्। विश्वकै ठूलो अर्थतन्त्र भएका मुलुकले पनि गाँजा उत्पादन गरेर आम्दानी गरिरहेका अवस्था छ। गाँजाका विभिन्न प्रजाति हुन्छन् । त्यसको स्वरूपअनुसार, विभिन्न ठाउँमा पाउने गाँजाको प्रकृति अनुसार र उसको जाति विशेष अनुसार विभिन्न उद्देश्यअनुसार प्रयोग भएको भेटिन्छ । कपडा बुन्नका लागि त्यसको रेसा हुन्छ । गाँजाको रेसाबाट कपडा बुन्न पनि सकिन्छ ।

त्यो औषधि प्रयोगभन्दा पनि उपभोक्ताको उद्देश्यसँग सम्बन्धित भयो । मेडिकल उद्देश्यबाट कुरा गर्ने हो भने यसको बारेमा आयुर्वेदका किताबहरूमा स्पष्टसँग उल्लेख छ । गाँजाको प्रयोग कुन कुन ठाउँमा कुन कुन औषधिमा कसरी गर्ने, प्रक्षेप राखेर गर्ने कि भावना दिएर गर्ने कि अथवा त्यसको मात्रामा कुनै भाग राखेर गर्ने हो कि त्यो किसिमको व्याख्या गरिएको छ । त्योअनुसार औषधि बनेर पहिला प्रयोग पनि भएको हो।

यसबारेमा पूर्ण रूपमा अनुसन्धान भने भएको छैन । पहिला हामीले प्रयोग गरेका, पहिला औषधि बनाएका आधारमा यसबारेमा अनुसन्धान गर्न आवश्यक छ । यसलाई हामीले वैज्ञानिक रूपमा प्रमाणित गर्न सक्यौँ भने यसको प्रयोगबाट हामी अरू देशभन्दा अगाडि जान सक्छौँ । किनभने हामीले पहिलादेखि नै यसको प्रयोग गरिरहेका थियौँ । त्यसकारण गाँजाबाट बनेका औषधिमा हामीले ‘पेटेन्ट राइट’ लिन सक्छौँ । त्यसकारण यसबारेमा पुनर्विचार गर्न सान्दर्भिक छ । कुनै समय गाँजा निर्यातमा अग्रणी भूमिका खेलेको नेपालले अब गाँजा खुल्ने कि नखोल्ने भन्ने विषयमा बहस गर्न आवश्यक छ। अमेरिकाका २५ राज्यमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने नियम छ।

अमेरिकाकै १८ राज्यमा यसको उपभोग नै गर्न समेत पाइन्छ। त्यस्तै उरूग्वे र इजरायल, बेल्जियम, कोलम्बिया, जमैका, स्पेन, पेरू, अर्जेण्टिनालगायत मुलुकमा गाँजाको उपभोग सीमित मात्रामा गर्न पाइन्छ। चिली सरकारले गाँजा खेती गर्न किसानलाई छुट दिएको छ भने क्यानडा, अष्ट्रेलियालगायत देशले औषधि उत्पादनका लागि गाँजा खेतीको अनुमति लिइसकेका छन्।  छिमेकी राष्ट्र भारतमा पतञ्जलि आयुर्वेदले गाँजाबाट औषधि बनाउन थालिसकेको छ।

(यो लेखमा व्यक्त विचार लेखकका निजी हुन्)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: