सांस्कृतिक रुपान्तरणसँगै आर्थिक समृद्धि र विकासको आधार


सुनिता बराल


भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भन्नुभएको छ, ‘संस्कृति मन र आत्माको विस्तार हो।’ सामान्य रुपमा बुझ्दा संस्कृतिका सन्दर्भमा नेहरुको यो परिभाषाले मानिस र संस्कृतिबीचको एउटा पक्षलाई मात्रै उजागर गरेको अर्थ लाग्छ। तर, गम्भीर विवेचना गर्दा संस्कृति मानव इतिहासको जीवन्त अतीतसँग जोडिएर निर्माण भएको अविराम श्रृंखलालाई बुझिन्छ। अनेक सभ्यताको जगमा निर्माण भएको नेपाली मौलिक संस्कृतिको धरातल हजारौं वर्षको इतिहाससँग जोडिएको छ। त्यसैले नेपाली समाजले आफ्ना मौलिक सांस्कृतिक सम्पदाहरुलाई जतन गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।

महान् दार्शनिक चाणक्यको भनाइमा मौलिक सभ्यता र संस्कृति भएको समाजलाई कहिल्यै कुनै शक्तिले परास्त गर्न सक्दैन। र, त्यही समाजको इतिहास जीवन्त हुन्छ। नेपाली समाज पनि यिनै अनेक मौलिक संस्कृतिलाई पहिल्याउँदै र पछ्याउँदै अघि बढिरहेको देश हो। यद्यपि, आज यो आलेखमा विश्वको सबैभन्दा अलग सांस्कृतिक विरासत बोकेको देश नेपालमा आर्थिक रुपान्तरणसँगै आएका केही विकृतिलाई नियन्त्रण गर्न हामी निभाउनु पर्ने दायित्वको विषयलाई उठान गरिएको छ। साथै, आर्थिक समृद्धि र विकासको बाटो मुलुकमा अघि बढ्दै गर्दा निभाउने पर्ने राष्ट्रिय दायित्वको सवालमा पनि दृष्टिकोण निर्माणको प्रयास गरिएको छ।

पूर्वीय सभ्यता र चाडपर्वका ऐतिहासिक पक्ष

राजनीतिक परिवर्तनपछि सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणको नवीन अभियान प्रारम्भ गर्नुपर्ने बेलामा नेपालमा अनेक खण्डका प्रयोगहरु हुन थालेका छन्। काठमाडौं लगायत शहरी क्षेत्रमा बस्ने मानिसहरू दसैंतिहार मनाउनका लागि गाउँघर फर्किने गर्छन्। रमाइलोसँग चाडपर्व मनाएर वर्षभरिको तनाव भुलेर नयाँ दैनिकीको प्रारम्भ गर्ने प्रण गर्ने बेला पनि हो। यही परम्परा सदियौंदेखि चलिआएको छ। मुग्लानमा काम गर्न जाने नेपाली दाजुभाइहरूको कथा त्यसै लेखिएको होइन। दशैं तिहार र चाडपर्वका बेला वर्षभरि श्रम र पसिनाले कमाएको पूँजी संकलन गरेर र साहुलाई मनाएर घर फर्कने गर्दथे। तर, कथा अलिकति बदलिएको छ।

मुग्लान पस्नेहरू, भारतका विभिन्न सहरमा काम गर्न पुग्नेहरू अचेल खाडीको पचासौं डिग्री सेल्सियस तातो घाममा डोब खन्दैछन्। उत्तिकै संख्यामा नेपाली चेलिबेटीहरू परदेशमा श्रम गरिरहेका छन्। त्यो पसिनाको कमाइले नेपाल फर्किएर आफ्नै गाउँमा दशैं मनाउने सपना बुन्ने उनीहरू कहिले फर्किने हुन् पत्तो हुँदैन। कार्ल मार्क्सको सिद्धान्तमा गरिएको व्याख्यालाई मान्ने हो भने विश्वको पूँजीवादी अर्थव्यवस्थाले हाम्रो गाउँठाउँलाई पनि पिरोलिरहको छ।

नेपालको सामाजिक संरचना र सांस्कृतिक धरातल पछिल्ला केही वर्षमा कताकता बिरोलिएको देखिन्छ। किनभने, दशैंमा काठमाडौंबाट गाउँ फर्किनेको लर्को लामो हुन्थ्यो, त्यो अहिले पनि छ। तर, विमानस्थलहरूमा दशैं र तिहारभन्दा अगाडि अलि फरक दृष्य देख्न पाइयो। धेरै नेपालीहरु दसैंको छुट्टीमा घुम्नका लागि थाइल्याण्ड, सिङ्गापुर, मलेशियादेखि युरोप र अमेरिकासम्म पुगेको पृष्ठभूमिमा तिहार सुरु हुनुभन्दा अगाडि पनि लगभग त्यस्तै परिदृष्य दोहोरियो। यसका बहुआयामीक पक्षहरु केलाउन आवश्यक छ।

चाडपर्वका बहुआयामीक पक्ष र मार्क्सवादी दृष्टिकोण

महान् दार्शनिक कार्ल मार्क्सले पनि संस्कृति र परम्पराका विविध आयाममाथि गम्भीर ढंगले समीक्षा गर्नुभएको छ। मार्क्सले भन्नुभएको छ, ‘समाजमा रहेका परम्पराले असमानता बोकेको हुन्छ।’ धर्मलाई अफिमको संज्ञा दिँदै मार्क्सले कुनै पनि परम्पराहरुको विकास, विस्तार र प्रवर्द्धन सामन्ती सत्तासँग सधैँ निकट रहने तर्क गर्नु भएको छ। तर, मार्क्सको दृष्टिकोणमा सांस्कृतिक पक्ष चाहिँ केही फरक हुन्छन्। उहाँका अनुसार परम्पराले सामन्ती व्यवस्थालाई प्रवर्द्धन गर्न प्रेरित गर्छ। तर, संस्कृतिले आधुनिक सभ्यतालाई परिस्कृत गर्न प्रेरित गर्छ।

कार्ल मार्क्सले इतिहास र राजनीतिसँगै संस्कृतिमाथि केही समीक्षात्मक टिप्पणी गर्नु भएको छ। उत्पादन प्रणाली, ऐतिहासिक पक्ष र संस्कृतिको समाजसँगको सम्बन्धलाई कार्ल मार्क्सले केलाउनु भएकाे छ। मार्क्सका अनुसार आर्थिक र सामाजिक अवस्थाहरु तथा वर्गीय सम्बन्धहरुले व्यक्तिगत जीवनका धेरै पक्षहरुलाई प्रभाव पार्छ। जसमा धार्मिक विश्वास, वैधानिक पद्धतिदेखि सांस्कृतिक संरचनाहरुसम्म यसैबाट प्रभावित हुन्छन्। उहाँको जोड छ, हरेक कालखण्डको निर्माण निश्चित उत्पादन प्रणालीबाट विकसित हुँदै आएको हुन्छ। यसरी, समाज श्रमिक, सामन्त र पूँजीवादी हुँदै साधनहरुको आवश्यकतामा केन्द्रित उत्पादन प्रणालीमा आइपुगेको छ।

गाँस, बास र कपासको आवश्यकता परिपूर्ति गर्नमै अहिलेको विश्वको आधा जनसंख्या केन्द्रित छ। त्यसमा पनि मानिसले विशेष माध्यमबाट प्राप्त गर्ने आवश्यकीय सामग्री, सामाजिक सम्बन्धका कारण र श्रमिकसँगको सम्बन्धका कारण प्राप्त सामग्री सामाजिक सम्बन्धहरुका कारण पर्याप्त हुँदैनन्। संस्कृतिले समाजको उत्पादन प्रणालीलाई सन्तुलन गर्न योगदान दिएको हुन्छ। मार्क्सको विचार र सामाजिक सन्तुलनका विविध पक्षको विश्लेषण गर्दा समाजलाई सही मार्ग निर्देशन गर्नकै लागि पनि चाडपर्व, सभ्यता र संस्कृतिलाई नवीन चेतनाका साथ अघि बढाउनुपर्छ।

आर्थिक रुपान्तरण र चाडपर्वको सन्दर्भ

पछिल्लो दुई दशकमा नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धान्यो। अहिले पनि धेरै नेपाली युवाहरू विश्वका कयौं देशमा श्रम गरिरहेका छन्। विदेशमा काम गर्नै युवाहरूको श्रमबाट प्राप्त ठूलो धनराशी नेपालको अर्थतन्त्रको हिस्सा बनेको छ। अर्कोतर्फ लगानीको बाटो खुल्ला गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न क्षेत्रहरूको पहिचान गरी मुलुकलाई आर्थिक रुपान्तरको बाटो अगाडि बढाउने जमर्को गरिरहेको छ।

सरकार र स्वयम् प्रधानमन्त्री ओलीले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रतिफल स्वरुप नेपालमा रोजगारीको प्रवर्द्धन सुरक्षण र सम्भावनाहरूको व्यापक खोजी हुन थालेको छ। यसले मुलुकलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सहयोग पुर्‍याउने छ। अर्कोतर्फ आर्थिक रुपान्तरणसँगै केही विकृतिहरु पनि देखिएका छन्। त्यसलाई युुवा पुस्ताले चिर्नैपर्छ।

आर्थिक रुपान्तरणसँगै हाम्रा चाडपर्वहरुको ऐतिहासिक र सांस्कृतिक महत्त्वको पक्षलाई बिर्सिन थाल्नु सर्वथा अनुचित हो। यसले परिवारसँगको सम्पूर्ण एकताको पक्षलाई ओझेलमा पारिदिन्छ। हामीले आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढ्दै गर्दा सामाजिक मूल्य र मान्यताहरुलाई पनि शिरोपर गर्नुपर्छ। नेपाली मौलिक जीवनका अनेकन आयामहरुलाई ओझेल पारेर नेपाल सरकारले दिएको छुट्टी विदेशमा बिताउनु सामाजिक र सांस्कृतिक जीवनका लागि कतिको घातक हुनसक्छ भन्ने विषयमा गम्भीर ध्यान पुर्‍याउनु पर्छ।

चाड पर्व र सामाजिक महत्त्वको पक्ष

नेपाली चाडपर्वका विशिष्ट समाजिक, सांस्कृतिक र आर्थिक महत्त्व छन्। यसको छुट्टै गरिमा र मौलिक पहिचान छन्। चाडपर्वले दिने सन्देश र ती परम्पराका अन्तर्य भनेकै पारिवारिक एकता, सामाजिक मेलमिलाप, आपसी विश्वास, प्रेम र सद्भावको प्रसार हो। यसले नै नेपाली समाजलाई एकताबद्ध बनाएको छ।

संरचनामा अनेकता भए पनि अनेक सांस्कृतिक आयामहरूले नेपाली समाजलाई मालाजस्तै उनेर कसिलो एकता प्रदान गरेको छ। नेपलाको यो सामाजिक संरचनाको विशेषता धेरै विकसित भनिएका देशहरूका लागि पनि अनुकरणीय मान्न सकिन्छ। किनभने, नेपालको शान्ति प्रक्रिया जसरी द्रूत गतिले पूरा भयो, त्यही उदाहरण नेपाली समाजको सांस्कृतिक र सामाजिक विशेषताको कडी मान्न सकिन्छ। चाडपर्व र सामाजिक पक्षहरुसँग नेपालको संक्रमणकाल पक्ष पनि जोडिएको छ। तर, राजनीतिक संक्रमण टुङ्गिएको र संविधान निर्माण भइ सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले पूर्ण रुपमा स्वतन्त्र भएको महसुस गरेको सन्दर्भमा सामाजिक संरचनाहरू केही खुकुलिएका पक्कै हुन्।

जिम्मेवारीबोध गर्ने र नेपाली समाजको मौलिक संस्कारलाई निरन्तरता दिनुको साटो धुमिल पार्ने पक्षहरू प्रवल भइदिँदा पनि यो अवस्था आएको हुनसक्छ। त्यसैले दशैंतिहारमा सरकारले दिएको छुट्टीको सदुपयोग गाउँमा गएर गर्नतर्फ नै हामी केन्द्रित हुनुपर्छ। यसले गाँउ र सहरसँग भएको संरचनागत सम्बन्धको डोरी अझ कसिलो बनाउने छ।

चाडपर्व र नेपालका पर्यटकीय गन्तव्य

दशैंको बिदामा धेरै युवा साथीहरू रारा पुगेर फर्किएका छन्। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल वैशाख १ गते रारा पुगेर सम्बोधन गर्नुभयो। र, नेपाली पर्यटकीयस्थललाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। यसै सन्दर्भमा मुगु सदरमुकाम सिमिकोटकी व्यवसायी पार्वती शाहीका अनुसार अहिले मुगुमा पर्यटकहरूको उपस्थिति बाक्लिएको छ।

प्रधानमन्त्री ओलीको रारा सम्बोधनपछि मुगुमा पर्यटकहरू आउने क्रम बढेको शाही बताउनु हुन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष नै मुलुकभरिका एक सय नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ। ती पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास प्रवर्द्धन र आवश्यक अन्य होटेल रेस्टूराँ निर्माण गरी पर्यटकहरूलाई आर्कषित गर्न सकिन्छ। 

जसबाट दशैंतिहारको बिदामा महँगो खर्च गरेर विदेशतिर जाने ठूलो संख्या नेपालको प्राकृतिक सौन्दर्यता र मनोरम दृष्यहरू हेर्दै आन्तरिक पर्यटकका रुपमा व्यतित गर्ने छ। र, मुलुक भित्रै पैसा खर्च गर्न प्रेरित हुनेछन्। यसो भएमा नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन भइ स्थानीयस्तरमा आर्थिकोपार्जनको नयाँ श्रोत थपिने छ। यसबाट स्थानीयस्तर हुँदै समग्र राष्ट्रआयमै सकारात्मक प्रभाव पर्ने छ।

(नेकपाकी युवा नेतृ बराल युवा विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव हुन्।)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: