Logo

विचार

भीम उपाध्यायको टिप्पणी, ‘कथित सडक विकास योजनाको यथार्थ कथा जस्तै नेपाल’


३० श्रावण २०७८, शनिबार


नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लेख्छन्–

सडक विकासको एउटा कथा यस्तो छ । ‘कुनै जमानामा एउटा बाच्छो थियो । एक साँझ चरेर घना वन हुँदै उ घर फर्कियो । चरणबाट घरसम्मको दुरी केवल एक कोश मात्र थियो । तर, उ तीन कोश घुमेर आएको थियो । जस्तो सबै बाच्छाहरूले गर्ने गर्छन्, उ पनि यता–उता, दायाँ–वायाँ, माथि–तल गर्दै बरालिदै आएकोले यस्तो भएको थियो । अर्को बिहान, एउटा गोठाले कुकुर त्यही बाटो हिँड्दै जाँदा बाच्छाको पदछाप देख्यो र उसले पनि वनभित्र बनेको पद चिन्हको त्यही बाटोलाई पछ्याउदै हिँड्यो । केहीबेरपछि, भेडाको एक हुलमध्येको अगाडिको एउटा भेडा गोठाले कुकुरले हिँडेको बाटो पछ्याउँदै गयो । अघि–अघि हिँडेको भेडाको पछिपछि भेडाको अरु बथान पनि लाग्दै गए । वनभित्र यसरी एउटा पैदल बाटो बन्यो ।

मान्छेहरूले पनि त्यही बाच्छो, कुकुर, भेडा हिँडेर बनेको थुप्रै घुम्ती र बांगाटिंगाहरू भएको बाटोलाई सराप्तै उपयोग गर्न थाले । तर, यसलाई सुधार्न तिनले केही गरेनन् । त्यही हिँड्ने बाटो विस्तारै अलि चौडा पैदलयात्री हिँड्ने मूल बाटोमा बदलिदै गयो । मूलबाटो विस्तारै साँघुरो सडक बन्यो र घोडा एवं बैलगाडाहरू पनि बाच्छो अल्लारिँदै हिँड्दै गर्दा बनेको त्यही सडकको अनुशरण गर्दै यात्रा गर्न थाले । एक दशकपछि, त्यही सडकको दायाँवायाँ बस्ती विकास भएर नगर निर्माण भयो र त्यो सडक नगरीय सडकमा परिणत भयो । त्यसपछि, त्यो नगर अझै विकसित भएर त्यही वनमार्गको दायाँबायाँ हजारौ मानिसहरू बस्ने घना शहर विकसित हुँदै गयो । घुमाउरो पैदल बाटो अब शहरी मूल सडक बन्न पुग्यो । तीन दशक बित्दा नविबित्दै त्यो बाटो ठूलो महानगरीय मूख्य सडक बन्न पुग्यो । बाच्छो हिँडेको बांगोटिंगो डोब पच्छ्याउँदै बनेको शहरी मूलबाटोमा बस, ट्रक, कार कुद्न थाले । लामो, जिगज्याग, यात्रा गर्न बहुमूल्य समय एवं पैसा खेर जाने त्यस्तो सडक बनाएकोमा मान्छेहरू पूर्वअधिकारीहरुलाई सत्तोसराप गर्ने गर्थे । तर, ती सबैले त्यही बाच्छो हिँडेको बाटो उपयोग गरिनै रहे ।

बाच्छो बरालिदै हिँडेको पद चिन्ह पछ्याउँदै विकसित भएको महानगरीय मूल सडकको आजको अवस्थाका लागि को दोषी हो त? यसका दोषी तिनै अकर्मण्य जनता हुन्, जो आफ्नो दिमागमा कुनै जोड नपरोस् भन्नमा मात्र तल्लिन रहन चाहन्छन् । त्यो सडकझैँ‌ नेपालको वर्तमान दुर्दशामा हामी नेपालीहरूको चिन्तनहीनता नै मुख्य दोषी मान्नु पर्छ । लहडमै कसैले हिँडेको पद चिन्हलाई आदर्श राजमार्ग हो भन्दै हामी आएका हौँ । बिग्रेको नेपाललाई कस्तो नवनेपाल बनाउने भन्ने चिन्तन अहिलेसम्म पनि शुरु भएको नदेखिनु दुःखदायी परिस्थिति हो । नेपालीहरू सुदूर विगतमा निकै कर्मप्रिय थिए भनिन्छ । कथित शिक्षित हुँदै गएपछि तर्कप्रिय मात्र बन्दै गयौँ । कुरो र कुलो जता लगे पनि हुन्छ । हामीले कुराको आधारमै विकास भइहाल्छ भन्ने भ्रममा शताब्दीऔं समय खेर फाल्यौँ‌, मौका गुमायौँ‌, चुक्यौँ।

सत्रौँ शताब्दीतिर पश्चिमा महाद्विपमा ज्ञान, विज्ञान र प्रविधिको तीव्र विकास शुरुभई औद्योगिकीकरण हुँदै गर्दा हामी यहाँ पेट पाल्न पाए पुग्छ भन्ने मानसिकतामा बाच्दै थियौँ । विश्वभरि राजतन्त्रात्मक शासन भएको बेला राजा पृथ्वीनारायण शाहले सयकडौं राजा रजौटाहरूमा विभाजित तात्कालिन नेपाली भूगोललाई एकीकरण गरेर वर्तमान बृहत् नेपाल बनाए । तर, सत्ताधारीहरूका निमित्त एकीकृत नेपाल सत्ताको साधन हुनुबाहेक जनताले यसबाट फाइदा लिनसक्ने परिस्थिति त्यसपछि कसैले सृजना गरेनन् । १०४ वर्षको राणाशासनले नेपाललाई अझै अध्यारोमा पार्दै लग्यो । भारतको स्वतन्त्रता आन्दोलन दबाउने कार्यमा नेपालका राणा शासकहरूले नेपाल राष्ट्रको स्रोतको दुरुपयोग गर्दै अंग्रेजको सेवा गर्दै आफ्नो सत्ता टिकाए । त्यसकारणले नै त भारतमा अंग्रेजको शासन ढल्नासाथ नेपालमा अंग्रेजका अन्धसमर्थक राणाशासन ढलेको हो ।

त्यसपछिको करिब ५५ वर्ष विकासको नारामा नै सीमित रह्यो । नेपालमा प्रजातन्त्र आउदासँगसँगै स्वतन्त्र भएका भारत, पाकिस्तान, श्रीलंकाले औद्योगीकरण, प्रविधिकरणका लागि वैज्ञानिक, प्राविधिज्ञ र इन्जिनियरहरूलाई त्यहाँको नेतृत्वले भरपूर प्रयोग गर्‍यो । विश्वमा अहिले भारत सार्वजनिक क्षेत्रमा बृहत् वैज्ञानिक अनुसन्धान संस्थाहरूको सबैभन्दा ठूलो पूर्वाधार सञ्जाल भएको शक्तिशाली मुलुक हुन पुगेको छ । अन्तरिक्ष विज्ञानमा भारत अग्रणी राष्ट्र बनिसकेको छ । दर्जनौँ जति दुरसञ्चार, सूचना, हावापानी, शिक्षा क्षेत्रका भूउपग्रहहरू दिनहुँ पृथ्वीमाताको चक्कर काट्ने गर्छन् । रविन्द्रनाथ टैगोर, सीभी रमन, हरगोविन्द खुराना, सुब्रमन्यम चन्द्रशेखर, अमर्त्य सेन, भीएस नाइपाल, मदर टेरेसाजस्ता भारतीयहरूले नोबेल पुरस्कार हात पारिसकेका छन् । ४० वर्ष मात्रै अघि जन्मेको बंगलादेशमा नै अर्थशास्त्री युनुश महम्मदले लघुकर्जाको सुविधाबाट गरिबतम् जनताको आर्थिक समृद्धि कसरी सम्भव हुदो रहेछ भन्ने ३० सौ वर्षको सफल व्यवस्थापनको नवप्रवर्नतका निम्ति शान्ति नोबेल पुरस्कार पाएका छन् । युनुस भन्छन्, ‘गरिबहरु विश्वासयोग्य हुन्छन्, तिनीहरूप्रति भरोसा गर्नु नै तिनको जमानी हो ।’ ठूलाऋणी कतिका विश्वाशिला हुँदा रहेछन्, नेपालका ठूला ठालु ऋणीहरूले नेपालका बैंक र वित्तीय संस्थाहरु डुबाउने गरेको घटनाले पनि पुष्टि गर्दै आएको छ ।

नयाँ नेपाल बनाउने कुरा सुन्दा जति ढाडस लिन खोजिए पनि वैज्ञानिक, प्राविधिक एवं संयन्त्रगत पूर्वाधार, भरपर्दा, प्रभावकारी एवं दक्ष जनशक्तिको नितान्त अभाव रहेको वर्तमान भ्रष्टतन्त्र व्याप्त नेपालमा त्यो कसरी कहिलेसम्म सम्भव हुने हो, चिन्तन गर्दा मन सिरिङ्ग र समस्या देख्दा आङ जिरिङ्ग हुन थाल्छ । प्रतिभावान, दक्ष, राष्ट्रप्रेमी नागरिकविना मुलुक बन्दैन । यस्ता सुयोग्य नागरिक तयार गर्न दशकौं लाग्छ, भएकाहरू सबैजसो मुग्लान पसिसकेका देखिन्छन् । तिनलाई देशभित्रै टिकाउन वा स्वदेश फिर्ता बोलाउन दह्रो नीति र स्वतन्त्र, स्वाभीमानी कार्यवातावरण सहितको संयन्त्र चाहिन्छ । यसका लागि राजनीतिमा मात्र हैन, प्रत्येक क्षेत्रमा नेताहरु जन्मनु पर्छ, जन्मेको र नेतृत्व लिन थालेको हुनपर्छ ।

निकै बिग्रेको उच्च रक्तचापसहितका मधुमेहको रोगीजस्तो भएको छ अहिलेको नेपाल । शरीर जीर्ण एवं बुढो छ, दम पनि छ । रक्तचाप र चिनीको परिमाणले सीमा नाघेको बेला व्यक्तिलाई कुनै आकस्मिक शल्यक्रिया गर्नुपर्दाको अवस्थाजस्तो छ । चिनी र रक्तचाप स्थिर नभई शल्यक्रिया गर्न हुँदैन । जुन पायो त्यही औषधी खान, दिन हुँदैन । नेपाली कहिले पराधिन भएनौँ तर स्वाधीन भएर बाच्न पनि सिकेनौँ । प्रत्येक क्षेत्रमा विदेशी पैसा, विचार, संस्कार, चिन्तन, हैकम हावी छ । रोग प्रतिकार गर्न सक्ने राज्यको क्षमता नितान्त कमजोर छ । चतुर नेपालीहरु नेपालमा तिर्थाटनका लागिमात्र बसेजस्तो देखिन्छ । तिनले आफ्ना सन्तान र सम्पत्ति जतिसबै सुरक्षित ढंगमा विदेशमा भण्डारण गरिसकेका छन् । शासन भन्ने कुनै कुरा रहलपहल छैन, भगवान भरोसामा छौँ । तर, शान्तजस्ता पनि देखिन्छौँ । त्यो किनभने नेपालीले आफ्नो भविष्य यस भन्दा खराब हुने सोच्नै सक्दैन । भूईंमा लडेकाहरुलाई अरु लड्ने ठाउ नै कहा बाँकी हुन्छ र !

विगतको भताभुङ्गको जिम्मा कसैले लिदैन । पुरानै असफल कबाडी नेताहरूलाई अझै मानिदिनु पर्ने बाहेक कुनै विकल्प देखिएको छैन । आफैले बिगारेर यो अवस्थामा पुर्‍याउने अनि, त्यही बिग्रेको कुरालाई यथास्थानमा ल्याइयो भनेर महान उपलब्धिपूर्ण काम गरियो भन्ने ढ्वाङ फुक्दै एवं स्वाङ गरिँदै छ । यसले जनतामा आशा जगाएको छैन ।

बाच्छो हिँडेको बाटो राजमार्ग हुने अपेक्षा गर्नु मूर्खता हो । त्यस्तो राजमार्गलाई सत्तोसराप गरेर समय खेर फालेर फाइदा छैन । नेपालको समृद्धिको राजमार्ग सीधा, छिटो, सस्तो, सजिलो, सहज कसरी बनाउने यसमा बहस केन्द्रित गर्न पट्टि लाग्न ढिला भइसकेको छ । समय अनन्त र निरन्तर त हुन्छ, तर मानव र राष्ट्रका लागि सीमित पनि छ । समय सबै वस्तुहरूभन्दा तीव्र नासवान वस्तु हो, प्रयोग गरेन कि नास भइहाल्छ । इतिहासमा नेपालको अमूल्य समय खेरमात्र फालिएको छ, फालिदै छ । अब खेर फाल्ने छुट पाइँदैन ।

राष्ट्रको मेरुदण्ड भनेको विज्ञान, प्रविधि, इन्जिनियरिङ क्षमता हो । जलश्रोत, युवाशक्ति, पर्यटन र जैविक विविधता, जडिबुटी नेपालको बहुमूल्य एवं गुदीस्रोत हुन् । जे गुदीस्रोत हामीसँग छ, त्यसमा नेतृत्व लिन सक्नुपर्छ । बेरोजगार जन्माउने वर्तमान उदार प्रकृतिको बेकामे शिक्षा प्रणालीलाई जिल्ला जिल्लामा स्थान सुहाउँदो प्राविधिक, वैज्ञानिक, इञ्जिनियरिङ शिक्षाको विकासले तीव्र एवं व्यापक तबरमा प्रतिस्थापित गरिहाल्नु पर्छ । यसका लागि वैज्ञानिक एवं प्राविधिक शिक्षाको बृहत् सञ्जाल विस्तार गर्न योग्य प्रतिभावान जनशक्तिलाई राज्यले सम्मानपूर्वक आह्वान गरी नेतृत्व लिन उत्साहित पारिहाल्नु पर्छ ।

नेपालका निम्ति समस्या भयावह छ, चुनौती पनि त्यस्तै छन् । राष्ट्रको औचित्य प्रमाणित गर्न धौधौ पर्दै गएको छ । आत्मनिर्भर बन्न सकेमा मात्र आत्मसम्मान पाइन्छ । आत्मसम्मानले मात्र नेपालीले शीर ठाडो पार्न सक्छ । गुमेको आत्मसम्मान र आशाहीनता पुनर्स्थापन गर्नु आजको टड्कारो खाँचो हो । समृद्धिको कठीन मार्गमा सबैलाई हिँड्ने प्रेरणा आशावादीताले नै सृजना गर्नेछ । तर्कप्रेमी नेपालीलाई कर्मकर्तव्यप्रेमी बनाउने बुटी खुवाउने जिम्मेवारी आजको राजनीतिको हो । राजनीतिको नाकमा नत्थी लगाउने काम विद्वान र निस्वार्थ स्वतन्त्रताप्रेमी बस्तुवादी बुद्धिजीवी एवं प्राज्ञहरूको हो ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३० श्रावण २०७८, शनिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: