दमनको मनोविज्ञानमा शिक्षक


शान्तिराम नेपाल – ‘शिक्षकको नेतृत्वमा चुनाव गराउन जाँदैनौँ ।’ यो अभिव्यक्ति नेपालको निजामति सेवामा तत्काल कार्यरत एक खरिदारको हो । जो एउटा डटपेन किन्न नसकेर स्टोर तर्फ दगुर्छ र खातामा नाम चढाउँछ । त्रुटि भयो, हामीले केही भनेनौँ बरु त्यही खरिदार काम लाग्छ भनेर उल्टो अपमान सह्यौँ । नेपालका शिक्षकहरुको पटक पटक मानमर्दन गरेका यस्ता धेरै घटना छन् । यो प्रतिनिधि घटना मात्र हो ।

मान्छेको आ–आफ्नै पेसागत हैसियत हुन्छ । किसान, व्यापारी, शिक्षक, निजामति, सेना, प्रहरी यस्तै यस्तै पेशाभित्र पनि फरक फरक हैसियत हुन्छ । हरेकले प्राप्त गरेको हैसियत प्रति आम मानिसको भिन्न भिन्न हेराइ पनि हुन्छ । समाजका हरेक सदस्यलाई हेर्ने नजर एउटै हुँदैन । एक किसानलाई अर्को फरक व्यक्तिले हेर्ने र बुझ्ने धराणा फरक फरक बनाएको हुन्छ । निम्न, मध्यम र उच्च स्तरको किसानहरुले त्यही स्तर अनुकूलको हैसियत आर्जन गरेको हुन्छ । एक किसान परीश्रमी छ, मेहनतको कमाइमा रम्छ, आफ्नै उत्पादन खान्छ, त्यसैमा रमाउँछ, सामान्य लगाउँछ, सामान्य जीवनशैली अपनाउँछ, उसलाई सुख छ । यसैकुरालाई नजर बदल्यो भने त्यो किसान झत्तो छ, आफ्नो खेती किसानीमा सास फाल्न खोज्छ, मुन्टो जोतेर काम गर्छ, फोहोरी छ, पसिनै पसिना गन्हाउँछ, न मीठो खान्छ न त राम्रो नै लाउँछ, ऊ दुःखी छ ।

यसैगरी व्यापारीलाई हेर्ने र बुझ्ने धारणा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ । त्यो व्यापारीले सेवा प्रदान गर्छ भनेर सोच्ने कि ठगेर खान्छ भनेर व्याख्या गर्ने रु हेराइ आ–आफ्ना हुन्छन् । त्यसैगरी समाजको संरचनाले तयार गरेको हरेक वर्गलाई हामी कसरी हेर्छौँ र अरुलाई कसरी जानकारी दिन्छौँ रु त्यही हेर्ने नजर र उसले गरेको सञ्चारले अरु व्यक्तिमा पनि सही वा गलत धारणा बन्ने गर्छ ।

व्यक्तिलाई हेर्ने र बुझ्ने दृष्टिकोण समयको गतिसँग बदलिँदो रहेछ । म शिक्षकलाई हेर्ने नजर समयको गतिसँगै बदलिएको पाउँछु । समाज निरक्षर हुँदा, तमसुक र मुचुल्का लेख्ने व्यक्ति नहुदा, चिठी कोरिदिने कोही नहुँदा शिक्षक समाजका लागि अति आवश्यक थियो । समाजको अन्धकारलाई चेतनाको दियो बनेर प्रकाश छरेको बेला शिक्षक आदरणीय थियो । त्यसबेला शिक्षक विद्यार्थीका लागि शिक्षक त छँदैथियो, ऊ कानुनबेत्ता भएर समाजमा खडा हुन्थ्यो, न्यायमूर्ति बनेर न्याय प्रदान गथ्र्यो, चेतनाको ज्योति छथ्र्यो, शोषण र उत्पीडनको प्रतिकार गर्न सिकाउँथ्यो । अन्यायप्रति प्रतिवाद गर्न सिकाउँथ्यो । विद्यार्थीलाई ज्ञान दिने काम त छँदै नै छ तर आज समाज प्रतिको हिजोको दायित्व घटेको छ । हिजोको समाजमा शिक्षकले प्राप्त गरेको त्यो हैसियत आज प्राप्त गर्न सजिलो छैन । समाज निकै अघि बढिसकेको छ । राजनीतिक र सामाजिक रुपमा हरेक व्यक्ति सचेत र सजग भइ सकेको स्थिति छ । समाजको गतिशीलता सँगै शिक्षकले आफूलाई परिवर्तन गरिरहेको देखिन्छ ।

समाजको एउटा वर्गले शिक्षकलाई सामान्य, कामचोर, अल्पज्ञानी, आर्थिक रुपमा कमजोर, हैसियत विहीन, पक्षपाती भनेर हेर्ने गर्छ । तर अर्को वर्ग पनि छ, उसले शिक्षकलाई बराबबुरा भन्छ, सरकारले प्रदान गरेको कम सेवा सुविधामा बाँचेको छ, परीश्रमको फल खान्छ, भ्रष्ट छैन, नैतिक रुपमा पतित छैन, अध्ययनशील छ, ज्ञानी छ, पथप्रदर्शक हो, परीवर्तनलाई आत्मसात् गर्छ भन्छ ।

व्यवहारिक रुपमा हेर्ने हो भने एक शिक्षकले कसैलाई काखापाखा गर्दैन । कुनै पनि विद्यार्थी कमजोर होस् त्यो शिक्षक चाहँदैन । सर्काएर होस् वा थर्काएर होस् सबै विद्यार्थीलाई सक्षम, दक्ष र प्रतिभावान बनाउन सकियोस् भन्ने शिक्षकले चाहेको हुन्छ । सिकाइ उपलब्धि राम्रो आओस् भन्ने चाहना हरेक शिक्षकमा हुन्छ । शिक्षकको केन्द्रविन्दुमा विद्यार्थी नै हुन्छन् । आजका शिक्षकका साथमा हिजोका जस्ता इमान्दार विद्यार्थीहरु छैनन् । हिजोका विद्यार्थीले शिक्षकलाई गर्ने व्यवहार र आजका विद्यार्थीले शिक्षकलाई गर्ने व्यवहारका बीचमा आकाश पातालको फरक छ । हिजो त्यही विद्यार्थी शिक्षकलाई उच्च आदरका साथ हेर्दथ्यो तर आज उही विद्यार्थीले शिक्षकलाई साथीको रुपमा हेर्न थालिसकेको छ । भिन्न भिन्न हेराइका बीचमा शिक्षकको वास्तविकता फरक छ । शिक्षकले उत्पादन गरेको विद्यार्थी नेतृत्वमा पुग्यो भने वा प्रशासनिक निकायमा पुग्यो भने शिक्षक आफ्नो उत्पादनमा गर्व गर्छ तर त्यही विद्यार्थी उक्त शिक्षकका लागि शासक वा प्रशासक हुँ भन्ने दम्भ गर्छ । माध्यमिक तहको प्रथम श्रेणीको शिक्षक जसको पदीय हैसियत सह सचिव सरह हुन्छ, उसले निजामतिको खरिदारसँग झुक्नुपर्ने स्थिति कसरी सिर्जना भयो रु यो विभेदको मानसिकता राज्यले सिर्जना गरेको हो ।

एक अपरिचित व्यक्तिलाई आफू शिक्षक हुँ भनेर परिचय दिँदा जाबो शिक्षक भनेर हेर्ने मानसिकता विकास भइसकेको छ । शिक्षक हुनुमा गर्व गर्ने उपयुक्त वातावरण छैन । उपसचिव, सहसचिव सचिव त के रु एक खरिदार, सुब्बा, वा अधिकृत भन्दा जुन आत्मसम्मानको बोध हुन्छ त्यो आत्मसम्मान शिक्षक हुँ भन्नुमा प्राप्त हुँदैन । शिक्षकलाई हेर्ने नजर समाजको एक व्यक्तिको होइन आम व्यक्तिमा सिर्जित दमनको मनोविज्ञान हो । यो दमनको मनोविज्ञानले शिक्षकको आत्मसम्मानमा ठेस पु¥याउँछ । नेपाल सरकारको उही स्केलको तलब भत्ता खाने शिक्षक र निजामतिको हैसियतमा आएको भिन्नताको कारण खोज्नु मात्र हैन समाधान खोज्न जरुरी छ ।

सरकारले चार जना कर्मचारीको हाकिम बनाउँछ, पियन (भान्से), ड्राइभर दिन्छ, गाडी दिन्छ, इन्धन देखि लिएर क्वार्टर समेतको व्यवस्था गर्छ । तर हजारौँ विद्यार्थी पचासौँ शिक्षकहरुको एक प्रधानाध्यापक तोकिन्छ । उसलाई न भान्से छ न त ड्राइभर नै । गाडीको त कुरै नगरौँ, इन्धन, अतिथि सत्कार, क्वार्टर केही हुन्न । विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन पाउँदैन । बाह्य सहयोग प्राप्त हुँदैन । सरकारले प्रशासन सञ्चालनका लागि नाममात्रको रकम निकाशा गर्छ । प्रधानाध्यापकको भत्ता उल्लेख गर्न लजाउनु पर्ने गरी सरकारले निकाशा गर्छ । तलब भत्तालाई निजामतिका समान बनाएँ भनेर अन्य कुराहरुमा जुन विभेद गरिन्छ त्यही विभेदले शिक्षकमा दमनको मनोविज्ञान सिर्जना भएको छ ।

शिक्षकका पनि विभिन्न तह र श्रेणीहरु छन् । तह अनुसारको सरकारी सेवामा समायोजन गर्दै जाने हो भने शासक वा प्रशासकले गर्ने विभेदको मानसिकता न्यून हुन सक्छ । अनिमात्र दमनको मनोविज्ञान अन्त्य हुन्छ । यसका लागि सरकार, नेता र नेतृत्वमा चासो देखिएन । अब सारा शिक्षकले आफूहरुलाई सार्वजनिक सेवामा समायोजनका लागि माग राख्नुपर्दछ । के निजामति सेवामा रहेर दर्ता, चलानी, टिप्पणी आदेश, लेखा तथा प्रशासनका काम गर्ने सम्मको कुशलता शिक्षकसँग छैन रु फाइलिङ गर्न, अभिलेखीकरण गर्न, नियम, निर्देशिका अनुसार काम गर्न र गराउन शिक्षकले सक्दैन रु विद्यालय एक सरकारी शिक्षण संस्था हो, त्यहाँ निजामतिले गर्ने सरह नेपाल सरकारले तोकेको प्रशासनिक काम कारवाही हुने गर्छ । शिक्षकले निजामतिसरह काम गर्न सजिलै सक्छ तर कतिपय निजामतिलाई शिक्षकको काम गर्न फलामको चिउरा चबाउनु सरह हुन्छ । शिक्षक निजामतिका काम गर्न जान्दैन भनेर अपमान नगरियोस् । अब शिक्षकलाई विशेष प्राविधिक सेवा बाहेक निजामति सेवामा पदस्थापनको प्रयास गरियोस् ।

एक अपमानित शिक्षकले अन्तर मनबाट असन्तुष्टि पोख्यो भने बौद्धिक भनिएका सरकारी अड्डामा पदासिन व्यक्तिहरु जुन पेशाले खुशि दिँदैन त्यो पेशबाट निस्कनुपर्छ भन्ने गैरजिम्मेवार तर्क राख्दछन् । शिक्षकमाथि गरिने अपमानको मुख्य स्रोत त्यही हो । एक शिक्षकले शिक्षण छोडेर सन्तुष्टि नखोजोस् बरु शिक्षण पेशामा रहेर सन्तुष्टि प्राप्त गरोस् । यसका लागि सरकारलाई दवाव सिर्जना गर्नु, नीति नियममा परिमार्जन गर्नु, निजामति सेवामा समायोजन गर्न र अरु सरकारी सेवा सरह सेवा र सुविधा उपभोग गर्न पाउने वातावरण सिर्जनामा तमाम शिक्षकहरु उभिन आवश्यक छ ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी ?

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: