![](https://www.asiasanchar.com/wp-content/uploads/2021/05/sabitri-rai-greenwood-nepal-and-mechi-multiiple-college-asia-sanchar-1024x536.jpg)
सिजल पोखरेल, काठमाडौं, ३० वैशाख – चार्ल्स डार्बिनले भनेका छन्, ‘सबै जीवित प्राणीप्रति प्रेमभाव राख्नु नै मानिसको सबैभन्दा महानतम् गुण हो।’ विश्व प्रसिद्ध विद्वान डार्बिनको यो भनाई जीवन र जगतसँग जोडिन पुग्छ।
जीवनका सम्पूर्ण आयामहरू यही प्रकृतिसँग जोडिन पुग्छन्। त्यसैले त संसारका महानतम् अभियन्ताहरूका हरेक आवाज, लेख, शोध र अवधारणाहरू प्रकृति संरक्षणका लागि हुन्छ।
कतिले त प्रकृति संरक्षणलाई आफ्नो जीवन दर्शन बनाएका हुन्छन्। नवीनतम् अध्ययन, अन्वेषण र वस्तुनिष्ठ सत्यको खोज केवल प्रकृतिबाट मात्रै सम्भव छ।
वातावरण विज्ञानकी विद्यार्थी–अध्येता एवं शिक्षणमा संलग्न रहँदै आएकी झापाकी सावित्री राई पनि प्रकृति संरक्षणका लागि सक्रिय छिन्। नेपाली वन–जंगलप्रति उनको ‘प्रेम’ छ। त्यहाँ रहेका जीवप्रति उनको अगाध माया छ।
सावित्री भन्छिन्, ‘समाज बन्यो, शहर बन्यो, सबै भौतिक सुख–सुबिधा प्राप्त भए, तर प्रकृतिमा रहेको अनुपम सुन्दरतालाई कहिल्यै अन्य भौतिकताले जित्न सक्दैन।’
सावित्रीको अभियानमा अर्को सफलता
सावित्री राई वातावरण विज्ञानमा स्नातकोत्तर हुन्। र, उनी ग्रीनहुड नेपालमा आबद्ध ‘नेपाल संरक्षण अनुसन्धान फेलो’ हुन्। सावित्री अहिले झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा शिक्षण सहायकको जिम्मेवारीमा कार्यरत छिन्।
यसैबीच, सावित्रीको प्रकृतिसँग सम्बन्धित अध्ययनले एउटा खुट्किलो थप्ने अवसर प्राप्त गरेको छ। बेलायतस्थित दी रफर्ड फाउण्डेशनले सावित्रीलाई प्रकृति संरक्षणको क्षेत्रमा काम गर्नका लागि ६ हजार पाउण्ड प्रदान गरेको छ।
सावित्रीको अनुसन्धान रामेछाप जिल्लाको गुम्देल र चुचुरेमा रहेका स्कूलमा अध्ययनरत विद्यार्थीहरूको संरक्षण र शिक्षाको प्रभावकारिता कार्यान्वयन र विश्लेषणमा आधारित रहेको छ।
दी रफर्ड फाउण्डेशनले च्यारिटीको रुपमा दिएको ६ हजार पाउण्ड अर्थात् झण्डै ९ लाख ९४ हजार नेपाली रुपैयाँ सावित्रीले पाएकी हुन्।
![](https://www.asiasanchar.com/wp-content/uploads/2021/05/sabitri-rai-greenwood-nepal-and-mechi-multiiple-college1.jpg)
‘रफर्ड फाउण्डेशनले अति कम विकसित मुलुकहरूमा प्रकृति संरक्षणको क्षेत्रमा काम गर्नेहरूका लागि आर्थिक सहायता प्रदान गर्दछ, शिक्षा र व्यक्तिगत क्षमता अभिबृद्धिका लागि सञ्चालित परियोजनामा खर्च गर्न सकिने छ,’ सावित्रीले भनिन्।
दी रफर्ड फाउण्डेशनले तहगत रुपमा आर्थिक सहायता प्रदान गर्दै आएको छ। सावित्रीका अनुसार रफर्ड फाउण्डेशनले ६ हजार पाउण्डदेखि शुरु गरेर विभिन्न चरणमा काम गर्दै जाँदा अधिकतम् १५ हजार पाउण्डसम्म आर्थिक सहायता प्रदान गर्ने छ।
विश्वभरिका अति कम विकसित देशमा प्रकृति संरक्षणको अनुसन्धानको क्षेत्रमा कार्यरत (प्राणीशास्त्र, वन र वनस्पतीशास्त्र) स्नातकोत्तर र विधिवारिधि गर्ने विद्यार्थी तथा शोधार्थीहरूका लागि उक्त आर्थिक सहायता प्राप्त हुन्छ। सावित्रीले नेपालमा वन र वन्यजस्तुको संरक्षणबारे सचेतना र प्रभावकारिताको विषयमा खोज, अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न उक्त आर्थिक सहायता पाएकी हुन्।
रेडपाण्डाको अध्ययन गरिने
सावित्रीले दी रफर्ड फाउण्डेशनमार्फत् पाएको आर्थिक सहायता एशियाली देशहरूमा मात्रै पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) बारेको अध्ययन र संरक्षण सचेतनासम्बन्धी कार्यमा खर्च गर्ने छिन्।
‘गौचरण, फडाँनी र सडक निर्माणका क्रममा हिमाली क्षेत्रमा पुगेको क्षतिले रेडपाण्डा जोखिममा पर्ने गरेको अध्ययनहरूबाट पुष्टि भएको छ,’ प्रकृति संरक्षण अभियन्ता सावित्रीले भनिन्, ‘रेडपाण्डाको संरक्षणका लागि गतिविधि बढाउने, स्थानीय सरोकारवालाहरूसँग परामर्श गर्ने तथा विद्यार्थीहरूलाई पनि शिक्षा दिनेगरी परियोजना बनाएकी छु।’
दी रफर्ड फाउण्डेशनको २० वर्ष पहिले स्थापना भएको ‘रफर्ड ग्य्राण्ड’ले विश्वभरिका एक सय ५० भन्दा धेरै देशमा सक्रिय ५१ हजारभन्दा धेरै प्रकृति संरक्षणसम्बन्धी परियोजनाका लागि च्यारिटी स्वरुप ३० मिलियन पाउण्ड आर्थिक सहायता प्रदान गरेको छ।
दी रफर्ड फाउण्डेशनले प्रकृति संरक्षणको क्षेत्रमा समर्पित हुने चाहना बोकेका संरक्षण वैज्ञानिक र शोधकर्ताहरूलाई आरम्भिक पेशागत उत्थानका लागि आर्थिक सहायता प्रदान गर्दै आएको छ।
प्रतिक्रिया