Logo

विचार

नेपाल पत्रकार महासंघ चुनाव : नेता होइन, एउटा कर्मशील नेतृत्व चुनौं


१८ चैत्र २०७७, बुधबार


‘विपुल दाइका बारेमा केई लेख्दैनस् बे…!’

त्यसले फेरि सिकाउन छोडेन। सायद कहिलै छोड्दैन।

‘केई फिलिङ्स छैन…।’

सायद उता उसको हातमा पनि थियो, यता मेरो घाँटीमा चियाको घुट्कोले पोल्यो।

उ लामो हाँसो हाँस्यो।

त्यो हाम्रो पत्रकारिताको एउटा ‘नोस्टाल्जिक’ फिचर थियो– ‘भक्कानिए… भक्कानिइन्…’ वाला स्टाइल।

हाम्रा फिचरका पात्रहरू। दु:खले रापिएका पात्रहरू। हामीले कुद्ने अक्षरहरूमा अहिले पनि त्यस्तै पात्रहरू ‘भक्कानिन्छन्’।

उ यस्तै फिलङ्सका बारेमा सोच्दै थियो सायद।

उ अर्थात् देवेन्द्र बस्नेत।

अस्ति नुहाउँदै गर्दा फोन गर्यो। उठाएँ। भनेँ– नुहाउँदै छु…।

हाँस्दै फोन राख्यो। बाथरुमबाट निस्किँदा त स्टाटस हानिसकेछ– गजेले नुहाउँदैछु भन्यो। खुसीको सिमै रहेन।

उ यस्तै गर्छ। मेरा सबै साथीहरू यस्तै भन्छन्। म छु नै त्यस्तै।

कहिलेकाहीँ नयाँ लुगा लगाएँ भने, उनीहरू भन्छन्– काँ जान लागिस्।

‘अरे यार। मसँग एकै जोर लुगा हुन्छ। एउटा च्यातिएपछि मात्रै अर्को किन्छु। त्यो दिन मेरा लागि ‘दसैं’ हुन्छ।’

तर, म यो कसैलाई भन्दिनँ।

देवेन्द्र दाङमै छ। रेडियोमा बोल्छ। पत्रिकामा लेख्छ। अनलाईन चलाउँछ।

म काठमाडौं छु। उसले दाङ छोडेन। मैले छोडेर हिँडे।

विपुल पोखरेल पनि दाङमै बस्छन्। अहिले पत्रकारहरूको ‘चुनाव’ लड्न ‘काठमाडौं’ आएका छन्।

देवेन्द्रलाई पत्रकार बनाउने विपुल पोखरेल नै हुन्। म (गजेन्द्र) लाई पत्रकार बनाउने पनि उनै विपुल पोखरेल नै हुन्। ‘लौकी’का जंगलबाट खोजेर विपुल पोखरेलले धेरै ‘गोठाले’ देवेन्द्रहरूलाई पत्रकार बनाएका छन्।

‘हापुर’का ‘ऐलानी’ डाँडाकाँडा चहारेर धेरै गजेन्द्र बोहराहरूलाई विपुल पोखरेलले पत्रकारिताको ‘लालपूर्जा’ थमाइदिएका छन्।

र, त मजस्ताको जीवनमा पत्रकारिता अब ‘कित्तावाल’ भएको छ। हो मेरो जमिन नै पत्रकारिता हो। मेरो सम्पत्ती नै लेखन हो, मेरा अक्षर हुन्। मेरा शब्द हुन्। मेरो ‘लालपूर्जा’ मैले काम गर्ने मिडिया हो। बस् मेरो सब थोक यिनै हुन्। सायद, हामी भुँइमान्छे वर्गका पत्रकारका लागि।

विपुल पोखरेलको काठमाडौंमा घर छैन। त्यसैले उनी काठमाडौंका हैनन्। उनी दाङमा एउटा पत्रिका चलाउँछन्। बाउ–बाजेले जोडिदिएको जमिनको एउटा टुक्रा बेचेर उनले पत्रिका अनि प्रेस किने।

६० साले त्यो ‘कालो–सेतो’ अक्षर छापिने गोरक्ष दैनिकलाई अझै अरु रंग घस्न सकेका छैनन्।

तर, पनि घिसिघिसी लागिरहेकै छन्। उनी त्यही गोरक्षका ‘सम्पादक’ हुन्। त्यसैले उनी काठमाडौंका ‘एलिट’ श्रमजिवी पत्रकार होइनन्।

कैयौ ‘प्रेस पासवाला’ पत्रकार छन्। कोही ‘सल्लाहकार’ पत्रकार छन्। कोही ‘एनजिओ’ पत्रकार छन्। कोही ‘आइएनजिओ’वाला पत्रकार छन्। कोही ‘संयोजक’वाला पत्रकार छन्। कोही ‘पढाउने’ पत्रकार छन्। कोही ‘व्यापार’वाला पत्रकार छन्। उनीहरू सबै भ्याउँछन्, पत्रकारिता पनि भ्याउँछन्। केही छोड्दैनन्।

अहो! कस्तो श्रम गर्न सक्या। त्यस्ता पो, श्रमजिवी।

विपुल पोखरेल त एउटै पत्रिका चलाउँछन्। जाबो चार पन्ने पत्रिका भर्न त कति बेर लाग्छ र, कति नै श्रम गर्नपर्छ र? त्यो पनि दाङको पत्रिका, काठमाडौंको होइन। त्यसमा पनि ‘ब्यल्याक एण्ड ह्वाइटवाला।’

मुला चारपन्ने पत्रिका निकालेर आफूलाई श्रमजिवी भन्ने!

त्यसैले विपुल पोखरेल श्रमजिवी पत्रकार होइनन्।

माओवादीसँग लड्न छोडिएका नेपाली सेना घरमाथि बसेर बन्दुक तेर्स्याउँदा तेर्स्याउँदै उनले २०५८ सालमा, त्यो पनि घोराहीमा रेडियो बजाउने हिम्मत गरे।

बीच बजारको एउटा घरमा ‘रेडियो स्वर्गद्वारी’को टावर ठड्याए।

त्यही रेडियोमा आफू बोले। त्यही रेडियोमा जनताका आवाज बोले।

धेरै पत्रकारका कलम खोसिए। धेरैका आवाज खोसिए।

तर, पनि विपुल पोखरेलहरू बोल्न छोडेनन्। रेडियो बजाउने घरमा सेनाले ताला लगाइदियो। तर पनि विपुल पोखरेलले मुख थुनेनन्।

बरु सडकमै बसेर रेडियो बजाए। सडकमै बसेर बोले। डगमगाएनन्। डराएनन्। रोकिएनन्। चुप लागेनन्।

‘माओवादी!’ भनेर सेनाले निमोठ्न थालेका पत्रकारहरूलाई बचाउन ज्यानकै बाजी थापे। ‘सरकारको सिआइडी’ भनेर माओवादीले लगेका पत्रकारहरू खोज्न धेरै जंगल चहारे। बन्दुक बोकेका माओवादीसँग कलम चलाएर लडे।

सेनासँग लड्ने! माओवादीसँग निउ खोज्ने!

त्यसैले कतिपयको नजरमा विपुल पोखरेल श्रमिजिवी पत्रकार होइनन्।

उनी त नेता हुन्। पत्रकार महासंघमा उनी ‘व्यावसायिक पत्रकारिता’का कुरा गर्न होइन, दलको ‘गोटी’ भएर जाँदैछन्।

‘कृष्णप्रसाद भट्टराई’हरूले जन्माएको पत्रकार महासंघमा घुस्न खोज्नेहरू फेरि अहिले ‘व्यावसायिक’ पत्रकारिताको कुरा गरिरहेका छन्। ‘श्रमजिवी’ पत्रकार खोजिरहेका छन्, आफैंलाई छोडेर।
अरे यार देवेन्द्रे!उनीहरूलाई सम्झान्नस् बे!

पत्रकारिता तिम्रो मिडियामा गर्ने हो। पत्रकारिता तिम्रो अनलाईनमा गर्ने हो। पत्रकारिता तिम्रो रेडियोमा गर्ने हो। पत्रकारिता तिम्रो पत्रिकामा गर्ने हो। पत्रकारिता तिम्रो टेलिभिजनमा गर्ने हो।
महासंघमा थोडि पत्रकारिता गर्ने हो!

अनलाइनका शब्द–शब्दमा राजनीति गर्ने। टेलिभिजनका हरेक ‘शो’मा राजनीति गर्ने। पत्रिकाका हरेक ‘कोलम’मा राजनीति गर्ने। रेडियोका प्रत्यक आवाजमा राजनीति गर्ने। अनि उनीहरू नै भनिरहेछन्– विपुल पोखरेलहरू श्रमजिवी हैनन्। विपुल पोखरेलहरू व्यावसायिक भएनन्।

हो, दशतिर दगुरेर विपुल पोखरेलले पत्रिकामा ‘काम’ गरेनन्। एउटामात्रै पत्रिका चलाइरहे, एकैठाउँ बसिरहे। त्यसैमा घोटिइरहे। त्यसैले उनी श्रमजिवी भएनन्?

हो, दशथरि धन्दा अनि व्यवसाय चलाउनकै लागि उनले पत्रकारिताको ‘लाइसेन्स’ लिएनन्र लिएका पनि होइनन्। कसैलाई दिएनन् र दिँदैनन् पनि। त्यसैले उनी ‘व्यावसायिक’ पत्रकार भएनन्?
बालै फरर… दाजी!

विपुल पोखरेल जसका लागि जे सुकै होउन्।

पत्रकारिता गर्नेका लागि उनी ‘कर्मजिवी’ हुन्। पत्रकारिता कर्म गर्ने पत्रकारका लागि उनी ‘कर्मशील’ हुन्।

मेरा प्रिय पत्रकार,

आउनुस् नेता होइन, एउटा कर्मशील नेतृत्व चुनौं।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: