विश्वस्तरीय वैज्ञानिक अनुसन्धान र निर्माण नेपालमै गर्न सकिन्छ: महावीर पुन (भिडियो अन्तरवार्ता)


कोरोना प्रकोपले विश्व नै आक्रान्त भयो। नेपालमा पनि लामो समयसम्म लकडाउन गरियो। सबै क्षेत्र ठप्प रहँदा जनस्वास्थ्यको क्षेत्रमा अध्ययन र अनुसन्धानको विषयमा बहस भयो। तर, कार्यान्वयनको तत्परता सरकारले देखाएन। यद्यपि, कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अनेक सम्भावनाको खोजीमा जुटिरह्यो। कोरोना प्रकोपमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादन गरी निःशुल्क वितरण र अन्य स्वास्थ्य सामग्रीको उत्पादनलाई सम्भव तुल्याइयो। अहिले पनि अनेक किसिमका अनुसन्धान र आविष्कारको प्रयास केन्द्रमा भइरहेको छ। यिनै गतिविधिमाथि केन्द्रित रहेर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग गरिएको कुराकानीः

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना महामारीलाई दृष्टिगत गर्दै पिपिई र अन्य स्वास्थ्य सामग्री निर्माण गरेपश्चात अहिले अध्ययन अनुसन्धानका के–कस्ता कार्य भइरहेका छन्?

–राष्ट्रिय आविस्कार केन्द्रले लकडाउन शुरुभन्दा अगाडि विभिन्न किसिमको ३० वटा अनुसन्धानमा काम गरिरहेको थियो। यहाँ भाइबहिनीहरूले विभिन्न किसिमका अनुसन्धान गरिरहेका थिए। लकडाउन शुरु भएपछि हाम्रो ध्यान कोरोनातिर मोडियो। कोरोना भाइरस नेपाल आइसकेको अवस्थामा अस्पतालका डाक्टरहरूको सुरक्षाका लागि कुनै पनि सामग्री नभएका कारण उनीहरू आत्तिने अवस्था आयो। त्यसकारण विभिन्न अस्पतालका डाक्टरहरूले नै राष्ट्रिय आविस्कार केन्द्रमा आएर केही सुरक्षाका सामान बनाउनुपर्‍यो भन्नुभयो। उहाँहरूकै डिजाइन र आइडियाका आधारमा हामीले त्यसको नमूना बनाएर देखायौं। त्यसपछि थप सुधार गरेर विभिन्न अस्पतालहरूलाई वितरण गरेको हो।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग गरिएको अन्तरवार्ता (भिडियो)

शुरुमा पिपिईको अनुरोध आएको थियो। त्यसपछि कोरोनाकै कारण विभिन्न आवश्यकता बढ्दै गयो। फेस सिल्ड, स्वाब संकलन बुथ, बिरामीको मुख चेक गर्दा सुरक्षाका लागि आवश्यक पर्ने बक्स, बिग्रेका इक्वीप्मेन्टहरू, मृतकको शव राख्न चाहिने बक्स, कोरोनाका बिरामी राखिएको अस्पतालमा खानेकुरा र औषधी लगिदिने रोबोट, डाक्टरहरूले प्रयोग गरेका मास्क, पिपिईलाई डिस्इन्फेक्सन गर्ने सामान, भेन्टिलेटरमा बिरामी राख्दा बिरामीलाई श्वास फेर्न गाह्रो भएकाले टाउकोमा राख्ने हुड आदि बनाउन हामीलाई अनुरोध गरिएको थियो। हाम्रोभन्दा पनि डाक्टरहरूकै आइडिया र डिजाइनबाट ती सामग्रीहरू तयार गरिएको हो। भेन्टिलेटरको निर्माण र परीक्षणका लागि नेपालबाहिरका डाक्टरहरूबाट पनि सहयोग पाएको छु। आइसियुमा बस्ने डाक्टरहरूको सुरक्षाका लागि अर्कै किसिमका सामग्रीहरू पनि बनायौं। अहिले हामीले १३ किसिमका सामग्रीहरु बनाएर वितरण गरिरहेका छौं।

कोरोना महामारीबीचमा विभिन्न आइडियाहरू आए होला? डाक्टरहरूले विभिन्न सामग्रीहरु निर्माणका लागि अनुरोध गर्नुभयो। तीमध्ये कति आइडियाहरू राष्ट्रिय आविष्कार केन्द्रबाट निर्माण गर्न सम्भव आइडियाहरू कति छन्?

–१३ किसिमका आइडियाबाट विभिन्न सामग्रीहरू बनाइयो। डाक्टरहरूले दिएको आइडिया र डिजाइनका आधारमा लगभग सबै सामग्रीहरू बनाउन सफल भयौं। ती आइडियाहरू गाह्रो वा बनाउन नसकिने थिएनन्। विदेशमा सुरक्षाका लागि कस्ता–कस्ता सामग्रीहरू बने, त्यस्तै किसिमका सामग्रीहरू बनाउने भनेर नेपाली डाक्टरहरूका तर्फबाट आइडिया आए। प्रायः सबै सामग्रीको निर्माण सफल भयो। एउटा सामग्री बनाउन अलि गाह्रो भइरहेको छ, त्यो भेन्टिलेटर हो। अर्को अक्सिजन कन्सन्ट्रेसन हो, अक्सिजन सप्लाई गर्ने। यी दुई अलि हाइटेक सामान भएकाले अलि गाह्रो भएको हो। अनुसन्धानमा हामी मात्रै छैनौं। विदेशी अनुसन्धानकर्तासँग मिलेर काम गरिरहेको हुनाले नसकिने भन्ने छैन।

कोरोनाका कारण विश्व नै संकटमा थियो। तर, आविष्कार केन्द्र नवीनतम् आविस्कारमा लाग्यो। त्यो अवस्थामा देश–विदेशबाट कस्ता सहयोग प्राप्त भए?

–लकडाउन भनेपछि सबै कुरा ठप्प भए। अस्पताल बाहेक सरकारी कार्यालय, स्कूलहरू बन्द भए। कतिपय प्राइभेट अस्पताल पनि सञ्चालन भएनन्। हामी लकडाउन भनेर घरमा बसेनौं। राष्ट्रिय आविष्कार केन्द्रमा जुन अनुसन्धान गरिरहेका थियौं, यहीँ सीमित भएर बसेर काम गरेका हौं। यसरी हामीले गरेको काम सोसल मिडियामा प्रचारप्रसार हँदै गयो। धेरैले के भइरहेको छ, भनेर थाहा पाए। नेपालीहरूले आफू जहाँ भए पनि आर्थिक सहयोग जुटाउन थाले। आर्थिक सहयोग मात्र नभएर अनुसन्धानका लागि चाहिने उपकरणसमेत जापान र अमेरिकाबाट पनि प्राप्त भयो। आर्थिक सहयोग अहिले पनि प्राप्त भइरहेको छ।

गतसाता युके फ्रेन्स् अफ एनआइसी नेपाल गठन भएको छ। विशेषगरी बेलायत र संसारभर रहेका नेपालीहरूको यस्तो प्रयासबाट राष्ट्रिय आविष्कार केन्द्रलाई कस्तो प्रोत्साहन र सहयोग प्राप्त भइरहेको छ?

–पहिलो कुरो राष्ट्रिय आविष्कार केन्द्रमा यो राष्ट्रको हो। यो ‘महावीर आविस्कार केन्द्र’ होइन। राष्ट्रका लागि जनताद्वारा निर्माण गरिएको हो। स्थापना भएपछि यसको विकास र प्रवर्द्धन गर्नु सारा नेपालीको कर्तव्य हो। अब त्यो कर्तव्य हृदयबाट सोच्नुपर्छ। कसैले आफ्नो कर्तव्य ठान्दैन भने सहयोग नगरे हुन्छ। राष्ट्रका लागि चालिएको कदम हो। नेपालजस्तो आर्थिक रुपमा विपन्न देशका लागि यो अभियान राम्रो छ भन्ने लाग्छ भने यसलाई सहयोग गर्ने हो। व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरिरहेका छन्। क्लब, अस्पताल, एनजिओ आदिले सहयोग गरिरहेका छन्। आविष्कार केन्द्रकै लागि भनेर छुट्टै अभियान नै सञ्चालन भइरहेका छन्। अमेरिकामा यसलाई सहयोग गर्न संस्था नै बनाएका छन्। हालै बेलायतमा बस्ने सोसाइटी अफ नेप्लिज इञ्जिनियरहरूसहित अन्य संस्थाहरूको सक्रियतामा युके फ्रेन्स् अफ एनआइसी नेपाल भनेर खोल्नुभएको छ। मनैदेखि आँटेर स्वेच्छाले खोल्नुभएको हो। देश विकासका लागि कसरी सहयोग गर्न सकिन्छ त्यसको उपाय खोजेर सहयोग गर्ने हो। मैले आविष्कार केन्द्रलाई सहयोग गर्न अभियान चलाइदिनु पर्‍यो भनेर कसैलाई भनेको छैन। भन्दैनौं पनि। जतिले सहयोग गरिरहनुभएको छ, त्यो स्वेच्छाले गर्नुभएको हो। इच्छा र आविष्कार केन्द्रको अभियान मन परेमा सहयोग गर्नुहोस्। मन परेन भने नगर्नुहोस्। करकापमा केन्द्रलाई सहयोग नगर्नुस् भन्छु म।

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको पिपिई व्यवसायिक रुपमा प्रवर्द्धन गर्ने सम्भावना कति देख्नु भएको छ? ठूला औद्योगिक उत्पादन हुने सम्भावनाको खोजी, बजारीकरणको सम्भावना कतिको छ?

–पहिलो कुरा, आविष्कार केन्द्रले महामारीका बेला उत्पादन गरेका १३ किसिमका सामग्रीहरू व्यावसायिक प्रवर्द्धनका लागि होइनन्। यसलाई बनाएर हामीले बिक्री गरेको होइन। सबैलाई निःशुल्क बाँडेको हो। महामारीको समय मौका छोपेर पैसा कमाउने समय होइन। राष्ट्रिय आविष्कार केन्द्र पैसा कमाउनका लागि खोलिएको संस्था होइन। त्यसकारण यस अवधिमा बनाइएका सामग्रीहरू व्यवसायिकीकरणका लागि र बिक्रीका लागि होइन। भोलिका दिनमा महामारी सकिएपछि हामीले विकास गरिरहेको भेन्टिलेटरको व्यवसायिकीकरण होला भन्ने अनुमान गरिएको छ। अर्को अक्सिजन कन्सन्ट्रेटर भनेर हावाबाट अक्सिजन लिएर बिरामीलाई अक्सिजन दिने सिस्टम हुने रहेछ। त्यो बनाउन सकियो भने त्यसको पनि व्यवसायिकीकरण हुन्छ। किनभने अक्सिजन कन्सन्ट्रेटर कोरोनाको समयमा मात्र होइन कि अरु समयमा पनि काम लाग्छ।

महामारी सकिएपछि यसको व्यावसायिकीकरण हुनसक्छ। धेरैले कुरा नबुझेर यसरी निःशुल्क रुपमा बाँड्नु हुँदैन भनिरहेका छन्। किन निःशुल्कमा बाँडेको, सित्तैमा बाँड्यो भने नेपालीले दुरुपयोग गर्छ भन्ने कुरा धेरै मान्छेले गुनासो गरेका छन्। त्यसको उत्तरमा मैले बारम्बार के भनिरहेको छु भनेँ, अहिले कोरोनाको महामारी भएको बेला सामान वितरण गर्ने क्रममा जनताहरूले त्यो सामान बनाएर वितरण गरिदिनु भनेर दान गरिरहेका छन्। अब पैसा त दान गर्नेले दिइरहेको छ। कसैले पैसा दिएर सामान बनाई वितरण गर्नु भनेपछि फेरि त्यही सामान पैसा लिएर वितरण गर्नु जायज हुँदैन। नैतिकताले पनि दिँदैन। अर्को कुरा हामीले जनताले पैसा दिँदादिँदै व्यावसायिकीकरण गरौं, यसलाई दुई चार पैसा कमाउँ भनेर पैसाको लोभमा बिक्री वितरण गरेको भए जनताले यसरी सहयोग पनि गर्ने थिएनन्। व्यावसायिकीकरण गरेको भए दान गर्ने जनताको चित्त दुख्छ। अरुको चित्त दुख्ने काम त गर्न भएन नि। जो मान्छेले मलाई यसलाई निःशुल्क बाँड्नु हुँदैन, व्यावसायिकीकरण गर्नुपर्छ भन्छ, सायद ती मान्छेले आफूले चाँहि दान गरेको छैन।

जनस्वास्थ्यको क्षेत्रमा र वैज्ञानिक अध्ययन अनुसन्धानको क्षेत्रमा कोरोना महामारी कोशेढुंगा बन्न सक्छ भन्ने बहस जारी छ। यो परिवेशमा विश्वविद्यालयहरूको जिम्मेवारी कस्तो हुनुपर्छ?

–विश्वविद्यालयहरू अवस्था हेरेर अघि बढ्ने हो। महामारी सर्ने रोगजस्तो भयो। पठनपाठन हुने विश्वविद्यालय, स्कूल कलेजहरू बन्द भए। गर्नैपर्ने पनि थियो। कुनै महामारी आउला र यस किसिमले नसर्ने भयो भने त्यो बन्द नगर्दा पनि हुनसक्छ। महामारीहरूलाई कसरी रोकथाम गर्ने भन्ने कुरामा विश्वविद्यालयले अनुसन्धान गरेर समस्याको समाधान खोज्नुपर्ने हो। नेपालमा प्रायजसो विश्वविद्यालयमा त्यस्तो किसिमको अनुसन्धान गर्ने र समस्याको समाधान खोज्ने श्रोत र वातावरण छैन। नेपालमा विश्वविद्यालयहरूमा त्यस्तो श्रोत र वातावरण नभएकाले एक्कासी महामारी शुरु भएसँगै केही हुन सकेन।

नेपालमा निर्मित प्रविधिले विदेशी प्रविधिसँग प्रतिस्पर्धा गर्ने स्थितिमा कहिले पुग्ला? त्यसका लागि राज्यले नीति, आर्थिक स्रोत र जनशक्तिको व्यवस्था कसरी गर्न सक्छ?

–राज्यले मात्र गर्ला, र सबै कुरा होला भनेर हामीले हेरेर बस्ने होइन। धेरैले अहिले राज्यले गर्नुपर्ने राज्यले गरेन भनेर राज्यलाई गाली गर्ने चलन छ। जनताको दिमागमा नेपालमा केही बनायो भने विदेशीको तुलनामा सस्तो पनि बन्दैन राम्रो पनि बन्दैन भन्ने कुराले जरो गाडेको छ। केही वस्तुहरू नेपालमै बनाउँदा पनि सस्तो पर्छ। कुन–कुन वस्तु नेपालमा बनाउँदा सस्तो र राम्रो हुन्छ भनेर अनुसन्धान गर्न पर्‍यो नि। अनुसन्धान नगरी नेपालमा बनाएको चिज राम्रो हुँदैन, सस्तो पनि हुँदैन भनेर अनुमान गर्न भएन। पिपिई बनाउने क्रममा पनि नेपालमा कहाँ बन्छ पिपिई भनेर स्वास्थ्य विभागको मान्छे र डाक्टरहरूले पनि भनेका हुन्। तर, हामीले बनायौं। बनाएपछि डाक्टरहरूले हेरे, लगाए सन्तुष्ट भए। पिपिई बनाउने जुन खर्च छ, त्यसमा हेरौं न। सरकारले विदेशबाट पिपिई ल्याएर वितरण गरेको पनि थियो। ती पिपिई २–३ हजारमा ल्याएको भन्ने सुनिन्छ। त्यही क्वालिटीको पीपीई हामीले बनाउँदा ८ सय देखि ९ सयमा बन्यो। सस्तो पनि भयो राम्रो पनि भयो।

आविष्कार केन्द्रमा हामी कफी भुट्ने मेसिन बनाउँदै छौं। टर्कीमा काम गरेर आउनुभएको एक जना भाइले यो काम गर्दैछन्। यहाँ आएर बनाएर मैले यसका बारेमा जानकारी दिएँ। मान्छेहरूले आएर हेरे। कफी पनि ल्याएर भुटे। गुणस्तर पनि हेरे। उनीहरूले यो एकदम राम्रो छ भने। क्वालिटी विदेशीको जस्तै छ भनेर प्रतिक्रिया दिए। यस्तै मेशिन विदेशबाट ल्याउँदा १८–२० लाख लाग्छ। यहाँ जम्मा ८ लाखमा बिक्री गर्न सकिन्छ। उही क्वालिटीमा सस्तो भयो नि त। केन्द्रमा बेबी वार्मर बनाएर वितरण गर्दैछौं। त्यही बेबी वार्मर युरोपबाट ल्याएको लाखभन्दा बढी पर्दोरहेछ। भारत र चीनबाट ल्याएको ८०–९० हजार। त्यो चिज हामीले ४० हजारमा तयार गर्न सक्छौं। नाफा राखेर बेच्दा पनि ६०–६५ हजार आउँछ। ग्राहकलाई सस्तो पनि भयो, राम्रो पनि भयो। नेपालमा जति पनि वस्तु बनाइरहेका छौं, त्यसको सर्भिस पनि सस्तो हुन्छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: