Logo

आर्थिक

…अनि कुलमान घिसिङ बने जनताका वास्तविक हिरो!


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं, ११ भदौ – कुलमान घिसिङ। नेपालीहरूका लागि सर्वप्रिय यो नामसँगै जोडिएर आउँछ, उज्यालो साँझ। ‘उज्यालो साँझ’ अर्थात् लोडसेडिङको अन्धकारयुक्त दैनिकीको अन्त्य।

उज्यालोका पर्याय घिसिङलाई धेरै नेपालीले धेरै नामले पुकार्छन्। कतिसम्म भने एकछिन विद्युत आपूर्ति बन्द भएमा ‘कुलमान दाइ जानुभयो’सम्म भन्ने गरेको र कतिले त सामाजिक सञ्जालमा पोस्ट नै गर्ने गरेका छन्।

निष्पट्ट अध्यारोलाई सघन उज्यालो प्रदान गरेर कुलमान घिसिङ नेपाली नागरिकका लागि आइडल बने।

उज्यालोका पर्याय घिसिङ झट्ट हेर्दा सामान्य, सरल, शालीन र नम्र व्यक्तित्व अर्थात् ‘कुल म्यान’। तर, घिसिङको चामत्कारिक र आक्रामक कामले गर्दा नै १८ घण्टा लामो लोडसेडिङ अन्त्य भयो।

फलस्वरुप अहिले कुलमानकै कारण ‘तमसोमा ज्योतिगर्मय’ भनेझैँ देश अँध्यारोबाट उज्यालोतर्फ अघि बढेको छ। घिसिङ कुनै कुराको तुरुन्तै प्रतिक्रिया पनि दिँदैनन्।

कसैलाई बढी रिझाउने वा कसैलाई चित्त दुखाउने मेलोमेसो पनि मिलाइरहँदैनन् उनी। बस्, उनलाई काममा दत्तचित्त हुन पाए पुग्छ।

घिसिङको छलाङ र चामत्कारिक कामले उनलाई थुप्रै मानपदवी समेत मिल्यो। ऊर्जासंकट निवारणमा उल्लेख्य भूमिका निभाएको उल्लेख गर्दै सरकारले घिसिङलाई सुप्रवल जनसेवा श्री मानपदवीबाट सम्मान गरेको थियो। अन्य थुप्रै पुरस्कारबाट सम्मानित भए।

जुन समयमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त भएका थिए, त्यति बेला नेपालीहरूको दैनिकी लोडसेडिङ तालिकासँग अभ्यस्त थियो।

मोबाइलमा होस्, या सानो कागजको टुक्रामा, अफिसको भित्तामा टाँसिएको होस् या घरको बैठक कोठाको एउटा कुना कुनामा प्रत्येक नेपालीहरूसँग हुन्थ्यो लोडसेडिङ तालिका।

अनि यो समय यस्तो थियो, कसैले पनि सोचेको थिएन, नेपाल विद्युत् प्राधिकरणमा एक जना व्यक्ति आयो भने यस्तो चामत्कारिक काम होला भन्ने लागेको थिएन।

घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि बिजुलीसँग सम्बन्धित कामहरू हतारहतारमा गर्ने बानी नेपालीको हट्यो, मोबाइल र अन्य डिभाइस चार्ज गर्ने समयतालिकाको पर्खाइ हुन छाड्यो, अनि घर घरमा जोडिएका इन्भर्टरहरू थन्क्याइए।

यो एउटा यस्तो मोड थियो, नेपाली इतिहासमा जसको कसैले कल्पना गरेकै थिएन। किनभने कुलमान आउनुअघि विद्युत् प्राधिकरणका नेतृत्वले हप्तैपिच्छे बिजुलीको माग बढेको बताउन थालेका थिए, नयाँ–नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरिरहेका थिए।

कुलमान विद्युत् प्राधिकरणको नेतृत्वमा आए। त्यसपछि जे सोचिएको थिएन, त्यो भयो। कुलमानले त्यतिमात्रै गरेनन्, अर्बौं घाटामा चलिरहेको प्राधिकरणलाई हरियो ग्राफतर्फ अगाडि बढाए कुलमानले। अर्थात्, विद्युत् प्राधिकरणले नाफा कमाउन थाल्यो।

यसका लागि दुई आर्थिक वर्षको तथ्यांक हेरौं। आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो। प्राधिकरणको वार्षिक प्रतिवेदनको यो तथ्यांक ०७३/७४ को आर्थिक वर्षमा नै उलटपुलट भयो। र, यसको कारण बने– कुलमान। अनि कुलमान बने जनताका वास्तविक हिरो!

नाफामा प्राधिकरण

चार वर्षअघि प्राधिकरण घाटामा थियो। खर्च पनि जुटाउन नसकेर निरन्तरको घाटाले सञ्चित नोक्सानीमा भासिँदै थियो। आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ सरकारले व्यहोर्नुपरेको थियो।

आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा सञ्चित यस्तो घाटा फेरि ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा मात्र प्राधिकरणले ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

कुलमान नेतृत्वमा आएको वर्ष २०७३/०७४ मा प्राधिकरणले एक अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमायो।

आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८५ करोड, आर्थिक वर्ष २०७५/०७६ मा करिब ९ अर्ब ८१ करोड मुनाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा करिब ११ अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भयो, त्यसको श्रेय कुलमानलाई नै जान्छ।

विद्युत प्राधिकरणमा कुलमानको इन्ट्री

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर गरेका कुलमानले २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा शुरु गरेका थिए। उनी २०७१ असोजमा प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भए।

चिलिमे हाइड्रोपावर आयोजनामा उनले पाएको जिम्मेवारी र त्यसमा उनले गरेको योगदानबाट पहिलोपटक कुलमानले काम गर्नसक्ने सामथ्र्य भएको व्यक्तिको परिचय बनाउन थाले।

चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए।

सन् २००३ मा सम्पन्न भइसकेको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा थप प्रगति सोचेअनुरुप भएको थिएन। चिलिमे जलविद्युत कम्पनी त्यही २२ मेगावाट बिजुली बेचेर मात्रै बसेको थियो।

चिलिमे कम्पनीको जिम्मेवारी पाउँदा कुलमानले जनताकै शेयरबाट ठूला विद्युत् आयोजना बनाउन सकिने दृष्टान्त प्रस्तुत गरे।

रसुवाका जनतालाई चिलिमेको सेयरको हकदार बनाएका कुलमान विस्तारै त्यहाँका स्थानीयको मनमा बस्न सफल भए।

९ वर्षसम्म चिलिमेमा उत्पादित विद्युत बेचेर बसिरहेको कम्पनीमा उनले महत्वाकांक्षी चार परियोजना शुरु गरे। १११ मेगावाटको रसुवागढी, १०३ मेगावाटको भोटेकोशी–३, ४२ मेगावाटको साञ्जेन र १४ मेगावाटको माथिल्लो साञ्जेन योजना अघि सारेपछि कुलमान अझ फराकिलो सर्कलमा पुगे। सन् २०१७ सम्ममा यी परियोजना पूरा गर्ने लक्ष्य लिएका थिए उनले।

तर, २०७१ साउनदेखि लागू हुने गरी विद्युत् प्राधिकरण सञ्चालक समितिले चिलिमे जलविद्युत् कम्पनीबाट कुलमान घिसिङलाई हटायो। त्यसबेला प्राधिकरण सञ्चालक समितिको अध्यक्ष तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली थिइन्।

कार्यसम्पादन राम्रो नभएको भन्दै उनलाई चिलिमेको जिम्मेवारीबाट हटाइएको थियो।

चिलिमेको काममा असफल करार गरिएका कुलमानले त्यसपछिका दुई वर्ष जिम्मेवारी नै पाएनन्। विद्युत् प्राधिकरणको कार्यालयमा पुग्ने, हाजिर गर्ने र ‘चिया गफ’ गरेर फर्किन थाले कुलमान।

त्यस्तै क्रम चलिरहेको थियो, विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजिनामा दिए। अनि सरकारले काफ्लेको त्यो पदमा नियुक्त गर्‍यो कुलमानलाई त्यसपछि प्राधिकरणले पायो सफल नेतृत्व।

कुलमानको कार्यकाल सकिँदै, नयाँ नेतृत्वका लागि दौडधुप

कुलमानको कार्यकाल यही भदौ २९ गते सकिँदैछ। २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी शुरु भएको छ।

प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरूसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन्। कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट तीव्र बनाएका छन्।

सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन्। लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरूको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहार्‍याउन तयार रहेको घिसिङले बताउने गरेका छन्।

कोही छैनन् कुलमानका विकल्प

यही महिना कुलमानको ४ वर्षे कार्यकाल सकिँदै छ। अनि उनी फेरि त्यस्तै चर्चामा आएका छन्। जसरी उनले लोडसेडिङ हटाउँदा चर्चामा आएका थिए।

अनि यो चर्चामा आउँदा कलाकार, आम मानिस र सामाजिक सञ्जाल प्रयोगकर्ता भनिरहेका छन्– यो पदमा कुलमानको विकल्प कुलमान कोही छैन, उनलाई नै दोहार्‍याउनुपर्छ।

मंगलबार यो चर्चा र आकांक्षा, चाहना र इच्छा नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामा निकै देखियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुनः नियुक्त नै नगरी कुलमानलाई बधाई दिनेको ओहिरो लाग्यो, कुलमानलाई बधाई दिने रहर धेरैमा देखियो।

कुलमानको विषयमा मन्त्रिपरिषद् बैठकमा केही भएकै रहेनछ। ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबारे कुनै निर्णय मन्त्रिपरिषद् बैठकमा लगेकै रहेनछ। तर, विभिन्न अड्कलबाजीका आधारमा कुलमानलाई बधाई दिनेको ओहिरो नै लाग्यो।

किनकी आम नेपालीहरु कुलमान हटेपछि फेरि ‘अँध्यारा दिन’ आउने त होइन? भन्ने आशंका गर्छन्।

अहिले सामाजिक सञ्जालमा आम सर्वसाधारणदेखि विभिन्न तह र तप्काका व्यक्तिहरूले विद्युत प्राधिकरणमा अनिवार्य कुलमान चाहिन्छ भन्ने किसिमबाट जनदवाव दिइरहेका छन्।

त्यसरी लेख्नेमा चर्चित हास्य कलाकार हरिवंश आचार्यदेखि अन्य सर्वसाधरणसम्म छन्। आचार्यले मंगलबार आफ्नो फेसबुकमा कुलमान घिसिङको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरू धेरै छन्, तिनीहरूलाई खोजी-खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। उहाँको ऊर्जाले देशको ऊर्जा बढ्छ।’

त्यसैगरी अभिनेत्री करिश्मा मानन्धरले पनि घिसिङसँगको भेटमा खिचेको फोटो आफ्नो फेसबुक पेजमा राख्दै पोस्ट गरेकी छन्, ‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ।’

त्यस्तै आम सर्वसाधरणले कुलमानलाई घाटामा गएका अन्य संस्थानको नेतृत्वमा पठाउनुपर्छ भन्ने तर्क पनि गरेका छन्।

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको हो। ‘उज्यालो नेपाल’ बनाउने घिसिङ नेपालीका लागि वास्तविक नायक हुन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: