Logo

आर्थिक

अमेरिकी सुविधा सम्पन्न जीवनशैली त्यागेर नेपालमै व्यावसायिक बाख्रापालन



शिक्षा थपलिया, काठमाडौं, १० भदौ – धेरै युवालाई नेपालमा केही अवसर छैन भन्ने लाग्छ। त्यसैले अधिकांश युवा गाउँ बस्न चाहँदैनन्, शहर भित्रिन्छन्। शहरमा पनि अडिदैनन् विदेश भासिन्छन्। विदेशिनुका खास कारणहरु छन्। नेपाल बस्न नचाहनु वा नसक्नुका पनि खास कारणहरु छन्। खास गरी २०४६ सालमा पञ्चायती व्यवस्था फालेर बहुदल पुर्नस्थापना भयो। त्यसपछि विभिन्न कालखण्मा विभिन्न सरकारहरु गठन भए।

बहुदल आइसकेपछिको सरकारले नवउदारवादी अर्थनीति र निजीकरणलाई अंगिकार गर्दा गर्दै नेपालको आफ्नो भन्ने सबै कुरा सक्दै लगिएको छ भने नयाँ स्थापना गर्न सकिएको छैन। उद्योगधन्दा कलकारखानाहरु बन्द भएका छन्। जसमध्ये बाँसवारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट त्यसका केही उदाहरण मात्रै हुन्।

नेपालमा रोजगारीको अवसर पनि छैन। र, मानिसहरुले आफ्नो क्षमता अनुसार काम पनि पाउँदैनन्। उचित व्यक्तिले उचित काम पाउँदनन्। त्यसैले पनि प्रायः मानिसहरु बाहिर जान मरिहत्ते नै गर्छन्, त्यो पनि अमेरिका। यहाँ अमेरिकामा बसोबास गरिरहेकाहरु नेपाल फर्किन चाहन्छन् भन्दा अचम्म लाग्नसक्छ। सुविधा सम्पन्न अमेरिकी जीवन परित्याग गरी नेपाल फर्कने मानिसहरू त बिरलै छन्। त्यस्तैमध्येका एउटा उदाहरण बनेका छन् सुद्धोधन गाउँपालिका ६ रुपन्देहीका झलकराज अधिकारी।

अमेरिकाबाट फर्किएर व्यवसायमा

अमेरिका बसाईको ६–७ महिना नै उनलाई रमाइलोको साटो बिरक्त लाग्यो। नेपालीहरु जति सोचेर अमेरिकाको सपना देख्छन् त्यति अमेरिका सहज र सरल छैन। दुईवर्ष अघि उनले अमेरिकाको बसाई त्याग्ने विचार गरे। भन्छन् ‘नेपालमै आएर केही न केही गरौं भन्ने लागेर फर्किएको हुँ।’ ‘अमेरिकामा गर्ने जति दुःख र मेहेनत नेपालमै गरियो भने नेपाल पनि अमेरिकाको तुलनामा पुग्न समय लाग्दैन’ उनले आफ्नो दावी प्रस्तुत गरे। उनी आफ्नै गाउँमा फर्किए र बाख्रा पालन गर्ने सोच बनाए। अहिले उनको कामना बाख्रापालन फार्ममा दैनिकी बित्छ। पहिलो चरणमा करिब दश लाख रुपैयाँबाट बाख्रापालन व्यवसाय शुरु गरेका झलकको फार्ममा अहिले लोकल कुखुरा र माछा पनि देख्न सकिन्छ।

‘नेपालमै केही गरौं भनेर अर्गानिक फार्म चलाउन थालेको छु। अरुको देशमा जति पसिना बगाए पनि पैसा कमाउन मात्रै हो। विदेशमा जति स्वदेशमा पसिना बगायो भने देश त बन्छ। आउँदो पुस्ताले देशमै कृषिमा काम गर्नसमेत सिक्छन्’, उनले भने।

देशभन्दा प्यारो विदेश होइन। नेपालमा कृषि क्रान्ति हामी जस्ता युवा पुस्ताले नगरेर कसले गर्छ? भन्ने मान्यताले उनी नेपाल फर्किएका हुन्। नेपालले आर्थिक उन्नति कृषिबाट नै गर्न सक्ने उनको विश्वास छ। तर, राज्यले वातावरणचाहिँ बनाउनुपर्ने उनी बताउँछन्।

युवालाई कृषिमा लाग्न प्राेत्साहन गर्नुपर्छ

अर्कोतिर नेपाली युवा विदेशिदा गाउँको खेतबारी बाझिँदै गएका छन्। खेती किसानी गर्ने र मर्दापर्दा चाहिने मानिस यतिखेर गाउँमा छैनन्। तर, एउटा रोचक कुरा के देखिन्छ भने नेपालमा कामले पर्याप्त कामदार पाइरहेको छैन। यो यथार्थ धेरैलाई थाहा छ। यस तथ्यलाई देखेको नदेख्यै गर्ने र म्यानपावर अफिसतिर दौडिने युवाको लर्को देखिरहेका छौं। हरेक दिन झण्डै १५ शय भन्दा बढी युवा त्यसैगरी युवाहरु विदेशिएका छन्।

के सबै युवा यसैगरी विदेशमा मात्र सम्भावना देखेर उतै दौडिइरहेका मात्रै छन्? पढेर सानो तिनो काम गर्नुहुँदैन भन्ने युवाको संख्या धेरै छ । तर के सबै यही सोचमा रुमल्लिरहेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया जान मरिहत्ते गर्ने धेरै देखिन्छन् ।

अमेरिका जानु पहिला लामो समय अधिकारी नेपाल प्रहरी सेवामा आवद्ध भई देशको सेवामा थिए। सेवा निवृत्त भएपछि केही समय दैनिक उपभोग्य सामग्रीको पसल सञ्चालन गरेका झलकले काठमाडौंमा होस्टेल व्यवसायसमेत शुरु गरे। होस्टेलको जिम्मा श्रीमतीलाई छोडेर रहरै रहरमा अमेरिकातिर लागेका उनी ७ महिनाको बसाइपछि त्यहाँ बस्नै सकेनन् र नेपाल फर्किए अनि बाख्रा पालन व्यवसाय शुरु गरे। अहिले उनको फार्ममा जमुनापारी, बोयर र वित्तल तीन स्थानीय जातका ४५ बाख्राहरु छन्।

पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ ले होस्टेल लगायत अन्य व्यवसाय तहसनहस बनायो। तर, उनी बाख्रा फार्ममै रमाइरहेका छन्। ‘यहाँ छुट्टै आनन्द आउँछ’ उनले भने। बिहानदेखि दिनभर बाख्रा फार्ममा अनि कुखरा र माछाको हेरचाह गर्यो, आफ्नै माटोमा रमायो। उनको अनुभवमा घरपरिवार सँगसँगै बसेर पसिना बगाउँदा आउने आनन्द र अर्काको देशमा घोटिएर काम गरेकोमा आकाश-जमीनको फरक पाएका छन्।

अमेरिकामा रहँदा खासै कृषितर्फको जानकारीलाई ध्यान नदिएका उनका अनुसार अमेरिकीहरु आधुनिक प्रविधिको प्रयोगलाई बढी ध्यान दिने गर्दछन्। भने राज्य सरकारले समेत ठूलो मात्रामा जमीनको व्यवस्थापनदेखि कर छुट गरिदिएको हुन्छ र कृषिमा आकर्षण हुने गर्दछ। नेपालमा यस्तो छैन। उब्जाउ क्षेत्रमा शहर विस्तार गरिन्छ। गाउँघरका जमीन बाँझै छन्, युवा जनशक्ति रोजगारीको लागि विदेश भौतारिने अवस्था छ। कृषिमा आधुनिकीकरणका लागि सरकारको सहयोग न्यून रहेको छ। अनुदानका नाममा आएका सामग्रीहरुमा पहुँचवाला र नेताका आसेपासेहरुको हालीमुहाली छ। किसानले पाउनुपर्ने सहयोग पाउने अवस्था छैन। कृषि र पशु बीमाका लागि सरकारले सहयोग गर्नसकेको छैन।

उनी भन्छन् ‘नेपालको युवा जनशक्तिलाई प्रोत्साहन गरी प्राविधिक सहयोग र बजार व्यवस्थापनका लागि राज्यले कार्यक्रम ल्याउन सक्नुपर्दछ। यसो गर्न सकेमा कृषिप्रधान देश कृषिमा आत्मनिर्भर बन्नलाई समय लाग्दैन।’

‘नेपाली युवा विदेशिने रहर नभएर बाध्यता हो। अर्काको देशमा ४०-४५ डिग्रीको तापक्रममा श्रमको मूल्य विक्रि गरेर बिताउनुभन्दा आफ्नै मुलुकमा परिवारसँग हाँसीखुसी मेहेनत गर्दा नै आत्मसन्तुष्टी दिन्छ,’ उनले भने। परिवारका सदस्यहरुसँग फाममा रमाइरहेका उनले आवश्यकता अनुसार अन्य व्यक्तिलाईसमेत रोजगारी दिने गरेका छन्। ‘अहिले फार्म विस्तारको क्रममा भएकोले आफ्नै परिवारले सबै काम गरिरहेका छौं। आगामी दिनमा लगानी पनि बढाउँदै लैजाने र केही केहीलाई रोजगारी समेत दिने योजना रहेको छ।’ अधिकारी भन्छन्।

आम्दानीलाई अहिले अनुमान गरेको छैन जे जति हुन्छ यही फार्ममा लगानी गरिरहेको छु। यसलाई पूर्णरुपमा व्यवस्थित गरेपछि लेखाजोखा गर्ने हो। तर, ‘आफ्नो भूमिमा काम गर्नु पसिना बगाउनु, परिवारसँग रमाउनु भनेको जीवनको सबैभन्दा आनन्द आउने रहेछ।’ राज्यले प्राविधिक ज्ञान र युवालाई विषयगत तालिम दिइ प्रोत्साहन गर्ने हो भने देश समृद्ध हुन धेरै समय पर्खनु पर्दैन। म सबैलाई सीप सिकेर आफ्नै देशमा पसिना बगाउन प्रेरित गर्नुपर्दछ भन्छु। सरकारले युवा जनशक्तिलाई वैदेशिक रोजगारीको लागि निरुत्साहित गरी स्वदेशमै केही न केही गर्ने वातावरण तयार गरिदिनु पर्दछ। किसानलाई मलबिउमा सहुलियत, पशुपालकलाई घाँस, दाना र रोग उपचारका लागि प्राविधिक ज्ञान तथा बीमाको व्यवस्थापनमा सहयोग गर्नुपर्छ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल