Logo

समाचार

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि गरिँदै


३ भाद्र २०७७, बुधबार


काठमाडौं, ३ भदौ – आज राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेकोअन्त्येष्टि गरिँदै छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने छन्।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौं कपुरधारास्थित निजीनिवासमा निधन भएको थियो।

१ सय १ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो।

घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो। घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन्।

घिमिरेलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘छन्द शिरोमणि’को उपाधिबाट अभिनन्दन गरेका थिए।

त्यसको तीन दिनपछि घिमिरेलाई ‘राष्ट्रकवि’को रूपमा अभिनन्दन गरिएको थियो।

को हुन् माधवप्रसाद घिमिरे?

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् घिमिरे।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाएर नेपाली साहित्यको श्रीबृद्धिमा उनको अथक योगदान छ।

बहुमुखी आयामिक र बहुमुखी प्रतिभाका धनी घिमिरेले प्रकृतिका अनेकन विविध पक्षलाई आफ्ना जीवन्त रचनामा समावेश गरेका छन्।

र, जीवनलाई नै प्रकृतिसापेक्ष ढंगबाट व्याख्या गर्ने घिमिरेका हरेक कृति दीर्घसाधनाले भरिएका छन्।

वि.सं. १९९२ सालमै घिमिरेको कविता गोरखापत्रमा प्रकाशित भएको थियो। नवमञ्जरी वि.सं. १९९४, घामपानी वि.सं. २०१०, नयाँ नेपाल वि.सं. २०१३, किन्नर–किन्नरी कविता संग्रह वि.सं २०३३ मा प्रकाशित भएका छन्।

लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले तीन वर्षको उमेरमै आमालाई गुमाउनु पर्‍यो। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे।

११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा गाउँको संस्कृत पाठशालामा पढ्न थाले। त्यसपछि काठमाडौंको रानीपोखरीस्थित संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालामा अध्ययन गरे।

पढाईमा अब्बल घिमिरेले त्यहीबाट प्रथमा उत्तीर्ण गरेका हुन्। प्रथमापछि बनारस गए। र, घिमिरेले भारतको बनारसस्थित क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरे।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका हुन् घिमिरेले।

वि.सं. २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जिम्मेवारीमा नियुक्त भए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पद नियुक्त भए।

साथै, वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरेका घिमिरे २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहेर काम गरे।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षासेवा गरे।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो’ ‘आजै र राति के देखेँ सपना’ लगायतका दर्जनौं चर्चित गीत लेखेका छन्।

वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका घिमिरे मंगलबार यी सबै श्रेय छोडेर बिदा भए।

घिमिरेको काविक यात्रा नवमञ्जरीबाट वि.सं. १९९४ सालमा प्रकाशित भएपछि प्रारम्भ भएको हो। २००४ सालमा श्रीमती गौरीको निधन भएपछि राष्ट्रकवि घिमिरेले गौरी शीर्षकको शोककाव्य लेखेका थिए। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको शोककाव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।

राष्ट्रकवि घिमिरेका नवमञ्जरी, गौरीसहित गीतिनाटक मालती मङ्गले र हिमालपारि हिमालवारि तथा राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत लगायतका चर्चित कृतिहरू छन्।

राष्ट्रकवि घिमिरेले वि.सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए। साथै वि.स. २०७५ मा महाउज्ज्वल पदकबाट पनि घिमिरेलाई सम्मानित गरिएको थियो।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: