Logo

विचार

वाक विद्वानप्रति शिक्षकको आक्रोश


१२ जेष्ठ २०७७, सोमबार


शिक्षण पेशा एक इमान्दार र सम्मानित पेशा हो। यसमा आबद्ध प्रायः शिक्षकहरू आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अत्यन्त धेरै प्रतिवद्ध हुन्छन्। अहोरात्र आफ्नो कार्यक्षेत्रमा सक्रिय शिक्षकहरू सामाजिक सम्मानका भोका भएपनि त्यो स्थान न समाज न राष्ट्रले नै दिन सकेको छ। कतिपय अवस्थामा हामी शिक्षकहरु पनि चुकेका छौँ। तर, पनि सवल मानसिकतासाथ कार्य गरिरहेकाछौं। नाफा घाटाको गणितीय हिसाव कहिल्यै गरेनौं। नयाँ–नयाँ तरिकाबाट शिक्षण गर्न आधुनिक प्रविधिमा आफूलाई समाहित गराउँदैछौं। विषयगत तथा पेशागत दक्षता हासिल गर्न तालिम गोष्ठी तथा कार्यशालामा सहभागिता जनाइरहेका पनि छौं। शिक्षकहरू परम्परागत शिक्षण सिकाइमा सुधार ल्याउँदै विद्यार्थी केन्द्रित शिक्षण गर्न अभ्यासरत छन्।

विद्यालय तथा उच्च शिक्षण संस्थामा आउने विद्यार्थीहरु एकै परिवेशका हुँदैनन्। भिन्न भाषाभेष, रहनसहन, संस्कार–संस्कृति, परम्परा, धर्म, सम्प्रदाय, जातजातिबाट आएका विद्यार्थीहरूलाई समान रूपले शिक्षण सिकाइ गर्नु कम चुनौतीपूर्ण कार्य होइन। देख्दा सजिलो पेशा ठानिए पनि वास्तवमा आमव्यक्तिले सोचे जस्तो सजिलो पनि छैन। संयमता र शालिनता देखाउँदै निरन्तर शिक्षण गर्न आबद्ध शिक्षकहरुका बारेमा समय–समयमा अनर्गल प्रलाप गर्ने कार्य भइरहेकोछ।

पञ्चायत व्यवस्थादेखि दश वर्षे जनयुद्धको समयसम्म आइपुग्दा थुप्रै शिक्षकहरुको विभत्स र कायरतापूर्वक रूपले हत्या भएको छ। कतिले मानसिक तनाव र दवाव झेल्नुपर्ने कारणले पेशा नै त्याग्नु परेको तितो यथार्थ जग जाहेर छ। द्वन्द्वको बेलामा सबैभन्दा प्रताडित वर्ग नै शिक्षक हो। युद्धरत र राज्य पक्षको दोहोरो मारमा शिक्षक नै परेका थिए। यस्तो विषम परिस्थितिमा पनि आफ्नो कार्यक्षेत्रबाट पिठ फर्काएर भागेनन् शिक्षकहरू। द्वन्द्वको चरम अवस्थामा विद्यार्थी र विद्यालयको सुरक्षा गर्दै सदरमुकामको सुरक्षा घेराभन्दा टाढा विकट र असुरक्षित गाउँ र ठाउँमा डटेर खटेको एकमात्र वर्ग शिक्षक नै थियो।

पटक–पटक शिक्षक र शिक्षण पेशालाई नै अपमान गर्दै स्वनामधारी विद्वान भनाउँदाहरुबाट अनर्गल प्रलाप गरेको पाइन्छ। राज्यले दिएका निर्देशनहरुलाई आत्मासाथ गर्नु शिक्षकको धर्म हो। आफूचाहिँ माँखो नमार्ने तर शिक्षकलाई सँधै गाली गर्दै आफ्नो कद छोटो बनाउने विद्वानका वेमौसमका कुतर्क र बाह्रमासे सुझावप्रति मेरो ध्यान तानिएको छ। विभिन्न पत्रपत्रिका, भेला गोष्ठी आदिमा आफ्ना तुच्छ र घिनौना लेख तथा अन्तरवार्ता छापेर आफूलाई शिक्षा क्षेत्रको प्रकाण्ड पण्डित सम्झिने लवस्तराका कारण शिक्षा क्षेत्र वर्वाद, वदनाम र लथालिङ्ग भएको छ।

विश्व अहिले कोरोनाको कहरबाट गुज्रिरहेको छ। यो त्रासदी अवस्थाबाट हामी पनि अछुतो छैनौँ। गत चैत ११ गतेबाट सुरू भएको बन्दाबन्दीले निरन्तरता पाइरहेको छ। खोप तथा औषधीको अहिलेसम्म अत्तोपत्तो छैन। न त पिसिआर परीक्षण पर्याप्त गर्न सकिएको छ। सरकार आफ्नै चालमा र हामी जनता भनाउँदाहरु बन्दाबन्दीलाई हर्षोल्लासको रुपमा लिइरहेका छौँ।

यो त्रासदिपूर्ण अवस्थामा शिक्षक, विद्यार्थी र विद्यालयसँग सरोकार राखेर छलफल भएको कुरा सामाजिक सञ्जालमार्फत् थाहा भएको छ। शिक्षकले विद्यालयको पठन–पाठन रहरले बन्द गरेका होइनन् । विश्व बन्दाबन्दी को अवस्थामा छ । नेपालमा भने आफूलाई प्रा।डा।र शिक्षाविद लेख्ने केही महापण्डितहरूको अनर्गल राँडो रुवाइ देख्दा …लाई भन्दा देख्नेलाई लाज भने झै भएको छ। बेमौसमका कुतर्क कुबुद्धि निकाल्दै शैक्षिक क्षेत्रलाई भयावह र आतंकित बनाउने ध्येयमा महामहिमहरू हात धोएर लागेको देख्दा हातालाई भन्दा जाँतालाई सकसक हो कि जस्तो लाग्न थालेको छ।

वार्षिक परीक्षा सकिएलगतै सुरू भएकको बन्दाबन्दीका बेलामा पनि शिक्षकहरू घरैमा बसेर कपी परीक्षण, प्राप्ताङ्क संकलन, छलफल र नतिजा प्रकाशनको तयारी गर्दै व्यस्त रहे र वैशाखमा नतिजा प्रकाशनपछि गरिने कार्यमा निरन्तर खटेका थिए। आँखाले देखिने यी सबै कार्यप्रति नजरअन्दाज गर्ने प्रयास गरिएको छ।

दश वर्षे जनयुद्ध अवधिभरि मरिन्छ कि भन्ने डरले थरथरि खुट्टा कमाएर कोठाभित्र सीमित महापण्डितहरू कोरोना कहरमा ढोकाका कापबाट पनि भाइरस छिर्छ कि भनी मास्क लगाउँदै र सेनिटाइजर छर्किदै धुमधुम्ती कोठाभित्र लुकेर बस्ने अनि शिक्षकहरुलाई घर–घरमा पठाएर पढाउन लगाउनु पर्छ, शिक्षकले विद्यालय नखोलेकाले बालबच्चामा नकारात्मक असर परेको छ, अभिभावक चिन्तित बनेका छन्, सित्तैमा घर बसेर तलव खाइरहेका छन्, शिक्षक र प्राध्यापक अहिले सुतेर बसेका छन्, अझ मरेर बसेका छन्, जस्ता भ्रमका खेती लगाइरहेका छन्। यस्ता सस्ता कुरा उरालेर शिक्षकहरुको मनोबल कमजोर बनाउने र अपमान गर्ने अधिकार यी कामचोर ठेकेदारहरूलाई न संविधानले दिएको छ न २०२८ को शिक्षा नियमावलीले दिएको छ। त्यसोभए यो रुवाइ र बर्बराहटको नाटक मञ्चनको किन जरुरत ठानियो?

नामको अगाडि प्रा.डा. वा शिक्षाविद लेख्ने केही अराजक भीडले दुरदराजका कुन–कुन विद्यालय,विश्व विद्यालयमा बहाल रहँदाको बखतमा वा आफ्नो व्यक्तिगत प्रयास र लगानीबाट आमूल पविर्तन ल्याए? वहाँ महोदयहरूले जिम्मेवारी पाएका क्याम्पसमा कति दिन जिम्मेवार भएर कक्षा लिए? कि वर्षौ वर्ष क्याम्पसको मुख नहेरी लाज पचाएर तलव मात्र खाए? ती क्षेत्रमा कति योगदान दिए? भरपर्दो कति जनशक्ति उत्पादन गरे? त्यो जनशक्तिले देशको कुन क्षेत्रको विकासमा इटा थपे? यी प्रश्नको फेहरिस्त राखेर सुझाव दिएको भए स्वीकार्य हुन सक्थ्यो किनकि गरेर देखाउनेको अनुभव स्वीकार्नु पर्छ।

शिक्षाका यस्ता धमिरे वाक विद्वानहरुले शिक्षकलाई दुर्वचन बोल्ने कुचेष्ठा गर्नु हुँदैन। राज्यमाथि आइपरेका हरेक अप्ठ्याराहरूमा खुट्टा थरथरी कमाउँदै सुरुवाल बिगार्ने हदसम्मका लाज पचेकाले अर्ती उपदेश नदिएकै राम्रो हो।

शिक्षकहरूलाई मान सम्मान दिन नसक्ने सरकार, पार्टीका नेता, स्थानीय सरकारप्रति पनि मेरो आक्रोश छ। वरियताक्रम, सेवा सुविधाका हकमा समेत शिक्षक शब्द उच्चारण नगर्ने शासकबाट थप के आश गर्न सकिन्छ होला र! त्यस्मा पनि शिक्षकसँग आबद्ध पेशागत संस्थाहरु त झनै कान नै नसुन्ने र नदेख्ने भएकाछन्। यो बन्दाबन्दीका बेलामा विभिन्न कोणबाट शिक्षकमाथि भइरहेका आक्रमणका विरुद्धमा चुइक्कसम्म नबोल्ने शिक्षकका पेशागत संस्थाप्रति पनि खेद प्रकट गर्छु।

शिक्षकलाई इज्जत गर्न नसक्ने कसैलाई पनि शिक्षकको बेइज्जत गर्ने अधिकार छैन। प्रायः शिक्षकहरु कसैको निगाह र दया मायामा नियुक्त नभएर आफ्नो योग्यता र क्षमतामा विश्वास गरेर शिक्षण संस्थामा प्रवेश गरेका हुन्। त्यसैले यो अनर्गल प्रलाप गर्नुको सट्टा कार्य क्षेत्रमा जुटेर काम गरेर देखाउ होइन भने बर्बराउन बन्द गर।

अब त शिक्षाविद भनाउँदाका कटु शब्दहरूको प्रयोगमा शंका उत्पन्न भएको छ। कतै जति धेरै शिक्षकको विरोधमा उफ्रियो त्यति नै धेरै पारिश्रमिक–भत्ता पाउँछन् र उफ्रिएका हुन् कि! नभए महामहिमहरुको के बिगारेका छन् शिक्षकहरुले? शिक्षक मर्दा श्रद्धासुमन व्यक्त गर्न त कहाँ हो कहाँ उल्टै मरेको शिक्षकलाई पनि छोडेनन् गाली गर्न। कति अराजक र अमानवीय सोचको विकास भएछ शिक्षाविद भनाउँदाहरूमा। मलाई त लाग्न थाल्यो यिनीहरूले पनि महाराजले लगाएको पारदर्शी रेशमी कपडा लगाएर गाउँ चोक घुमे जस्तै गर्दैछन् वेसरमहरू!

हामी शिक्षकहरू विद्यालय खोलेर पठनपाठन गर्न गराउन तयार छौँ। तर त्यसबाट उत्पन्न हुने विकराल अवस्थाको जिम्मेवारी यी वाक विद्वानहरुले लिन्छन् त? भाइरसबाट सिर्जित यो परिस्थितिका कारण प्रायः शिक्षकहरु चिन्तित छन्। प्रधानाध्यापकलाई फोन गरेर अब पठनपाठन कसरी सञ्चालन गर्ने, पढाई सबै बर्बात भयो, पाठ्यपुस्तक कसरी वितरण गर्ने चिन्ता व्यक्त गरिरहेका छन्। भौतिक दूरी कायम राख्दै सकेसम्मको कार्य विद्यालयमा भइरहेका छन्। अभिमान र घमण्डले धमिलिएका आँखाले अनि कहाँ देख्न सक्नु पीडा र चिन्ता।

आफूले दिएका सल्लाह सुझावको पनि मूल्य असुल्नेहरुले शिक्षकले घर बसेरै सुविधा लिएका छन् भन्ने दुष्प्रचार किन गर्नु? हामी शिक्षकहरू, महान विचारक विद्वानहरूको कुरा मान्न पनि तयार छौँ। जाउँ कोरोना संक्रमितको संख्या जहाँ बढी छ त्यही गएर पठनपाठन सुरू गरौँ। तर, महामहिमहरु अगाडि लाग्नुपर्‍यो हामी जस्तै खट्नु पर्‍यो। शिक्षक समस्यासँग डराएर भाग्दैन, बरु सामना गर्छ त्यो हिम्मत र साहस छ महामहिमसँग? कोठे केही विद्वानहरुलाई मेरो प्रश्न छ। हैन भने हामी हाम्रो जिम्मेवारी पूर्ण रूपले बहन गर्न सक्षम छौँ। हामीलाई तिम्रा बोक्रे सल्लाह सुझावको आवश्यकता छैन र हामी तिम्रा रैती पनि होइनौँ आदेश जस्तो देखिने कुतर्क पस्किनु पर्दैन। महावीर पुन, सन्दुक रुइत, अनुराधा कोइराला, कुलमान घिसिङ जस्ता होनाहार नेपालीहरूले जस्तै कम बोलेर धेरै काम गरेर देखाउ तब हामी तिमीलाई शिक्षाविद भनेर सलाम ठोक्छौँ!

(लेखक झापाको दुर्गा मावि गरामनीका प्रधानाध्यापक हुन्)

याे पनि हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: