कृष्णप्रसाद पाठक
तिम्ले आज ममाथि हद गर्यौ
मेरो कोमल अङ्गमा कठोर प्रहार गरेर
अनि छ्यत्विक्षत पार्यौ
र फेरि नराम्ररी गिजोल्यौ
तिमी पापी हौ अधर्मी हौ
दया हराएको तिमी दानव हौ।
मेरा हरेक अङ्ग–प्रत्यङ्गको
रक्षक हौ भन्ने लाग्थ्यो
तर एकै प्रहारमा मर्माहत नै बनायौ
सोच्दै नसोचेको तिम्रो गलत व्यवहार
ममाथि चट्याङझैँ बनेर बज्रियो
तिमी भने महान कार्य गरेँ भनेर
गौरव गर्दै ढक्क भएर फूलेका थियौ ।
ओत लाग्न छहारी चाहिन्छ
मेरो छहारी ठानेर रोजेँ
दुनियाँले के भन्छन् मतलव गरिनँ
र त तिमलाई भगवान सम्झेर पुजेँ
म उल्टो हुँ या यो ब्रम्हाण्ड
ठम्याउन गाह्रो भएकोछ।
तिम्रो जङ्गली स्वभावको पीडाले
बलिन्द्र आँशु बहाएर रातभरी रोएँ
लाग्थ्यो त्यो बेला म साउनको भेल हुँ
विना बादल गर्जिएर पोखिएकी छु
र पोखिएका अश्रृहारका दानाहरु
चप्प चप्प पिइरहेकी छु।
अधर्मीको कहाँ धर्म हुन्छ र
चोट र पीडा दिनुथ्यो
रमाएर दियौ र मुस्कुराइ रह्यौ
म सुक्सुकाउदै कुनामा बसिरहेँ
न मायाले फकाउन आयौ
न प्रेमिलभावले हात समाई उठायौ
ममाथि निसंकोच उफ्रियौ,ज्यादति गर्यौ
सायद चरम सन्तुष्टि त्यहि थियो
र एक शब्द पनि नबोली निदायौ
मानौ केही घटना नै भएको छैन।
सधै मिठो बोल्ने, फकाउने मान्छे
आज राक्षस बनेर बहुलायौ
बरु कुटेको भए सहन्थेँ
हरेक अङ्ग अलग बनाएर
फ्याँकेको भए पनि सहन्थेँ
तर तिमीले ठूलो स्वरले हकारेको
र अनायसै गाली गरेको सहन सकिन
थाहा छ तिमीलाई सुहागरात पनि
यति चर्को र पिडित भएन
मेरो प्रश्नको जवाफ देउ
तिम्ले मलाई किन गाली गर्यौ।
प्रतिक्रिया