कृष्णप्रसाद पाठक
मलाई तिम्रो सहरमा बाँच्न गाह्रो भो
र त गाउँको माया सम्झेर फर्किएँ
प्राणहिन फूलहरुबाट निस्सासिएर होला
छाँगाबाट झरेझैँ अत्तालिएर ब्युझिएँ।
कृत्रिम हाँसो र स्वार्थपरक सम्बन्धहरुमा
प्राण हरेर कसैले लगे जस्तै भान हुन्थ्यो
मुटुको धुकधुकी चलेको थाहा भए पनि
म ज्युदो छु जस्तो लाग्न छाडेको थियो ।
गाउँको हावा ,पानी र सुगन्धको मिठास
निरस सहरमा कहाँ पाउन सकियो र!
प्रेमिल दिनहरु वितेको पत्तै नहुने गाउँको
माया ममता र विश्वास सहरमा कहाँ भेटियो र!
कलपूर्जा झै चलेका मान्छेहरुको भिडमा
आफूलाई नै सम्हाल्न गाह्रो बन्दो रहेछ
तिमीले देखाउने छली मायाको कुण्डमा
मेरो जिन्दगी बल्छीमा उनिएको माछो भएछ।
लालगेडीको पछि दौडिएका थुप्रै मान्छेहरु
निरिहहरुको मन कुल्चदै हिडेको भेटेँ
सहरका कुनाकाप्चा छोडेर दिनदहाडै
चौबाटोमा बैँस खरिदको दृश्य देखेँ।
भूत बंगलामा भागबन्डाको हिसाब गरेर
काला गाडीमा सेता लुगा छेलिएको देख्दा
बाँच्न सकस भो तिम्रो धुलोधुवाँको सहरमा
स्वच्छ फोक्सोभरि विषालु उपहार हुल्दा।
मलामी जादा आत्मियता देखिने त्यो सहरमा
नाता सम्बन्ध सुन चादी र धनमा साँटिदोछ
सहरको कहर काट्न नजान्ने मान्छेहरुको
जिन्दगी आर्यघाटमा जलेको लास झै भएछ।
तिम्रो सहरको उन्मादी रंगिन त्यो जिन्दगी
अब मलाई भोग गर्न रहर पनि रहेन
तिमी त मेरो आफ्नो हुन सक्दै सकिनौ भने
निर्जिव अजंगको सहरको याद आउने कुरै भएन।
प्रतिक्रिया