पशुपतिनाथको मन्दिर


पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रिपर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्थापना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्बा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परिक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको यथार्थ खोजविन हुन आवश्यक देखिन्छ।

मन्दिर वास्तुकला
यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँको सबै विशेषताहरू प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर खुदी काठको छन् । यस मन्दिरको दुई स्तर छाना सुन पहिरन सँगै तामाको रहेको छ । यस मन्दिरमा रहेको चार मुख्य ढोकाहरू चाँदीको रहेको छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । यस मन्दिरको पश्चिमी ढोकामा रहेको ठूलो गोरु वा नन्दीको मुर्ति कास्यको रहेको छ । यहाँ रहेको लिङ्ग देवत्व कालो पत्थरको रहेको छ, जुन ६ फिट अग्लो छ र त्यसको परिधि पनि उस्तै छ । पशुपतिनाथको पूर्वमा वासुकीनाथ रहेको छ ।

सिन्धु–सभ्यताका पशुपतिनाथ शिव

रुद्र वा शिवका अनेकौं नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद्रको पशुपति नाउँ त पांइदैन, तर रुद्र सम्बन्धि बशिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्ष्ण आयुध धारण गर्ने रुद्रले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधीका ज्ञाता हे रुद्र १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिंसा नगर, तिम्रो क्रोधका भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद्रको स्तुति गर्दै भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरू निरोगिताका साथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद्र । दया गर, सुखी बनाऊ ।

हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।

पौराणिक कथानुशार महाभारतको युद्वपछी पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागी के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाह पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए । पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए । पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धासिएका थिए । यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए । यसरी पाण्डवहरूले पशुरुरी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए । यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो।

एक अर्को कथाका अनुशार भगवान शिवले मृगको रुप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो।

लिङ्ग पूजासम्बन्धी विद्वान्हरूको धारणा
आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन तर मुर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभाव हो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरूको पनि तर्क सुत्र र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने हिन्दु विद्धानलाई पनि विदेशीहरूको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ।

पशुपतिनाथ मन्दिरको व्यवस्थापन

पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मातहतमा रहेको छ ।

पशुपतिनाथ मन्दिरको सामान्य दैनिकी

४ बजे भट्ट द्वारा पशुपतिनाथ को जागा गरिन्छ।
भट्टजी द्वारा पशुपतिनाथको स्नान गराईन्छ साथै सरसफाइ गरेर सफा लुगा लगाईन्छ।
त्यस पछि बालभोग (हलुवा) को भोग दिइन्छ।
१२:३०-१ बजे देखि २ बजे सम्म विषेश पुजा हुन्छ।
त्यस्तै सांझ ५:३० बजे बेलुकाको आरती हुन्छ।
विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।

सन् २००९को घटना

पशुपतिनाथको पुजारीहरूलाई भट्ट भनिन्छ र मूल पुजारीलाई मूल भट्ट वा रावल भनिन्छ । केही नेपालीहरूले मन्दिर भित्र घुस भएको आरोप लगाएका थिए । जनवरी २००९ मा माओवादीको सरकारले मुल भट्टहरूलाई राजीनामा दिन लगायो र नेपाली पुजारीहरूलाई मन्दिर चलाउन दिइयो ।यो चलिआएको मान्यता(प्रक्रिया) विपरित रहेको तर नेपाली पुजारीहरूलाई स्थान दिइएकोमा आफ्नो विरोध नरहेको भनी मन्दिरका भण्डारीहरूले विरोध गरे । यो विषय सर्वोच्च अदालतसम्म पुग्योतर सरकारकै आदेशलाई सहि ठहरायो । यसको विरोधमा आन्दोलनहरू भए र आन्दोलनको प्रति विरोध वाइसीएलहरूले गरे जसका कारण दर्जनौं विरोधिहरू घाइते पनि भए ।

देश बाहिर र भित्रका हिन्दुहरूद्वारा तत्कालीन नेपाल सरकारको चर्को विरोध गरियो र आफ्नो फैसला फिर्ता लिई सर्वोच्च अदालतले पुरानै भट्टहरूलाई पशुपतिनाथको पुजारी बन्ने जिम्मा लगायो ।

पशुपतिनाथ भ्रमण

भारतका प्रख्यात अभिनेता, गायक, अभिनेत्री र थुप्रै व्यक्तित्वहरूको पशुपतिनाथको चर्चा बढाउने गरेको छ । जुलाई २०१४मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमण गर्दा पशुपतिनाथको दर्शन गरेका थिए ।

महाभूकम्प २०७२

विक्रम संवत २०७२ वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि मूल मन्दिर दैविक-वैदिक-वास्तु शक्ति (शिव-कथित भूतत्त्व-विग्यान)को कारण सुरक्षित रहेको देखियो । यस्तै २ वर्ष अगाडि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।

आरती

पशुपतिनाथको नित्य आरती

जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।

जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।

गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव गण छन् सहचारी ।।

मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।

डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।

भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।

तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।

वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।

भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला । शिव शिरमा चन्द्रकला ।

कलकल बग्छिन हरदम २ गंगा पुण्यजला । ॐ हर हर हर महादेव ।।

ब्रह्मा विष्णु महेश्वर प्रभुका रुप सबै । शिव प्रभुका रुप सबै ।।

सृष्टि–स्थिति लय सबहुन् २ शुभ लिला प्रभुकै । ॐ हर हर हर महादेव ।।

वेद पुराण थकित छन् प्रभुको वर्णनमा । शिव प्रभुको वर्णनमा ।।

कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।

सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।

परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।

सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।

जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।

काठमाडौं उपत्यकाका मुख्य मन्दिरहरू

पशुपतिनाथ मन्दिर

श्री पशुपतिनाथ, का.म.पा. ८ हिन्दू धर्माबलम्बीहरूको महत्पूर्ण धार्मिक स्थलमा मार्ग कृष्ण चतुदर्शीका दिन एक वर्ष भित्र अवशान भएका आफन्तहरूको सुखद स्वर्गवासको कामना गर्दै सात प्रकारको सतविज छारिने परम्परा छ। साथै शिवरात्रीको दिन आरध्यदेव पशुपति अर्थात शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकीमुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्वपुर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान दिन हो शिवरात्री। शिवरात्रि नेपाल भरि धुमधामस“ग मनाइने राष्ट्रिय पर्व हो। फागुन कृष्ण चतुर्दशीको घोर अन्धकारको रातमा शिवको जन्म भएको मान्यताअनुसार शिवका पीठहरूमा श्रद्धा, भक्ति र निष्ठासाथ मनाइने गरिन्छ श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पुर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो

बौद्धनाथ
बौद्धनाथ, का. म. पा. ६ एसियाका तारा तथा विश्वमा अहिंसा तथा शान्तिको सन्देश संवाहक भगवान वुद्धको विशाल स्तुप रहेको (प्रतिमा) स्थल। नेपाल बाहेक चीन, थाइल्याण्ड, श्रीलङ्का, जापान लगायत विश्वका अन्य सयों वौद्ध धर्मावलम्वी र हिन्दुहरूको समेत आस्थाका धार्मिक स्थल। यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ मन्दिरको पछाडि रहेको ऐतिहासिक ह्याइलिसाङ पोखरीको पुनः निर्माण कार्य सम्पन्न गरेको छ।बौद्धनाथ मन्दिर (गुम्बा) निर्माण भएकै समयमा निर्माण गरिएको विश्वास गरिने सो पोखरी पुरिन गई लोप हुने अवस्थामा पुगेको थियो। पोखरीसँगै आर्कषण हरियाली पार्क निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष दिलीपकुमार लामाले जानकारी दिए। पोखरी र पार्कको निर्माणपछि बौद्धनाथ क्षेत्र भ्रमणका लागि आउने पर्यटकलाई थप रमणीयता प्रदान गर्ने स्थानीयवासीहरूले विश्वास गरेका छन्। विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको सरसफाइमा पनि समितिले विशेष ध्यान पुर्याइरहेको छ। सरसफाइकै लागि नेपालमै नमुनाको रूपमा चार लाख मूल्यको स्विपर मेसिन ल्याइएको अध्यक्ष लामाले जानकारी दिए। बौद्धनाथ क्षेत्रमा चोरीमा घटना बढ्दै गएकाले २४ सै घण्टा समितिले सुरक्षा गार्ड राख्ने व्यवस्था मिलाईएको छ। जसबाट चोरीका घटनामा निकै कमी आएको छ। बौद्धनाथ क्षेत्रको धार्मिक महत्व एवं सरसफाइलाई ध्यानमा राखी गुम्बामाथि चढ्न पूर्णतः निषेध गरिएको अध्यक्ष लामाले जानकारी दिए। माथि चढ्न दिँदा केटाकेटीका जोडी त्यहाँ गई अश्लील क्रियाकलापमा संलग्न हुने गरेको पाइएकाले पनि निषेध गर्नुपरेको उनले बताए।सूचीमा समेत समावेश गरिएको छ .

बज्रबाराही मन्दिर
यो पुण्यस्थल ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको चापागाउँ गाविसको वडा नं. ३मा पर्दछ। यस मन्दिरको पुर्वमा झरुवारासी बडिखेल गाविस, पश्चिममा छम्पी, उत्तरमा धापाखेल दक्षिणमा लेले गाविसभित्र यो क्षेत्र रहेको छ। १८.९९ हेक्टरमा फैलिएको यस जंगल क्षेत्रको करिब बीच भागमा मन्दिर रहेको छ। प्राकृतिक रूपले अतिसुन्दर र पूण्यभूमिको रूपमा रहेको बज्रवाराहीको सम्बन्धमा- वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो।। जसको पूजामात्र गर्नाले पनि जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने गर्छ सिद्धि प्राप्त हुन्छ। प्रकृतिको वरदानको रूपमा स्थापित भएको महसुस हुने अति सुन्दर निकुन्ज, शितल छहारी- त्यसै छहारीमा कोइलीको सुमधुर स्वर, प्रकृतिको विलक्षण सिर्जनामा मन्दिरमा मानव निर्मित कलात्मक भव्यताले जोसुकैलाई मनमोद विनोद बनाइदिन्छ। गर्भ गृहमा प्रस्तरको बीचमा वल्लो-पल्लो छेउमा धातुका दुई मुर्ति कलात्मक रूपले बनाइएको छ। ठीक तल ११ वटा देवीका मुर्तिहरू जसको तलपट्ट दक्षिणतर्फजल कुण्ड र नजीकै भोगदिने गरिन्छ। बाहिर र भित्र सिंहका आकृति छन् भने प्राङ्गणमा बत्ती बाल्ने पालाहरू छन्। त्यहाँ रहेको जल कुण्डलाई पनि गुहेश्वरीको जलकुण्ड मानिन्छ। नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ। जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा मुर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन्। मन्दिरको जताततै विभिन्न चित्रहरू कुँदेर राखिएका छन्। आगो बलेको अवस्थामा मात्र गजुर राख्न सकिने भनाइ पाइन्छ। चक्रगुठीबाट पूजा सामग्रीसहित बोकाको समेत व्यवस्था हुन्छ।। चतर्दशीका दिन देवीलाई देवगृहको मूलचोकमा ल्याई महर्जनहरूबाट सिंगारपटार गरी पूजा गरेपछि र्सवसाधारणबाट पूजा गरेपछि मर्ति खटमा राखेर बजार परिक्रमा गर्राई देवगृहमा राखिन्छ।देवीलाई अष्टमण्डपमा राखेर स्नानसमेत गराउने प्रचलन छ। चतुर्दशीको राती बिनावाजागाजा-स्थानीय प्रशासनले समेत पूजा गरेपछि फुस्रो सिन्दूर आपसमा लगाउने कार्य हुन्छ।

दक्षिणकाली मन्दिर
काठमाडौं उपत्यकाको मध्य सहरदेखि करिब १८ कि.मि. दक्षिणतर्फदक्षिणकाली मन्दिर अवस्थित छ।सो खोंच वन जङ्गलले घेरिएको छ। पीठस्थललाई दुईवटा साना साना पहाडी नदीले द्वीपको स्वरूप दिएका छन्। दक्षिणकाली पीठ रहेको स्थान त देवीकै नामले चिनिन्छ।दक्षिणकाली रहेको क्षेत्रलाई नेवारीहरूले फँपी भन्ने चलन छ।दक्षिणकालीको धार्भिक-साँस्कृतिक महत्वलाई जोगाइराख्न सो क्षेत्रको सुधार र विकास गर्ने उद्देश्यका साथ त्यस सम्बन्धी विकास आयोजना सुरु गरी दक्षिणकाली पीठ वरिपरिको ५६ हेक्टर क्षेत्रलाई दक्षिणकाली विकास क्षेत्र तोकिएको छ। तापनि त्यो मुर्तिको स्थापना सम्बन्धी कुनै शिलालेख पीठस्थलमा नपाइएकोले यसबारेमा यकिनसाथ भन्न सकिने अवस्था भने छैन। मुर्तिको पादपीठमा प्रताप मल्लको अभिलेख छ भन्ने गरिए पनि मुर्तिको त्यो भाग ढुङ्गाले छोपिएकोले तत्काल त्यसको अध्ययन गर्न सकिंदैन। त्यहाँ देखिने शिलालेखहरूमा सवैभन्दा पुरानो सरदार कालु पाँडे र उनकी पत्नी सत्यभामा लक्ष्मीले लेखाइराखेको वि.स. १८४२को शिलालेख पनि एक हो। यो शिलालेख दक्षिणकालीमा पाटी बनाई केही गुठी राखी लेखाइएको हो।दक्षिणकालीको पीठ खुल्ला रूपमा रही त्यसको पश्चिमी भित्तामा पुर्वाभिमुख भई देवीको मुर्ति रहेको छ। दक्षिणकालीवारे एउटा आख्यान पनि छ। जसअनुसार उहिले शिखर नारायणको मन्दिर रहेको डाँडाको माथि थुम्कामा दक्षिणकाली र उनका गणहरूको वासस्थान थियो। आधा रातमा देवीले आफ्ना सामुन्ने आइपुग्ने मानिस खाइदिन्थिन्। देवीले यस्तो गरेर धेरै मानिस खाइदिएपछि जनताको रक्षा लागि एकजना तान्त्रिकको सहायताले देवीलाई सहरभन्दा पर जंगल, मसान र नदीको किनारमा बस्न बाध्य गरी पूजा आजा र बलि चढाउने चलन चलाएका थिए।दक्षिणकाली मन्दिरमा प्रायःजसो शनिवार र मंगलवार श्रद्घालु भक्तजनहरूको घुईचो लाग्ने गर्दछ। लाखौँ भक्तजनहरूको घुइँचोले हिन्दुहरूको आस्थाको केन्द्रविन्दुको रूपमा दक्षिणकालीलाई प्रसिद्ध बनाएको छ।

चाँगुनारायण मन्दिर
चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा अवस्थित सबैभन्दा पुरानो मन्दिर हो। पुरातात्त्विक कलाहरूले भरिपूर्ण यो मन्दिर काठमान्डौबाट २२ कि. मि. टाढा पर्दछ। कुनै स्पष्ट प्रमाण नभए पनि यो मन्दिर चौथो शताब्दीतिर बनेको हो भन्ने विश्वास छ। यो मन्दिर काष्ठकला र मुर्तीकलाहरूको उच्च नमुना नै हो। उपत्यकाको सभ्यता, जीवन, इतिहास र सँस्कृतिको सुन्दर प्रतिमुर्ती हो चाँगुनारायण। परापूर्व कालमा चाँगुनारायण मन्दिर रहेको ठाउँ अधिकांस रूपमा चाँपको वन थियो। वनको एक छेउमा सुदर्शन नाम गरेका ब्राह्णण बस्थे। जंगलको वरिपरि अरु गोठालाहरू बस्थे। ति ब्राह्णणलाई तिनै गोठालाहरूले पाल्ने गर्थे। भगवान विष्णु – “धेरै पहिला देवता र अशुरहरूको सँग्रामको बेला सुमति नाम गरेका ब्राह्मन अशुरहरूको तर्फबाट लड्न आएका थिए। अनि उनलाई मैले बाध्य भएर वध गर्नु पर्यो। त्यसपछी ब्राह्मनका गुरु शुक्रचार्यले मलाई ब्राह्मन हत्याको श्राप दिए। अनि त्यो श्राप कहिले मुक्त हुन्छ भन्दा जब सुमतिको सन्तानले तिम्रो शिर काट्छ तब तिमी श्राप-मुक्त हुन्छौ भन्ने उत्तर पाएँ। त्यही श्राप मुक्त हुन सारा प्रपन्च आँफैले रचेको हुँ। अब म श्राप मुक्त भएँ। तिमी त्यही सुमतिका सन्तान हौ।” अब म यही ठाउँमा बस्छु भनेर भगवान बिष्णुले त्यही सुदर्शन ब्राह्मनलाई आफ्नो पूजा गर्ने मुख्य पूजारी बनाइदिए। अनि त्यही सुमतिका वङ्शजले यस मन्दिरमा पूजा गर्नुपर्ने भएकाले आफ्नो मातापिता मर्दा पनि ति पूजारीहरूले जुठो बार्न पाउँदैनन्। अनि पूजाको नित्य सर्-सामानहरू तिनै गोठालाहरूले जुटाउन थाले। ति गोठालाहरू जुठोको बेला पूजारीकामा बसे भने उनिहरूलाई पनि जुठो नलाग्ने भयो। त्यो चलन अहिले सम्म पनि चलिरहेकै छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: