…अनि म टाप !


अशोक अधिकारी

करिब ६ महिना अघिको एक साँझ, अल्छीले के गरौँ के नगरौँ भएको थियो। काममा जाँगर लगाउने कुनै ‘आइडिया’ भएन। हातको मोबाइल चलाउने बहाना पनि थिएन।

त्यही सेरोफेरोमा आफ्नो फोन नम्बरको छेउका नम्बर मिलाएर मिसकल हान्न थालेँ । खै! किन हो मलाई त्यस दिन मिसकल गर्न मन लाग्यो थाहा छैन। तर, यसपछिको कहानीले बेलाबेला हाँसो उठ्छ, अनि गम्भीर पनि बनाउँछ।

मैले दुई पटकसम्म त्यो नम्बरमा मिसकल गरें। एउटा नम्बरबाट कल आयो, रिसिभ गरेँ।

‘हेलो’ केटाको आवाज। ‘हजुर हैन, मिसकल आएको थियो नि’ अलि चर्को स्वरले बोल्यो।

‘हैन’ नम्बर मिस्टेक भएछ, अर्कैतिर गरेको थिएँ। माफ गर्नु होला,’ मैले जवाफ फर्काएँ।

उनले सोधे, ‘अनि को बोल्नु’भा तपाई?’

मैले आफ्नो परिचय दिएपछि ‘नर्मल’ हुँदै भन्यो, ‘ए सर परिचय भयो, केही परे सम्झिनु होला।’

धन्न! केही भनेन फोन राख्ने बेलामा सोधेको थिएँ, उनी नेपाल प्रहरीका असई रै’छन्।

फेरि कलव्याकको वर्षा हुन थाल्यो। दुई पटकसम्म आएपछि चाहिँ रिसिभ गरेँ। फोन रिसिभ गर्ने बित्तिकै किन मिसकल गरेको, को बोलेको केही काम थियो कि’ लगायत आधा दर्जन प्रश्नको वर्षा भयो।

‘मैले अर्कैतिर गरेको थिएँ, नम्बर मिस्टेक परेछ माफ गर्नु होला,’ १० मिनेटको अन्तरालमा दोस्रो माफी माग्दै मैले सोधे, ‘वाइ दी वे तपाईको नाम चाहिँ?’

‘मेरो नाम!,’ उनले अलि हिस्किचाउँदै भनिन्, ‘अँ, सदीक्षा हो।’ ‘नाम त राम्रो रै’छ, के गर्नुहुन्छ,’ मैले सोधेँ।

‘स्टुडेन्ट’ छोटो उत्तर आयो।

करिब ५ मिनेटको फोनवार्तामा एज अ फ्रेण्ड कल गर्दा फरक नपर्ने बताइन्। र, भनिन्, ‘युअर भ्वोइस इज सो स्वीट, वाई।’ र, फोन काटियो।

ेखै! बेला अलि उत्ताउलो भएर हो कि, मनमा कता कता खुशी नै लाग्यो। भोलिपल्ट पनि मिसकल गरेँ। कल आयो। अघिल्लो दिनकै जस्तो गफ भयो। यो क्रम करिब एक महिनासम्म चल्यो। अरू दुई महिना ‘फोनप्रेम’ चलिरह्यो। ‘फोनलभ’ हो कि, ‘लभफोन’ चल्न चाहिँ चलि नै रह्यो।

तेस्रो महिनाको एक शनिबार दिउँसो ‘कल’ गरेँ। ‘कता हो नि,’ सोधेँ, ‘काममा व्यस्त छु,’ उनले भनिन्। ‘के काम’ सोधेँ। ‘आमाबुवालाई पसलमा सघाउने गर्छु। चन्द्रगढी चोकमै उनका मातापिताले दोकान चलाउँथे। उनी घरकी एक्ली छोरी।

बोली त उनको प्रायः सुन्नेहरु राम्रो छ भनेर तारिफै गर्लान्। तर, ३ महिनासम्म बोले पनि अनुहार नदेखेको मान्छे बोलीले मात्रै कसरी विश्वास गर्ने। दोधारमा हुँदै ‘भेट्ने’ प्रस्ताव राखे।

‘कहिले भेट्ने?’ उनको प्रश्न थियो।

‘सयम अनुकूल भएपछि’

‘कहिले हुन्छ त’ प्रतिप्रश्न आयो।

‘खै’ मैले भने।

‘अँ हुन्छ नि त तपाईको टाइम मिलेपछि भन्नुहोला’ उनले सम्झाइन्।

सांकेतिक तस्वीर

टेलिफोन वार्ता जारी थियो। भेट्ने कुरा गरेको पनि ३–४ महिनै भएको थियो। वैशाखतिरको एउटा सोमबार अफिसमा काम केही थिएन।

विचार गरेँ, ‘आज उनलाई भेट्न जान्छु।’

फोन गरेँ। सुरुमा त ‘नभ्याउने भनेर झण्डै योजना अलपत्र परेको। तर, ‘रिक्वोस्ड’ गरेपछि १ बजे चारआली आइपुग्ने’ जवाफ आयो।

हतार हतार कोठातिर लागेँ। तर, कोठा भित्रछिरेपछि पर्यो फसाद। लुगा सबै मैलो।

‘हैन यही बेला चाहिँ यस्तो’ आफैसँग रिस उठ्यो। तर, बाध्यता थियो जानैपर्ने।

‘मैलो मध्येको सुकिलो’ लुगा छानेर पर्फ्यूमले सुकिलो पारें। अब लाग्यो, केटो चारआलीतिर। काँकरभिट्टाबाट गुडेको बस चारआली पुग्दा झण्डै, आधा घण्टा लगाइदियो।

बसभरि नानाथरी कुरा मनमा खेले। मनमा एउटा उत्साह पनि थियो। ‘कसरी भेट्ने, के भन्ने, पहिलोपटक कुनै अपरिचित युवतीसँग परिचय भएर भेट भएको। के भन्ने लगायतका दोधारमा मनमा खेलिरहेका थिए।

म उनले दिएको समयभन्दा ३० मिनेट ढिलो पुगेँ। उनी अघि नै आएर ‘नआउने हो’ समेत भन्न थालेकी थिइन्। ‘अँ आउँदै छु’ म भन्दै थिएँ।

चारआलीको पश्चिम बस स्टेण्डमा बस रोकियो। बसबाट उत्रिए। हेर्छु, मान्छे अलि छिटो हिँडेजस्तो लाग्छ अलमल्ल पर्दा उनको फोनमा नम्बर डायल गर्न थाले।

अलि व्यस्त नै थियो, त्यसदिन चारआली चोक। फोन उठ्यो। उनले भनिन्, ‘म पूर्वपश्चिम लोकमार्गको उत्तरतिर छु।’

मैले कपडाको रङ्ग सोधेँ। ‘सेता टिसर्ट, जिन्स पेन्ट र स्याण्डल, छाता छोडेर उभिएकी छु,’ उनले भनिन्। बसस्टेण्डको पश्चिमपट्टी उनलाई देखे। लाग्यो, ‘साँच्चै राम्री होला वा छैन कि।’ मनमा धेरै कुरा खेलाउँदै उनी भएकोतिर लागेँ।

लाजले होला आधा घण्टासम्म छाताले अनुहार खोलिनन्। हेर्दा निकै मोटी आफ्नो उमेरभन्दा झण्डै ६–७ वर्षअघिकी अनुहार हेरिनसक्नु। मैले के भएको भनेर सोधेँ। सानैमा गाडे खटिरा निस्किएर अनुहार बिग्रिएको रे!,’ उनले थपिन्, ‘नत्र त राम्री थिएँ रे।’

अब लामो ‘फेन्डशीप’ पहिलो पटकको भेटघाट केही नभए पनि चिया त पिएर छुट्नु पर्ला भन्ने लाग्यो। नजिकैको नास्ता पसलतिर लम्किएँ उनी पनि।

बसिञ्जेल मलाई अचम्म लागिरह्यो। ६ महिनाअघिको मिसकल गरेको दिन सम्झिएँ। उनका निकै ‘ओभर स्मार्टनेस’सहितका गफ र फुर्ती पनि सम्झिएँ। ‘के दिनमा मिसकल गरेछु’ भन्ने पनि कता–कता चाहिँ लाग्यो।

चिया पिइञ्जेल दुई–चार कुरा मैले सोधे पनि उनले केही सोधिनन्। मलाई चाहिँ उनको रुपभन्दा पनि उनको घमण्डले कुतकुती लगाइरह्यो। लगभग ६ महिनाको फ्रेण्डशीप एक कप चियाको अन्तिम घुट्कीसँगै घुट्क्याएर १५ मिनेटपछि बसेर टाप!

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: