Logo

समाचार

श्रीस्वस्थानी व्रतकथा भाग ३ र ४: सतीदेवीको कन्यार्थमा विष्णु भगवान, महादेवसँग विवाह


२६ पुस २०७६, शनिबार


कुमारजी आज्ञा गर्नुहुन्छ। हे! अगस्त्यमुनि, दक्ष प्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरु जन्माइन्। यसक्रममा उनीबाट तेत्तीस कोटी कन्याहरु भए। ती कन्याहरुलाई दक्ष र विरणीले समान माया र ममताका साथ लालनपालन गर्दै रहे। ती कन्याहरु पनि ज्वाज्वल्यमान रुप र लावण्यका भए। स्वर्गका सम्पूर्ण देवताहरू ऋषि, यक्ष, गन्धर्व, किन्नर, दिक्पाल, नाग, प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर ‘हामी सबै तेत्तीस कोटी देवताहरुले दक्षका तेत्तीस कोटी कन्या मागेर घरजम गर्नुपर्छ’ भनेर निधो गरे।

अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए। दक्ष प्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सतीबाहेक सबैलाई बिहे गरिदिने वचन दिए र भने ‘मेरो पनि छोरा छैन यसलाई छोरा बनाएरराख्न नदिएको हुँ’ भनेर भने। दक्ष प्रजापति पनि हर्षित भएर ‘हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु’ भने। ‘हाम्री छोरीहरुको पनि घरजम हुने भयो धन्य नारदमुनि’ भनी दक्ष र विरणी हर्षित भए।

देवताहरु सबै बाजागाजाका साथ दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान लिए। अनि सबै देवताहरु आ–आफ्ना स्थानमा गए। श्री महादेवजीले कैलाशमा ध्यान गरिरहनुभएको बेला ध्यानदृष्टिले हेर्दा सबै देवताहरुको विवाह भइसकेको थाहा पाए अनि साह्रै चित्त आकूल गरे। फेरि दक्षको घरमा एउटी कन्या बाँकी भएको ध्यानदृष्टिले पत्ता लगाए। अनि मलाई सम्झेरै राखेका रहेछन् भनेर हर्षित भई दक्षकहाँ कन्या माग्न गए।

दक्ष प्रजापति –आज तँ मेरामा कति कामले आइस्, हे दिगम्बर।

महादेव –मैले यहाँ आउनुको कारण के हो भने तेत्तीस कोटी देवताहरुले कन्या पाए। उनीहरुले घर बसाए। सबैको उद्दार भयो। मेरै लागि जेठी छोरी बाँकी राखेका रहेछौं। अब मेरो पनि उद्दार गर।

दक्ष प्रजापति – हे शरम पचेको दुष्ट महादेव। बत्तीस लक्षणले सुन्दरी मेरी सबैभन्दा राम्री छोरीको तँ जोडी हुन सक्दैनस्। तँ स्मशानबासी, खरानी घस्ने, भूतप्रेतसँग डुल्ने, नागको माला लाउने, बिख, भाङ्ग, धतुरो खाने। मेरो घरमा एकछिन पनि नबस्, तँ गइहाल्।

(यसरी अरुपनि धेरै–धेरै अपमान गरेर भनिसकेपछि महादेवको पाखुरा समातेर दक्षले श्री भोलेनाथ महादेवजीलाई घरबाहिर निकाल्यो।)

विष्णु –हे दक्षप्रजापति, म केही माग्न आएको छु। दिन्छौं भने मात्र माग्छु?

दक्ष प्रजापति –लौ प्रभु यी मेरा सर्वश्व सबै हजुरकै त हो नि। हजुरले जे भन्नुभो त्यही दिन्छु। म वाचा गर्छु प्रभु।

विष्णु –म बैकुण्ठलोकको अधिपति भएर पनि मेरा पत्नी छैनन्। कन्या दिइ मलाई उद्दार गर। किनभने तिम्री एउटी कन्या सतीदेवी अविवाहित नै छिन्। यसैबाट मेरो घर बसाऊ र मेरो उद्दार गर।

त्यतिखेर म ‘म कन्यादानको साइत सक्ने बितिक्कै भिक्षा दिन्छु, मसँगै आएर एकछिन पर्खनुहोस्’ भनेर भन्छु। अनि म ‘विवाहमण्डपमा मसँगै आएर बस्नुस्’ भन्नेन्छु। हजुरले पनि त्यसै गर्नुस्। कन्यादान दिनेबेलामा मेरो हात राख्ने ठाउँमा हजुरको हात राखिदिउँला। उनीहरुले कन्यादानको धमाधममा यस कुराको हेक्का राख्दैनन्, र मन्त्र पढिसकेपछि ‘सती हजुरकी भइन्’ भनेर म दक्षलाई सम्झाइबुझाइ गरिदिउँला।

यो बार, यो तिथि, यो लग्न, यो नक्षत्र, यो बेलामा साइतको समयभन्दा एकछिन अगाडि हजुर सन्यासी भएर टुप्लुक्क आइपुग्नुहोस् भनी महादेवलाई विष्णु भगवानले सम्झाउनुभयो। अनि भगवान् महादेव पनि अति प्रसन्न हुँदै कैलाश पर्वतमा प्रस्थान गर्नुभयो।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, केही दिनपछि लगन ठहर्याइएको दिनमा श्री विष्णु दक्ष प्रजापतिका घरमा पुगी महादेवको बाटो हेर्न थाल्नुभयो। दक्ष प्रजापतिले पनि विवाहको सामग्री तयार गराई यज्ञको विधिपश्चात् कन्यादान दिन तयार भए। कैलाशमा महादेव वीष, भाङ, धतुरो खाइ मस्त भई विवाहमा जान भुल्नुभयो।

‘महादेव अझै आइपुग्नु भएन, कन्यादानको समय हुन आँट्यो, मैले यो दान थापेँ भने श्री भोलेनाथमाथि अन्याय हुन्छ अब कसो गरुँ? के गरुँ?’ भनी मनमा खुलदुली र आकुलब्याकुल भइ विष्णु भगवान् छटपटाउन थाल्नुभयो। उता महादेवको पनि त्यसै बेला चेत खुल्यो अनि कन्यादानको बेला हुन लागेको झट्ट सम्झनुभयो। र जागा हुनुभयो अनि विष्णुले अह्राउनु भएअनुसार विवाह मण्डपमा पुग्नुभयो र भन्नुभयो –‘हे दक्ष, प्रजापति म अति टाढाबाट आएको छु। मलाई धेरै भोक लागेको छ। मलाई भीक्षादान नगरी कन्यादान लिएमा वा दिएमा दुवै पक्षलाई श्राप दिन्छु।’

विष्णु –हे बृद्ध भिक्षुक! कन्यादानको ठिक्क समय हुन आँट्यो, यो लग्न टार्नु हुँदैन। कन्यादान सक्ने बितिक्कै तिमीले भिक्षा लेऊ। अहिले मसँगै छेउमा आई बस।

त्यसपछि श्री महादेवजी विष्णुको छेउमा आएर बस्नुभयो। त्यसैबखत भगवान विष्णुले आफ्नो मायाले दक्ष प्रजापतिले मन्त्र पढेर हात सुम्पन लागेको बेला उनको आँखा छली सतीदेवीको हात बृद्ध सन्यासीको रुप लिएका महादेवको हातमा पारिदिनुभयो। माया हटिसकेपछि दक्षप्रजापतिलाई चेत आयो र मनमा बडो खेद मानीकन भने –‘हे विष्णु! तिमी कपटी रहेछौं, तिम्रो छलले गर्दा मेरी पुत्री यस अवस्थामा पुगी। तिम्रो विश्वासमा परी म ठगिएँ।’

दक्षप्रजापतिले यसो भनेको सुनी तत्कालै भगवान विष्णु सन्यासीरुप महादेवसित बिदा भइ अन्तर्ध्यान भइ विष्णुलोक बैकुण्ठमा जानुभयो। विष्णु भगवान जानु भइसकेपछि दक्ष प्रजापतिले छोरीतिर हेरे र भने –‘हे पुत्री सतीदेवी! पापिष्ठ विष्णुका छलले गर्दा आज तिमीले यस्ता बृद्ध सन्यासी स्वामी पायौं। दुःख कत्ति पनि नमान। हामी नै तिमीलाई पालौंला। अहिलेलाई मनमा धैर्य राखी यिनै सन्यासीसित जाऊ।’

आफ्ना पिताले भनेका यी कुरा सुनी उनले भनिन् – ‘आफ्नी सबै बहिनीहरुले देवता स्वामी पाए, तर मैले बृद्ध सन्यासीका हातमा परेँ।’ यस्तो सम्झी बडो विषाद गरी उनी आफूलाई धिक्कारी भक्ककानिएर रुन थालिन्। केहीबेरपछि आफूले आफैलाई सम्झाउँदै बरबराउन लागिन् – ‘मेरो कर्ममा जे लेखिएको थियो त्यही भयो। अब रोएर मात्र के हुन्छ र! जसै गरेपनि मेरो पाणीग्रहण गर्ने पुरुष भनेका यिनै बृद्ध सन्यासी हुन्।’

यसरी आफैले आफैलाई बुझाएर धैर्य गरिन्। अनि सन्यासी रुपमा महादेवले पनि सतीदेवीलाई आज्ञा गर्नुभयो, ‘हे स्त्री, अब हामीले यहाँ बसेर हुन्न। हाम्रो घर जानुपर्छ। तिमीले अब आफ्ना बाबामहतारीसँग बिदा माग।’

स्वामीको यस्तो आज्ञा सुनी सतीदेवीले आफ्ना मातापिता दक्षप्रजापति र विरणी भएका ठाउँमा गएर ‘हे पिता १ हे माता १ म अब पतिका साथ जान्छु । मलाई बिदा दिनुहोस्।’ भन्दै बिदा मागिन्।

छोरीको कुरा सुनी विरहव्यथाले मुटु गाँठो पारी आँखाभरि आँशु लिएर ‘जाऊ, पुत्री’ भनी बाबा महतारीले रुँदै बिदा दिएपछि उनीहरूलाई प्रणाम गरी सतीदेवी पनि आफ्ना बृद्ध सन्यासी पतिका साथ लागिन्।

जाँदाजाँदा बाटामा सन्यासीरुप महादेवबाट आज्ञा भयो – ‘हे सुन्दरी, तिमी सुकुमारी, कोमलाङ्गी, बाबाका घरमा सुखले पालिएकी, यस्तो अप्ठ्यारो बाटोमा हिँड्न कत्ति कष्ट भयो होला! तिम्रो पाउ दुख्ला, जिउ गल्ला, सुस्त सुस्त हिँड।’

पतिले आफूलाई गरेको मिठो वचन सुनी सतीदेवीले भनिन् – ‘हे स्वामी, म भर्खरकी छु, हिँड्न सक्छु। उमेरको दृष्टिले हजूर बृद्ध भएकाले हिँड्न गाह्रो पर्छ। मलाइ त के हुन्छ र? बरु हजुर सुस्त–सुस्त हिँड्नु बेस होला’ भन्दै अरु पनि धैर्यका थुप्रै कुराहरू गरेर आफ्ना स्वामीलाई सन्तोष दिलाइन्। आफूलाई भर्खरकी युवती र पतिलाई बृद्ध देखेर ‘मेरा पतिलाई कसैले हप्काए वा केही गरी मलाई खोसी लगे भने के होला?’ भनी मनमा अनेकौं तर्कना र चिन्तना गरी सतीदेवीले पतिलाई एकैछिन पनि नछोडी सँगसँगै हिँड्न थालिन्।

जाँदाजाँदा कैलाशको नजिकमा पुगेपछि सतीदेवीको चरित्र जाँच गर्नुपर्यो भनी महादेवले कैलाशका शिखरमा एउटा खरले छाएको झुप्रो निर्माण गर्नुभयो। अनि भन्नुभयो – ‘हे स्त्री, हाम्रो घर अब आइपुग्नै आँट्यो। ऊ त्यो माथि देखिएको छाप्रो हाम्रो घर हो। त्यहाँ पुगेर विश्राम गरौं।’ भनी झुप्रोमा पुर्याउनु भयो। त्यहाँपुगेपछि फेरि भन्नुभयो – ‘हे प्रिये, भित्र गएर केही खाऊ र थकाइ मार। म पनि धेरै थाकेँ। एकछिन बाहिरै सुत्छु।’

यति भनी विष, भाङ, धतुरो खाइ छाप्रोको दैलोबाहिर भुइँमा पल्टिनुभयो। सतीदेवीलाई सानो खरले छाएको झुप्रो घर देख्दा आफ्ना बाबाको घरको याद आयो र मन खिन्न बनाइन् – ‘त्यस्ता महलमा बसेकी मलाई आज यस्ता घरमा आइ बस्नुपर्यो’ भनी दुवै आँखाबाट बलिन्द्रधारा आँसु बगाइरहिन्। फेरि चेष्टा भयो र ‘दैवले आफ्ना निधारमा जे लेख्या हो सो भएरै टर्छ। अब सुर्ताएर केही हुँदैन।’ भनेर आफ्नो मन आफै बुझाइ आँसु पुछिन्। केहीबेरपछि घरभित्र पसी हेर्दा कुनाकाप्चा, भित्तो र छानोतिर माकुरोको जालै–जाल मात्रै देखेर कुचोले माकुरोको जालो बढारिन्। ‘पतिदेव ब्यूझिबक्सिएपछि के खानुहोला’ भनी सबैतिर खानेकुराहरु खोज्न थालिन्। केही खानेकुरा देखिनन्। र, महादेवको चरणको मुख्याञ्जी हँसिलो अनुहार गरी बसिरहिन्।

घरमा आइपुगेको चारदिनपछि मात्र महादेवको निद्रा टुट्यो। आफ्ना गोडामुनि हँसिली बनी बसिरहेकी सतीदेवीलाई देखी महादेवलार्इ असाध्यै माया लाग्यो। यद्यपि हर्षाश्रु दबाएर बाहिरबाट रिसाएजस्तो गरेर ‘हे पापिनी, मलाई एक्लै बाहिर सुताएर आफूचाहिँ भित्र सुतिस्? सो हुँदा पनि तँलाई केही खानु पर्दैन नि? केही खाइस् कि खाइनस्?’ भन्नु्भयो। यसरी आफ्ना स्वामी रिसाउन लागेको देखी नारीमा हुनुपर्ने नम्रता र पतिभक्ति आदि गुणले युक्त भएकी सतीदेवीले जुनझैँ उज्यालो र हँसिलो मुख लगाई सन्यासीरुपी महादेवको मुहार हेरिरहहिन्।

अनि भनिन् – ‘हे स्वामी, थकाइले गर्दा हजुर साह्रै निदाइबक्सेको देखी ब्युँझाउन सकिन। म सुतेकी छैन। हजूरकै छेवैमा बसिरहेकी छु। अब हजूर के खाइबक्सन्छ। मैले त भित्र भाँडामा भएका मिठामिठा मिठाइहरु खाइसकेकी छु।’ रुपकी राम्री त्यसमाथि नाना श्रृंगारले सजिएकी रिस र अरु सबै अवगुणहरु पैतालामुनि दबाएकी पतिव्रता सतीदेवीले भनेको कुरा सुनी नारीमा हुनुपर्ने सम्पूर्ण गुणहरु भएको बुझी ठूलो करुणा लिई श्री महादेवले भन्नुभयो – ‘प्रिये यहाँ के थियो र खायौं होला? यो त हाम्रो घर होइन । त्यो खरले बारेको भित्तो च्यातेर पल्ल्लातिर हेर त!’ पतिको यति कुरा सुनेर सतीदेवी भन्छिन् – ‘हे स्वामी, भएको घरलाई भत्काएर नभएको घर कहाँ हेर्नु? म स्त्री जाति र हजुरको बुढो उमेर! भत्केको घरलाई कसले बनाइदेला?’ सतीदेवीको कुरा सुनी सन्यासीरुपी महादेवले खरको भित्तोलाई लात्तले हानेर कैलाशपुरीको दर्शन गराउनुभयो।

धेरै रत्न, धातु, मणिमाणिक्य आदिले सुशोभित, चिन्तामणि र कल्पवृक्ष आदिले वेष्टित कैलाशको रमाइलो शान्त ठाउँमा सुवर्ण नै सुवर्णले बनाएको आफ्नो घरलाई देखी अति प्रसन्न भएकी सतीदेवीले आफ्ना बाबाको भन्दा पनि अति सुन्दर र उत्तम घर देखी आश्चर्यमा पर्दी भइन् र धेरै खुशी भइ हर्षका आँशु बगाइन् र ‘धन्य मेरो पतिदेव’ भनिन्। त्यसपछि सन्यासीरुप धारण गरेका महादेवले कैलाशको चोकका माझमा गाइको गोबरले लिपेर रेखीले अखण्ड मण्डलाकार बनाउन आदेश दिनुभयो।

आदेश अनुसार बनाएपछि सन्यासीरुपी महादेव त्यो मण्डलाकारभित्र विराजमान भएर ‘हे प्रिये, अब मेरो सक्कली रुपलाई हेर।’ भनी कपूर जस्तो स्फटिक वर्ण, करुणाका मूर्ति, संसारका सार र नागका माला हार लगाएको आफ्नो साकार अति नै ज्वाज्वल्यमान रुपको दर्शन गराउनुभयो।

यस्तो विश्वम्भरमूर्तिको दर्शन पाएर सतीदेवीले हर्षाश्रु बगाई ‘कैलाशपति श्री महादेवलाई मैले आफ्नो स्वामी बनाउन पाएकी रहेछु। म धन्य भएँ।’ भन्दै फूलको माला हातमा लिएर कमण्डलुको जलधारा बगाई तीन पटक परिक्रमा गरेर महादेवको गलामा पहिर्याएर साष्टाङ्ग प्रणाम गरिन्। त्यसपछि महादेव तथा सतीदेवी शिवशक्ति स्वरूपले रहँदा भए। अर्को प्रसङ्ग पञ्चम अध्यायमा बताउनेछु।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम चतुर्थोऽध्यायः।।

प्रकाशित : २६ पुस २०७६, शनिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: