Logo

समाचार

‘मर्यादित बुढेसकाल’ : प्रेरक, जीवन्त र ऐतिहासिक दस्तावेज


१६ पुस २०७६, बुधबार


ज्योती किरण

लेखक हुन रहरको विषयले पुग्दैन। यो केवल रहरले बन्न सकिने विषय नै होइन। जसरी प्राकृतिक गुणहरुले यो जगत र श्रृष्टिलाई विशिष्ट विशेषज्ञता साथ सन्तुलनमा राख्ने नेतृत्व गरेको हुन्छ, त्यो नियम अरु कसैले बनाइदिएर वा बन्ने रहर गरेर कहिलै सम्भव हुँदैन ठिक लेखक त्यस्तै कुरा हो, जो रहर मात्रबाट होइन गहिरो अन्तरदृष्टि, उच्च आत्मशिक्षामा निहीत संवेदनशील चेतनाको फरक प्राकृतिक विशेषता र प्राकृतिक गुणबाट मात्र जन्मन सक्छ।

शिक्षा केवल लेखकीय अभिव्यक्ति विकासको सहयोगी माध्यम मात्र हो भन्ने मेरो लेखकप्रतिको बुझाइ रहिआएको छ। व्यक्तिगत रुपमा कृष्णबहादुर थापालाई म त्यति धेरै चिन्दिन। म कोही व्यक्ति कति खास्साको वा काइदाको छ भनेर जाच्ने कसीमा सदैव उसको चेतना र मानवीय मूल्यको संवेदनशीलताको धरातलबाट नियालिएको हुनु पर्छ भन्ने मान्यता राख्दछु। कसैको व्यक्तिगत जीवन मेरो सरोकार र चासोको विषय कहिलै बन्दैन र बनेन।

म मानिसका व्यक्तिगत सरोकारका विषयको खोजीलाई वा उनीप्रतिको व्यक्तिगत प्रचारबाजीलाई खास अर्थमा भजनमण्डली खास अर्थमा अस्वाभाविक मात्र होइन दास प्रवृत्तिको सिकार भएको ठान्छु, जो मेरा निम्ति यस्तो प्रवृत्ति सधै आलोच्य र अस्वीकार्य छ। म सबै मानिसको बाँच्ने प्रयत्न र कलालाई सधै एउटै विश्वासबाट हेर्ने गर्छु, मेरो त्यो एउटै दृष्टि र विश्वास यो छ कि सबै मानिस आफ्नो यतार्थता सामु स्वाभिमानपूर्वक श्रम र श्रृजनामा विश्वास गरेर बाचेको हुन्छ। कृष्णबहादुर थापाप्रतिको मेरो विश्वास पनि यही हो कि ऊ यसरी नै बाँचेको छ यो बुझाइमा म सही छु र यही नै उनको बचाइको वास्तविक सत्य हो भन्नेमा ढुक्क पनि छु।

मलाई कृष्णबहादुर थापाबारे अर्को जानकारी पनि प्राप्त भएको छ, अब नेपाली साहित्यमा उनी अनन्त बाच्न सक्छन् र मामुली आफ्ना लागि होइन, कनिकुथी लेख्नका लागि लेखक बन्ने रहरबाट होइन, प्राकृतिक गुणयुक्त संवेदनशील चेतनाको सरल तरङ्ग र अन्तरहृदयको मानवीय मूल्यबाट उनी साहित्यकार भएर बाच्ने शक्तिशाली हैसियत राख्छन्।

यो कुरा उनका प्रकाशित कविता, मुक्तक, गीत लगायतका रचना संग्रहहरुले थप प्रमाणित गरेका छन् भने उनी समाजको यथार्थतामा जोडिएर, आधारभूत जनजीवनको सांस्कृतिक मूल्य, दुःख, दर्दसँग जोडेर रचना गर्ने र सधै देशभक्तिको अपराजेय मूल्यमा बन्धुत्वको भाव जागृत गर्न सक्ने विशेषता र विशेषज्ञता भएका जनमर्ममा आधारित देशभक्त लेखक हुन् भन्ने कुराको सन्देश उनको यो पछिल्लो कृति मर्यादित बुढेसकाल नामक कृतिले उद्घाटित गरेको छ।

मर्यादित बुढेसकाल भित्र के छ?

मर्यादित बुढेसकाल नामक यो पुस्तकको जन्म गर्भमा लेखकले जुन संवेदनशीलता सहित विषयको उठान गरेका छन्। सायद मानवता नै हराउँदै गएको आजको समाजमा यो दुर्लभ पुँजी हो भन्ने कुरा संवेदनशील पाठकहरुले यो पुस्तक पल्टाउना साथ बुझ्नेछन्। पुस्तकको आकारले मोटो पुस्तकदेखि तर्सिनेहरुलाई राहत दिएको छ। मोटो पुस्तकमा बानी परेकाहरुले पुस्तक पढेको खण्डमा यो पुस्तकभित्र सयौँ मोटा किताबका लागि सामाजिक विषय प्राप्त गर्न सक्ने छन्। वास्तवमा यो संवेदनशील मर्ममा जीवन्त रहेको छ।

यो पुस्तकभित्र आंशिक भूमिका लेखेर पनि भूमिका नभनी प्राध्यापक डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य भनेर जुन चातुर्यता सहितको न्याय गर्नु भएको छ, यो निकै लोभलाग्दो शैली हो। उहाँको यही चातुर्यताले समीक्षकलाई मेहनतपूर्वक कृतिमा डुब्न र कलम चलाउन सहजतापूर्ण बाध्यता सिर्जना गरिदिएको छ। कहिलेकाही पूर्ण भूमिकाले पुस्तकको लामो समालोचनाको आकार ग्रहण गर्ने र पुस्तकलाई नै ओझेल पार्ने खतरा रहन्छ आजभोलि यो एक प्रकारको पुस्तक र पुस्तापुस्ताका लागि दीर्घरोग नै हो कि जस्तो पनि मलाई अनुभूत हुँदै आएको बेला त्योभन्दा फरक उच्च विवेकमा आएको केसीको शुभकामनाले पनि पुस्तकले जस्तै समीक्षकलाई समीक्षाको निम्ति फराकिलो दायरा खडा गरिदिएको छ।

अर्को पक्ष लेखकले हिमाल, पहाड, तराई र गाउँशहर सबै क्षेत्रका जेष्ठ नागरिकका अनुभूतिहरुलाई यो पुस्तकमा कलात्मक ढंगले प्रस्तुत गर्नुले पुस्तक खोजमूलक बनेको छ। वास्तवमा समाजका जीउँदा र यथार्थ पात्रलाई समेटेर तिनको अनुभूति हुबहु उल्लेख गरेर पुस्तक तयार गर्नु आफैमा चुनौतीपूर्ण कुरा हो। तर, लेखकले सरलतापूर्वक यो पुस्तकमा यो आँट गरेको देखिन्छ, वास्तवमा यो पुस्तकको सबल पक्षमध्ये यो महत्त्वपूर्ण एक रहेको छ। लेखकले मर्यादित बुढेसकालका टिप्सहरु मात्र होइन मर्यादा के हो? भन्ने कुरालाई समेत यो पुस्तकमा जोडतोडका साथ उठाएका छन्। सामाजिक मर्यादाप्रति अत्यन्तै प्रतिवद्ध हुनुपर्ने मान्यताबाट।

प्रेरित भएका लेखकले आध्यात्मिक र पौराणिक मिथकलाई समेत उद्दरण गर्दै पुस्तकमा सामाजिक र नैतिक मर्यादाको महत्त्व र संवेदनशीलतालाई अत्यन्तै फराकिलो व्याख्या गरेका छन्। महाभारत युद्धको कारणबारे उल्लेख गर्दै द्रौपदीको चिरहरणसहित घटेका विविध घटनाको भित्रिकारण दुर्योधनको अहङ्कार र व्यभिचारलाई उद्दरण गर्दै लेखकले उक्त पुस्तकमा हाम्रो समाजमा देखापरिरहेका आजका दुर्योधनहरुलाई नयाँ दृष्टान्त दिएका छन्। लेखकले पुस्तक भित्रकै अर्को प्रसङ्गमा प्रस्तुत गरेको बालीको दुखान्त प्रश्नको उत्तर भगवान श्रीरामले जसरी दिएका छन्, त्यसमार्फत् लेखकले व्यभिचार कति कठोर दण्डनीय हुन्छ र हुन आवश्यक छ भन्ने कुरा पनि सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

समग्र पुस्तकलाई लेखकले बुढेसकालको जीवनलाई केन्द्र भागमा राखेको भए पनि यो पुस्तक बढीभन्दा बढी युवाहरुका लागि पनि उत्तिकै उपयोगी रहेको छ। वास्तवमा आज हाम्रो समाजलाई कस्तो ज्ञान र चेतनाको आवश्यकता छ भन्ने कुरामा लेखक अत्यन्तै सचेत र संवेदनशील भएको कारण यो पुस्तकको जन्म सम्भव भएको हो भन्ने प्रष्ट देखिन्छ। मुख्यतः यो पुस्तकलाई एक नैतिक शिक्षाको दिग्दर्शन भनेपनि फरक पर्दैन। पुस्तक केवल एउटा बुढेसकालको जीवनमात्र नभएर समग्र जीवनलाई पूर्ण मर्यादित बनाउन के–के कुराको खाँचो पर्छ भन्ने कुरा सायदै यो पुस्तकमा केही छुटेको होला जस्तो मलाई लाग्दैन। लेखकले अनेक उदाहरण र उद्दरणहरुले यस्लाइ पूर्ण रुप दिएको पाइन्छ।

असन्तुलित आहारविहारका असरदेखि चिकित्सकीय दृष्टिकोण र मानवीय शारीरिक परिस्करणका प्राकृतिक सत्यबीचका आधारभूत सम्बन्धहरु मात्र होइन रगतदेखि रगतसम्मका नाता सम्बन्ध र कर्तव्यप्रतिका भरोशा र अपेक्षा एउटै पुस्तकमा चर्चा हुनु आफैमा कठिन हुँदाहुँदै पनि मर्यादित बुढेसकाल नामक यस पुस्तकभित्र लेखकले सानदार रुपमा सम्भव तुल्याएका छन्। व्यक्तिको अर्थतन्त्र कस्तो हुनुपर्छ? भन्ने कुरा पनि यो पुस्तकको महत्त्वपूर्ण विषय रहेको छ।

आधारभूत रुपमा पूँजीको परिचालन र सञ्चयको सिद्धान्तलाई जीवन व्यवहारमा सही तरिकाले लागू गर्न सक्नु हरेक मानिसका लागि चुनौतीपूर्ण बन्दै गएको छ। यी र यस्तै विषयलाई केन्द्रमा राखेर उक्त पुस्तकमा लेखकले बुँदाबुँदामा मर्यादित जीवनका दृष्टिकोणहरुलाई अगाडि सारेको पाइन्छ। शिक्षा र श्रमको अनिवार्यता जीवनको आखिरी समयसम्म पनि किन जारी राख्नु जरुरी छ भन्ने कुरा उल्लेख गरिएको छ। यो पुस्तक आफैमा नैतिकता र मर्यादाको ध्योतकको रुपमा स्थापित हुनुले लेखकलाई पूर्ण सफल तुल्याएको छ।

लेखकलाई सुझाव

‘मर्यादित बुढेसकाल’ नामक पुस्तकको जुन आवरण छ, यसमा लेखक स्वयम्को तस्वीर उल्लेख छ। वास्तवमा आवरणचित्र लेखक स्वयम्को तस्वीर नभएर नेपाली लोकजीवनको अर्कै कलात्मकता समेटिएको भए पनि राम्रै हुन्थ्यो भन्ने मलाई लागेको छ। तथापि यो कुनै ठूलो कुरा होइन, तर मलाई यो पुस्तकमा अलि गम्भीर कमजोरी नै हो कि जस्तै लागेको अर्को विषय अक्षर संयोजनमा देखिएको छ। यस्तो राम्रो कागज र केन्द्रीयस्तरको प्रकाशनमा यस्तो हुनुलाई सहज लिनु हुँदैन भन्ने मेरो सुझाव रहेको छ। छिटफुट रुपमा भाषागत कमजोरी देखिएको छ।

यो पुस्तकमा लेखकबाट जसरी विषय उठान भएको छ, विषयको अन्त्यमा पनि त्यो सामाजिकताको यथार्थता झल्किएर टुङ्गिएको भए अझै सुनमा सुगन्ध हुने थियो। वास्तवमा यी कमजोरीको रुपमा जे टिप्पणी गरियो यथार्थमा यो पुस्तकको मर्ममा खास कुनै अर्थ राख्दैन। यो धेरै साहित्यिक र वैचारिकभन्दा धेरै प्राविधिक कमजोरी मात्र हुन्, त्यसैले यो पाटोले पुस्तकको वैचारिक धारलाई असर पारेको छ भन्न चाहिँ पटक्कै मिल्दैन।

अन्त्यमा, लेखक कवि गीतकार कृष्णबहादुर थापाले १४७ पृष्ठ लामो पुस्तकमा कहीकतै पनि क्लिष्ट भाषाको प्रयोग गरिएको पाइएन। यस्तो गम्भीर पुस्तक यस्तो सरल भाषामा लेख्न कसरी सम्भव भयो होला? हरेक पाठकलाई पक्कै पनि यो जिज्ञासा लाग्ने छ। पुस्तक पढ्दा कही पनि अल्छी र पट्यारलाग्दो अनुभूति हुँदैन बुँदा–बुँदामा अभिव्यक्त विषय र विचारले यो रोचक र चाखलाग्दो बनेको छ। अर्को कुरा यो पुस्तक नैतिक सामाजिक मूल्यमा आधारित पुस्तक बनेको छ। बृद्धअवस्थाको जीवन भोगिरहेकाहरुका लागि यो जति उपयोगी छ त्यति नै मात्रामा आजका युवा विद्यार्थीहरुलाई पनि उपयोगी रहेको छ।

समग्रमा यो पुस्तक आजको नेपाली समाजको आवश्यकतामा आधारित शिक्षा र चेतनामा केन्द्रित रहेर लेखिएको उच्च नैतिक र उच्च बौद्धिक पुस्तकको रुपमा तयार भएको छ। यस्तो सबैको निम्ति उपयोगी संग्रहणीय एवम् पठनीय यो पुस्तक कुन बिधा अन्तरगतको पुस्तक हो भन्ने कुरा पाठकलाई जिज्ञासा अवश्य जाग्ने छ, तर मेरो विचारमा यो पुस्तक पेज ९३० सामाजिक यथार्थमा आधारित वैचारिक एउटा सशक्त निबन्ध संग्रह हो। यस्तो उच्चकोटीको निबन्ध संग्रह तयार गरेर पाठक माँझ पु¥याउन सफल भएकोमा साहित्यकार लेखक कृष्णबहादुर थापालाई बधाई दिँदै पुस्तकको पूर्ण सफलताको कामनाका साथ निरन्तर लेखनको शुभकामना व्यक्त गर्दछु।

प्रकाशित : १६ पुस २०७६, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: