मसरुद्दिन मियाँ मरेछन्!


सेबिता अधिकारी अनुजा

कविता:

पोहोर सालको जाडोमा
बीस वटा जति कम्बल
बीस वटा जति स्कूले केटाकेटीका स्वेटर
र, त्यस्तै बीस वटा जति धोती लिएर

घेराबारी आइपुगेका समाजसेवीहरुलाई
उनले आफ्नै हातले स्वागत गरेका थिए,
तर, यो वर्ष ती विकासवादी, ठूल्ठूला समाजसेवी,
गाउँमा स्वेटर, कम्बल र धोती बाढ्न आउनु अघि नै
मसरुद्दिन मियाँ मरेछन्।

पोहोर उनीसँग खिचाएका तस्बिर,
निकै चले अरे’ सहरतिर निकै चर्चा भयो अरे!
हुन त लाखौँकै बजेट आएको’थ्यो रे!,
तर, ती देहाती गाउँका मसरुद्दिनहरुले
२०–२० वटा कम्बल देख्न पाए,
स्कोरपियो चढेर आएका उनीहरु फर्किए,
तर, यसपालिबाट मसरुद्दिन फर्किने छैनन्।

उनका लागि कुनै सामान लग्दिनु पर्दैन,
बजेटै जोगिन्छ,
१९ वटा कम्बल, अनि सबै सामान १९–१९ वटै।
ए, होइन १८–१८ वटा लगे हुन्छ,
त्यो अस्ती देउनियाको भेलमा
बुधरानी राजवंशी बेपत्ता भइन्
सायद,
उनको याद मात्रै फर्किने छ अब।

शितलहर चल्न सुरु भएको धेरैदिन भ’को छैन।
पोहोर सालको त्यस्तो जाडो काटेका मसरुद्दिनले
६२औँ बसन्त पार गर्न पाएनन्
पोहोरै हो आफ्नो डेढ वर्षे नाती जाडोले
ख्यार–ख्यार गर्दा–गर्दै निमोनियाबाट गुमाए,
यसपालि आफैँ गए।

भोटको विजयी जुलुसबाट फर्कंदा उनी भन्दै‘थे,
‘कम्निस्टको शासन आयो,
अब त जाडो जान्छ
जाडोमा न्यानो पाइन्छ
पेटमा तातो लाग्छ,

तर, जाडो जान्थ्यो जादैनथ्यो को नि
उनको पेटमा तातो पर्थ्यो–पर्दैनथ्यो,
मसरुद्दिन चै गए,
न अब उनलाई जाडोले नै छुन्छ,
न त बुधरानीलाई बगाउने देउनियाको भेलले नै।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: