भारती न्यौपाने –
आमा!
किन खोस्छन् मानिसहरू मेरो शरीरमा बगिरहने रातो रगत?
रातो घाँघरमा सजाएर पुतली झैँ
तिमीले रङ्गाएकी हौ पहिलो पटक मेरो सहर।
गुलाबी रङसँगसँगै हुर्किएको मेरो जवानी त तिम्रो उपहार हो आमा!
रङ्गीन संसार चिनाउने तिम्रा रहरहरूसँगै म भएर बाँच्न सिकेकी हुँ।
तर,
किन? मानिसहरू मलाई
मेरै मझेरीमा सेताम्य हुने गरी
नङ्ग्याउँछन् आमा!
तिमीले बगाएका
रगतका छिर्काहरू राता थिए?
हो आमा! तिमीले प्रेम र स्नेहले भरेको मेरो उहिल्यैको रगत रातो थियो।
अहिले,
सबै खोस्दै छन् मेरा रक्तिम प्रवाहहरू तर पनि
रातो रगत मुटु हुँदै नशामा बगिरहन्छ।
आमा!
मेरो शरीर रातो रगतले बनेको छ।
राता र गुलाबी रङहरू प्रकृति आफैँ फुलाउँछिन्
आमा!
मेरो शरीरको रातो रगत ज्वालामुखी झैँ रक्तिम छ ।
हो आमा!
म रक्तिम झण्डामा मेरा रगतका रङ्गीन बुट्टा भरेर
समाज परिवर्तनको लहरमा निस्कने छु।
अब,
एउटा कर्म तिमीले गर्नु पर्छ आमा!
तिमीभित्रको रातो रगतलाई निष्कलङ्क रातो छ भन्नुपर्छ।
अनि,
तिम्रा हरेक छोरीहरूको मुटुमा रातो रगत बग्ने छ ।
हो आमा! सामर्थ्य छ भने तिमीसित, ज्वाला लिएर निस्क अनि पखालिदेऊ तिमी
सेतो रगत अब कतै निशानी नरहने गरी।
हात्तीवन ललितपुर
प्रतिक्रिया