
काठमाडौं – सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले माइतीघर मण्डलालाई प्रदर्शन निशेधित क्षेत्र घोषणा गरेको विरोधमा शनिबार पनि र्याली तथा भद्र अवज्ञा आन्दोलन गर्ने भएको छ।
सामाजिक अभियन्ता प्रितम सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरेको विरोधमा अलायन्सले शनिबार मध्यान्ह १२ बजे भद्र अवज्ञा आन्दोलन गर्ने भएको हो।
सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहले कू गरी संकटकाल लगाएका बेला पनि माइतीघर मण्डलालाई प्रदर्शन निशेधित क्षेत्र घोषणा नगरेको उल्लेख गर्दै वर्तमान गणतान्त्रिक सरकारले जनताको मौलिक हक उल्लंघन गरेकाले दबाब दिन अवज्ञा आन्दोलन गरिएको जनाएका छन्। ‘सरकारी निर्णय फिर्ता नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने।
भद्र अवज्ञा आन्दोलनमा स्वास्थ्य शिक्षाको सुधारका लागि निरन्तर संघर्षरत प्रा.डा. गोविन्द केसी, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल तथा अन्य सामाजिक अभियन्ताहरुको उपस्थिति रहने छ।
नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, म रैती होइन, सार्वभाैम नागरिक हुँ अादि नारा लेखेका प्लेकार्ड र व्यानरसहित प्रदर्शन हुँदै अाएको छ।







प्रतिक्रिया