कांग्रेस रूपान्तरणको एजेण्डा


विश्वप्रकाश शर्मा।

विश्वप्रकाश शर्मा


नेपाली इतिहासका अनेक समयलाई आफूअनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैंलाई समयानुकूल बदल्ने चुनौती र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रूपान्तरण भएर पुरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजयपश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ ।

इतिहासका अनेक मोडमा कहिले संघर्ष, कहिले सत्ता, कहिले जय, कहिले पराजय भोग्दै आएको यो पार्टी आजको चुनौतीपूर्ण समयखण्डलाई एकताबद्ध भएर सामना गर्न समर्थ हुनैपर्छ र हुनेछ । कांग्रेसका आम शुभचिन्तकको आग्रह र दबाब छ– पराजयको यो घडी कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रूपमा विकसित गर्न यात्रारम्भ गर्ने ऐतिहासिक अवसर बन्नुपर्छ ।

पराजयका ६ आन्तरिक कारण

१) मुर्झाएको आत्मीयता

पञ्चायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस एकाइ झापाको आध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटोजस्तै कति आत्मीयता थियो साथी र साथीहरूबीच । तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं, तब त्यागको भावना प्राप्तिको जुनुनमा बदलियो । आन्तरिक प्रतिस्पर्धालाई सिस्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन । परिणाममा आत्मीयता मुर्झायो अनि दृश्यमा प्रकट भयो। गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने आपसंस्कृति । आफ्नाले नै आफ्नालाई खुइल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगीन बनिरहन सम्भव थिएन । यसरी सुरु भयो सगरमाथाको उचाइबाट ओरालो झर्ने हाम्रो यात्रा । मुर्झाएको आत्मीयताले अन्तर्घातको अन्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र अनुच्छेदहरू नियतिले उसबेलै कोर्न सुरु भइसकेको थियो ।

२) छविमा क्षति

‘मास’ मा आधारित राजनीतिक दलको चुनावी विजयको पहिलो आधार नै उसको छवि हुन्छ । राम्रो छवि बनाउन राम्रा काम गरेर मात्र पुग्दैन, त्यसको प्रचार आम नागरिकको हृदयलाई छुने ढंगले गरिनैपर्छ । छवि नराम्रो बन्न भने एउटा अप्रिय काम गरे पुग्छ, त्यसको प्रचार अरूले नि:शुल्क गरिदिन्छन् । हाम्रो तीनवटा कमजोरी रह्यो, छवि उच्च बनाउन नसकेको सन्दर्भमा–

क) कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रो कामलाई ‘ब्रान्डिङ’ गर्दै आघि बढ्ने चुस्त रणनीति सायद हामीले आवश्यक नै ठानेनौं । त्यो गर्न सकेको भए शान्ति, संविधान आनि प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि मुलुकले हासिल गरेको केही समृद्धिको बाहक कांग्रेस नै हो भनेर स्थापित गर्न सकिन्थ्यो र त्यो छविले मतदाताको मन र मत जित्न हामीलाई सघाउ पुग्थ्यो ।

ख) सरकारमा रहेर गरिएका कतिपय निर्णय तत्कालीन जनमतको प्रतिकूल हुँदै छ र यसले हाम्रो छविलाई गहिरो असर पुर्‍याउँदै छ भन्ने हेक्का नराख्नु सामान्य कमजोरी थिएन । इतिहासको गौरवभन्दा तत्कालीन मुद्दाहरूको रौनक निर्वाचनमा निर्णायक हुन्छ भन्ने तथ्यलाई आत्मसात् गर्न नसक्दा त्यसको लाभ हाम्रो विपक्षी गठबन्धनलाई पुग्यो ।

ग) पार्टी र पार्टी नेतृत्वको छवि विश्लेषण, परिकल्पना, निर्माण र परिमार्जन गर्न छरितो टिम निर्माण गर्नुपर्ने आवश्यकता हामीले कहिल्यै महसुस गरेनौं । पछिल्लो समय विश्वमा प्रयोगमा आइरहेको ‘वार रुम’ को अवधारणा चुनावी परिणाम पक्षमा ल्याउन कारगर साबित हुँदै गएको छ । तर, हामी भने परम्परागत चुनावी शैलीमै अल्मलियौं । फलत: वाम गठबन्धनको आक्रामकतालाई निस्तेज तुल्याउन सकिएन ।

३ महत्त्वपूर्ण मुद्दाहरूको बहिर्गमन

नेपालमा समावेशी अपनत्वको प्रारम्भ जननेता बीपी कोइरालाले गर्नुभएको थियो । पार्टी महामन्त्री पदमा दलित सहयोद्धाको चयन होस् या आफ्नो मन्त्रिमण्डलमा लिम्बू, राई, नेवार, मधेसी, थारू, थकाली, गुरुङ या महिलाको छनोट होस्– बीपीले सम्पादन गर्नुभएको त्यस्तो कर्म नेपालका सबै राजनीतिक दलले व्यावहारिक कार्यान्वयन गर्न मुलुकको संविधान र पार्टीहरूको विधानले निदेर्शित गर्नुपर्‍यो । यसको चोट कांग्रेसले बढी झेल्यो किनकि समावेशिताको दृष्टिकोण, मुद्दा र अगुवाइ हाम्रो हो, आदिवासी जनजाति, मधेसी, दलित, महिला सबैको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र पहिचानको मुद्दा हाम्रो हो भनेर स्थापित गर्न हामी चुक्यौं, परिणाममा हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो, अरूको किराना पसल भरिँदै गयो । अन्तत: हामी चुनाव हार्‍यौं ।

भूकम्पको गहिरो चोट बेहोरिरहेका बेला हाम्रो देशले भारतीय नाकाबन्दीको प्रहार झेल्नुपर्‍यो । बाह्य दबाबलाई अस्वीकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम थियो त्यो नाकाबन्दी । तर त्यसको प्रतिवाद खुलेर गर्नबाट हामी चुक्यौं । परिणाममा अरूले महान् राष्ट्रवादीका रूपमा आफूलाई स्थापित गर्न पाए र राष्ट्रवादको मुद्दामा हाम्रो सार्वजनिक पकड कमजोर बन्नुको परिणाम चुनावमा भोग्नुपर्‍यो ।

४) सम्प्रेषण क्षमतामा ह्रास

राजनीतिको मैदानमा कुनै पनि दलको सम्प्रेषणको क्षमतालाई प्रतिस्पर्धी दलको सम्प्रेषण क्षमतासँग दाँजेर अध्ययन र अवधारणा निर्माण गर्ने प्रचलन विश्वव्यापी छ । हामी यसमा कमजोर रह्यौं । भनाइ नै छ– बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ, नसक्नेले मधेसमा आइसक्रिम पनि बेच्न सक्दैन र हाम्रो सन्दर्भमा भयो त्यही । सम्प्रेषण सम्बद्ध अर्को पाटो हुन्छ– प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार । केन्द्रीय तहबाट त्यसका लागि आवश्यक तरंग सिर्जना भएन। परिणाममा हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वाम गठबन्धनको ‘अफेन्सिभ’ रणनीतिले परास्त गर्नु अनौठो रहेन ।

५) ओझेलमा परेको भविष्य दृष्टि

बीपी कोइरालाले प्रधानमन्त्री छँदा उद्घोष गर्नुभएको थियो– पन्ध्र वर्षभित्रमा हरेक नेपालीलाई म आफ्नो जस्तै आर्थिक अवस्थाको बनाउँछु । बीपीको त्यो अभिव्यक्ति शैलीले एकसाथ तीन कर्म गरेको थियो । एक, देशका सामु निश्चित सपनाको प्रस्तुति । दुई, त्यसलाई पूरा गर्ने निश्चित समयको पूर्वघोषणा । तीन, नागरिकको हृदय छुने गरी ‘आफूजस्तै बनाउने’ भावनात्मक तरंगको सिर्जना । ०४६ को परिवर्तनपछि हाम्रो नेतृत्वमा मुलुकको समृद्धिको दिशामा कैयौं महत्त्वपूर्ण कार्य भए हिंसात्मक द्वन्द र अनेक प्रतिकूलताका बीच । तर नागरिकको हृदय छुने तरंग सिर्जना गर्न हामीले सकेनौं । बीपीको परिपक्व शैली हामीले पछ्याउन नसक्दा एकातर्फ समृद्धितर्फको हाम्रो कर्म नागरिकको हृदयको प्रिय हुन सकेन भने अर्कातर्फ घोषणापत्रबाट जारी हाम्रो भविष्य दृष्टिलाई कर्णप्रिय बनाउन सकेनौं ।

६) परम्परागत सांगठनिक शैली 

समय बदलियो, चुनौती बदलियो, प्रतिस्पर्धीहरूको क्षमता र एकता पनि बदलियो । तर, बदलिएको चुनावी चुनौती बदल्न सक्ने गरी हामी बदलिएनौं । परिणाममा हाम्रो आकार बदलियो । कर्पोरेट हाउसजस्तो एउटा र सैन्य मैदानबाट आएको अर्को, दुई कम्युनिस्ट पार्टी एकीकृत हुने घोषणासाथ गठबन्धन बनाएर चुनावी मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्वतत्परता हाम्रो बिल्कुलै भएन । केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरूको आधुनिकीकरण हुन सकेको भए क्षति न्यून हुन्थ्यो ।

सैद्धान्तिक पुन:व्याख्याको प्रश्न

नेपाली कांग्रेसले स्थापनाकालमा घोषणा गरेको लक्ष्य र सपनाले सफलताको उचाइ हासिल गरेको छ । अत: अब कुन बाटो, सिद्धान्त कस्तो र के कार्यक्रम भन्ने बहस र जिज्ञासा स्वाभाविक हुन आएको छ । तर, सँगैमा हामी के कुरामा प्रस्ट हुनुपर्छ भने मुलुकको सुन्दर भविष्यका लागि हामीले देखेको सपनाको साधन मात्र स्थापना भएको छ, बाटोको स्थापना नै लक्ष्यको पूर्ण प्राप्ति होइन । अत: समृद्ध नेपालको साध्यमा पुग्न नयाँ भिजनका साथ पुरानो बाटोमा निरन्तर अविचलित रूपले अघि बढ्नुपरेको छ ।

क) भिन्नताबीच अभिन्नता : बलियो राष्ट्रियता

भिन्न मत, भिन्न भूगोल र भिन्न जातिलाई अभिन्न ढंगले गाँसेर अघि बढ्ने समाज नै दुनियाँमा प्रगतिको उचाइ उक्लिएका छन् । समाजलाई एकताको सूत्रमा गाँसेर अघि लैजाने मुद्दा कहिल्यै पुरानो हँुदैन । नेपालको राष्ट्रियताको मूल चुरो नेपाली समाजको एकता र अग्रगतिमा सन्निहित रहेको कांग्रेसको ठहर छ । अत: नेपाली माटोमा उम्रिएको नेतृत्व र हुर्किएको विचारका साथ नेपाली कांग्रेस विगतमा झैं आगामी दिनमा पनि समाजलाई गाँसेर अघि बढ्ने ऐतिहासिक दायित्वलाई केन्द्रमा राखेर अघि बढ्नेछ ।

ख) लोकतन्त्र स्थायित्वको आधार: लोकतान्त्रिक संस्कृति र व्यवहार

लोकतन्त्र स्थापनाको संघर्ष र संवैधानिक अवतरणमा अविचलित नेतृत्वपश्चात् अबको चरण लोकतान्त्रिक संस्कृति विकासको हो । संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा अधिनायकत्वको सपना देख्नेहरू आज संसदीय व्यवस्थाको मलामी होइन, जन्ती बन्न पुगेका छन् । कांग्रेसका लागि इतिहासकै सबैभन्दा ठूलो विजय हो यो । अबको हाम्रो मिसन यही प्रणालीको स्थायित्वका लागि लोकतान्त्रिक संस्कृति विकासको हुनेछ ।

ग ) संघीयता: संवर्द्धन र सफलताको कर्तव्य

प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरिरहेको जनवादी केन्द्रीयताको मनोविज्ञान संघीयताको सुन्दर भविष्यका लागि सुखद संकेत किमार्थ छैन । संघीयताको अर्थ शक्तिको अधिकतम विन्यास हो तर कम्युनिस्ट दर्शनको मौलिकता शक्तिको केन्द्रीकरणमा निहित हुन्छ । यस्तो परिदृश्यमा संघीयताको घोषणा, संघीयतासहितको संविधान निर्माण र निर्वाचनमार्फत् संघीयता कार्यान्वयन– यी तीनवटै चरण नेपाली कांग्रेसका तीन प्रधानमन्त्रीले सम्पादन गरेको निकट इतिहास स्मरण गर्दै शिशु संघीयताको रक्षा र संवद्र्धनको कर्तव्य पनि कांग्रेसकै हो भन्ने हामीले बिर्सन मिल्दैन ।

घ) ‘समाजवाद उन्मुख’ को नेपाल प्रक्षेपण

संविधानको ‘समाजवाद उन्मुख’को अमूर्त चिन्तन र विवादास्पद व्याख्या अबको हाम्रो समाजको अग्रगतिका लागि जटिल पहेली बन्न पनि सक्छ । खासगरी त्यो बेला, जुन बेला कम्युनिस्ट पार्टीहरू सत्तारूढ हुन पुगेका छन् । तर, हाम्रो मान्यता प्रस्ट छ– संसदीय लोकतन्त्र र अहिंसाका माध्यमबाट समाज रूपान्तरण गर्दै मिश्रित आर्थतन्त्रको बाटोबाट सामाजिक न्यायसहितको समृद्ध नेपाल लोककल्याणकारी समाजवादी राज्य हो र हुनेछ ।

-बितेको आढाइ दशकमा हिंसा र अस्थिरताको चुनौतीबीच मुलुकमा जेजति आर्थिक प्रगति भएका छन्, त्यो कांग्रेसको नेतृत्व र नीतिमा चालिएको मूलत: समाजवादतर्फको कदम हो ।

-केही पपुलिस्ट कार्यक्रमको तर्जुमा बेग्लै कुरा तर वाम गठबन्धनको सरकारले पछ्याउने नीति अन्तत: कांग्रेसकै अर्थनीति हो । कम्युनिस्ट दर्शनले विश्वास गरेको अर्थनीति लागू गर्न : एक, उनीहरूले सक्नेछैनन् ।

दुई, लागू गर्न प्रयत्न गरे किमार्थ सफल हुने छैनन् ।

-यस्तो सम्भाव्य परिदृश्यमा ‘समाजवाद उन्मुख’को सामयिक व्याख्या र सुस्पष्ट भिजनका साथ आगामी डेढ दशकको नेपाल प्रक्षेपण गर्नु कांग्रेसको कर्तव्य हुन जान्छ ।

-कांग्रेसको नीतिमा आधारित रहेर खडा भएको पूर्वाधारमा टेकेर नै अबको समृद्धि यात्रा अघि बढ्न सक्छ। हाम्रो नीतिको कार्यान्वयन क्रममा हुन पुगेका कतिपय त्रुटि परिमार्जन गर्न सक्ने सामथ्र्यको विकास पनि कांग्रेस रूपान्तरणतर्फको एउटा पाटो हुनेछ ।

रूपान्तरणका प्रस्तावित परियोजना

एक पुरानो राजनीतिक दललाई रूपान्तरण गरेर नवीन तुल्याउने सन्दर्भमा पार्टीका साथीहरूबीच आवेगमुक्त विमर्श जरुरी छ । सोही क्रममा मैले कांग्रेस रूपान्तरणका लागि १३ वटा लक्ष्य, ३ दर्जन प्रक्रिया एवं त्यसबाट हासिल हुन सक्ने १३ परिणामका टिपोटसहित बैठकमा छलफलका लागि प्रस्तुत गरेको छु । केन्द्रीय समितिभित्र र बाहिरबाट समेत प्रस्तुत भइरहेका कांग्रेस रूपान्तरणका अवधारणाउपर देशव्यापी छलफल पार्टीभित्र गरेर महासमितिमार्फत संगठित निक्र्योल गरेर हामी अघि बढ्नु छ । सांगठनिक कार्यक्रम व्यवस्थित बनाउने लक्ष्य हासिल गर्न पाँच वटा प्रक्रिया बैठकमा प्रस्तुत गरेको छु ।

कांग्रेस पार्टीलाई डिजिटलाइज गर्ने पाँच कदम, नीति तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत नीति अध्ययन र विश्लेषणको थिंकट्यांक निर्माण र त्यसलाई छलपफल र निष्कर्षमा पुग्न ९ वटा तात्कालिक विषय पनि प्रस्तुत गरेको छु । ग्रास रुटमा पार्टी सुदृढीकरण गरी जीवन्त तुल्याउन ६ वटा आवधारणा, हरेक खाली हातलाई काम सुम्पने गरी ‘जगेडामुक्ति’ को धारणा पेस गरेको छु । एक शक्तिशाली राज्य प्रशासन विभाग र त्यसले गर्नुपर्ने कार्य र कार्यशैलीका सन्दर्भमा पनि मेरो प्रस्ताव छ । पार्टीका क्रियाशील सदस्यहरूलाई भूगोलसँगै विभिन्न मनोवैज्ञानिक समूहमा व्यवस्थित गरेर परिचालित गर्ने दृष्टिकोण उचित हुन्छ या त्यसलाई खारेज गरेर साधारण सदस्यलाई नै सो अधिकार प्रत्यायोजन गर्न उचित हुन्छ भन्ने दुई भिन्न खाका पनि प्रस्ताव गरेको छु । आलोचनात्मक चेतसँगै आत्मानुशासनको सुदृढ बन्दोबस्त आज हरेक राजनीतिक दलमा अपरिहार्य बन्न पुगेको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि टोल समितिका सदस्यसम्मले बाँधिनुपर्ने आचारसंहिताको व्यवस्थित बहसको प्रस्तावना पनि छ।

अन्त्यमा: लामो राजनीतिक यात्रामा हिंडेको नेपाली कांग्रेस पार्टी न त विजयको क्षण ढुक्कले न पराजयको क्षण बेचैनीले निदाउन स्वतन्त्र छ । कांग्रेस थियो र छ त्यसैले स्वाधीनता, समावेशिता, शान्ति स्थापना, लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान अनि त्यसको कार्यान्वयनसम्मको यात्रा देशले पूरा गर्न सक्यो । हामीले थालेको समाजलाई गाँस्ने अभियान र समृद्धिको यात्रा अधुरै छ । त्यसैले नयाँ ढंगले जुट्नु र नवीन विश्वासका साथ उठ्नुको अर्को विकल्प हामीसँग छैन । एकता र अन्तरविश्वासलाई जागृत गर्दै हामीले अबको यात्रा तय गर्नु छ । हामी बदलिन्छौं र कांग्रेस बदल्नेछौं भन्ने हाम्रो संकल्प र विकल्पको अर्को कुनै विकल्प छैन ।

(नेपाली कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो) 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: