भ्रष्टहरुले गाँजेको समाजमा सत्य, तथ्य र अनुशासन सिकाउने गणित र विज्ञानको के काम?


भविन धिताल।

विज्ञान प्रयोगमा भर पर्दछ। विज्ञान अन्तर्गत जीवविज्ञान, रसायन विज्ञान, भौतिकविज्ञान लगायत धेरै हाँगाहरु छन्। हरेक घटनाक्रमलाई प्रयोगमा आधारित भएर सत्य हो कि होइन भनि जाँच्नु, जाँच्नुअघिको परिकल्पनालाई सत्य भए सिद्धान्तको रुप दिनु, त्यही सिद्धान्तमा रहेर मानव जीवनका उपयोगी उपकरणको विकास गर्दै भविष्यको खोजी गर्नु विज्ञान हो, विज्ञानको क्षेत्र हो।

नेपाली समाज र विज्ञान

एक साधारण किसान परिवारमा जन्मिएर रुपैयाँ २० पर्ने चप्पल प्याट्प्याट् पड्काउँदै स्कूल जाने ठिटो अमेरिकामा विज्ञानको खोजमा विद्यावारिधिका लागि गएको छ भनी गर्व गर्ने हाम्रो समाज अनि हाम्रो घरका मान्छे ‘कति पैसा कमाउँछौं?’ भनी प्रश्न गर्छन्। जब पैसा कमाई नहुने अनि दिनभरि टाउको तताएर पढ्ने र नयाँँ कुराको खोज गर्नेभन्दा मान्छेहरु अनुहार बिगार्छन्। ज्ञान र विज्ञानको खोजमा हिँडेकाहरुलाई, जग्गा दलाली र भ्रष्टाचारीहरुसँग तुलना गर्दै मानवीय सम्वेदनामा आघात पुर्याउने संस्कारबाट हुर्केको हाम्रो समाजमा विज्ञानको अध्ययन र ज्ञान कति छ भन्ने कुरा स्पष्ट हुन्छ।

भैरव अर्यालले भनेजस्तै ‘बिरालीको घिउँ बेचेर भएनि बुहारीको जिउँ बेचेर भएनि पैसा कमाउनुपर्यो’ भन्ने नारालाई छोराछोरीको जन्म भएसँगै आत्मसाथ गर्दै छोराछोरीलाई स्कूल पठाउने बुबाआमाले छोराछोरीलाई ‘धेरै पढ्नु’ भने। पढेर धेरै पैसा कमाई हुने लोभ र आशामा लगानी गरेका छन्। पढेर अनुशासित हुने, नयाँ कुराको खोज अनि मानव जीवन उपयोगी परिवर्तन र विकासका लागि अघि बढ्ने ज्ञान दिएनन्। बिलाशिता र सुखका लागि नयाँं आविस्कार चाहिने र त्यसका लागि विज्ञानको विकास अपरिहार्य रहने कुराको ज्ञान नहुँदा हाम्रो समाजपछि रह्यो।

नयाँ पाठ्यक्रममा विज्ञान

विज्ञान र गणित एकै सिक्काका दुई पाटा हुन्। एक बिना अर्को सम्भव हुँदैन। विज्ञान सत्य हो। सत्य नै धर्म हो। सत्य जहिले पनि एक रहन्छ। पानीलाई मन्दिरमा लगेर तताएपनि १ सय डिग्री सेल्सियसमा उम्लन्छ, मस्जिद, चर्च जता लगेपनि त्यसको धारण गरेको धर्ममा परिवर्तन आउँदैन।

हाम्रो पाठ्यक्रममा परिवर्तन गर्नैपर्ने छ। गणित विषयमा पढिएको नेगेटिभ फ्याक्टोरिअलको कुराले न्युक्लियरशास्त्री डा. अनाटोली र्याडुस्किनले नेपाली पूरानो हाइस्कूल पढेर आएको भनि बिल्ला गरे। डा. उदयराज खनालको भनाईअनुसार अमेरिकाबाट हानिएको बम नेपालको काठमाडौँको कुनै ठाउँमा सियोको टुप्पो जस्तो बिन्दुमा खसाल्न सकिन्छ। तर, हामी त्यस्ता सम्भावना अनि विकासको विचार गर्दैनौँ। देश चलाउने कार्यकारी जो हात हेराउन ज्योतिसकोमा जान्छन्। अनि मन्दिरमा गएर बली चढाउँछन्, आफूलाई कम्युनिष्ट अनि भौतिकशास्त्री मान्नेहरु ‘महेशपुजनम्’ भन्दै पशुको पूजामा आफ्नो भविष्य देख्छन्। त्यस्ता महान् तथा गौरवशाली नेताबाट स्वयमको विकास त सम्भव छैन, देश अनि विज्ञानको विकास असम्भव नै छ।

विद्यालय शिक्षामा ९ र १० दुवै वर्षको गणित र विज्ञानको पढाई गरेर परीक्षा दिनुपर्ने एसएलसी परीक्षा हटाएर हामीले पाठ्यक्रम परिमार्जन गर्यौं। अब पढ्नलाई गाह्रो भयो भनि आधारभूत विज्ञानलाई पनि हामी हटाउँदै छौं। विज्ञान र गणित एकैसिक्काका दुई पाटा भएकाले यिनीहरुलाई अलग्याउन मिल्दैन। भौतिक विज्ञानको जगमा मान्छेले धेरै प्रगति गरिसकेको छ। विभिन्न उपकरणले मानव जीवन सजिलो भएको छ। विभिन्न रोगहरुको निवारणका लागि नयाँ–नयाँ खोज र विकास भएको छ। विद्यालय र विश्वाविद्यालयको विकास गरी विज्ञान र प्रविधिको क्षेत्रमा ठुलो खोज र विकास भइरहेको छ।

विश्वविद्यालयको कुरो त परै जाओस्, हामी विद्यालयको पाठ्यक्रममा नै अल्झिराखेका छौं। के राख्ने, के नराख्ने, के पढ्ने के नपढाउने? हामी अन्योलमा छौं। विद्यालयको विज्ञान शिक्षा निकै कमजोर छ। त्यसमा कुनै प्रयोगात्मक ज्ञान राखिएको छैन। विश्वविद्यालयको विज्ञान शिक्षामा पनि विदेशी नक्कल गर्दै पाठ्यक्रम निर्माण गरिएको छ, त्यसको कुनै प्रभावकारीताको लेखाजोखा छैन। विश्वबैङ्कको पैसा हराउँला भनेर छिटो–छिटो हामीले एक वर्षे पाठ्यक्रमलाई सेमेस्टर प्रणाली बनायौं। घोक्ने र घोकाउने परिपाटीबाट हामी दौडिरहेका छौं।

विज्ञान गरेर हुने कुरा हो। बोलेर विज्ञान हुँदैन। हुन त उखान टुक्काले गाँजेको हाम्रो देशमा विज्ञानको बहस गर्नु जरुरी त्यति सान्दर्भिक देखिँदैन। अबको नयाँ पाठ्यक्रममा विज्ञान हटाएर ‘उखान–टुक्का’लाई प्रमुख पठनपाठनको विषय बनाउँदा बरु सरकार र समाजमा एकरुपता आउन सक्छ। कर छली, जग्गा दलाली, कोरियन, जापानीज लगायत खाडी मुलुकका भाषालाई पाठ्यक्रममा समेट्दा बरु स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई प्रगति गर्न सजिलो हुन सक्छ। फटाई, जालझेल र भ्रष्टाचार सिकाउने हाम्रो समाजमा सत्य, तथ्य र प्रकृतिको अनुशासन सिकाउने गणित र विज्ञानको के आवश्यकता?

विज्ञानमा लगानी महँगो हुन्छ। करिब नेपाली ५ लाख रुपैयाँ देशले लगानी गरेर मास्टर डिग्री गरेका भौतिकशास्त्रका विद्यार्थी देशै छोडेर विदेशिने तितो यथार्थ छ। रसायन विज्ञान र अरु विज्ञानको विद्यार्थीको पनि त्यही हाल छ। तिनीहरुलाई फिर्ता बोलाउन देशमा वातावरण छैन। लगानी ठूलो चाहिन्छ। बरु स्कूले पाठ्यक्रमबाट विज्ञान र गणित विषयलाई फितलो बनाउने हो भने विज्ञान पढ्ने विद्यार्थी घट्न जाने, विदेश जाने काम हुने, गएपनि खाडी मुलुक जाने र रेमिट्यान्स बढ्ने, त्यही पैसाले समृद्धि र सुनौलो नेपाल बनाउने कुरा सजिलो हुनेछ। यसरी खोस्टा भएका अनि निष्ठा नभएका कम्युनिष्टबाट चालिएको नयाँ दूरगामी कदम पनि हुनसक्छ।

‘नहुने माया लाइयो, टन्टो बिसाइयो’ भनेझैँ विज्ञान र गणितलाई हटाएर देश विकासमा अघि बढ्ने नयाँ गुरुयोजना पनि हुनसक्छ। अन्तर्राष्ट्रिय विश्वाविद्यालयबाट दान गरिएको मान्यता प्राप्त पिएचडीवालाहरुले हाँकेको देशमा हावाबाट बिजुली, पानीजहाज, मोनोरेल, घर–घरमा सिंहदरबार, घर–घरमा ग्याँसका पाइप सबै पुगिसकेकाले अब हामीले मनग्यै विकास गरिसक्यौं भनेर विज्ञान र गणितको विकासलाई रोक्न खोजेको पनि हुनसक्छ।

(लेखक धिताल हाल संयुक्त राज्य अमेरिकामा भौतिकशास्त्रमा विद्यावारिधि गर्दैछन्। थोमस जेफर्सन ल्याबमा एलेक्ट्रोन–आयोन कोलाइडर विषयमा अध्ययन गरिरहेका छन्)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: