सुख–दुःखका सारथी गोर्खाली योद्धा


काठमाडौं – जर्मन शासक हिटलर (सन् १८८९–१९४५)ले भनेका थिए, ‘संसारका सबैसँग लड्ने–भिड्ने सामर्थ्य आउँछ। तर, गोर्खालीभन्दा मुटु काँप्छ।’

तत्कालीन परिस्थितिमा विश्वका विभिन्न मुलुकमा अतिवादलाई ध्वस्त पारेर शान्ति स्थापनाका लागि गोर्खाली फौजले देखाएको बहादुरीलाई आत्मसात गरेरै हिटलरले यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ।

आज पर्यन्त गोर्खाली योद्धाको बहादुर र निडरता उत्तिकै जाज्वल्यमान छ। विश्वयुद्धताका लेखिएको बहादुरीको इतिहासलाई गोर्खाली फौजले अहिले पनि निरन्तरता दिइरहेकै छ।

नेपाली ग्रामीण बस्तीमा जन्मिए–हुर्किएका धेरै युवा अहिले पनि गोर्खा राइफल्समार्फत विभिन्न देशमा शान्ति सुरक्षा कायम गर्न र आतंकवादलाई निस्तेज पार्न डटिरहेका छन्। र, थोरै युवा यस्ता पनि छन्, जो धेरै टाढा बसे पनि आफ्नो जन्मभूमि र माटोका लागि गाँस काटेर केही भाग छुट्याउँछन्। र, लिएर आइपुग्छन्।

सुदूरपूर्वी पडाही जिल्ला ताप्लेजुङको सिमान–८ मादिबुङमा जन्मिएका मण्डल थेवे पनि यस्तै एक युवा हुन्, जो बेलायतस्थित गोर्खाली फौजको सैन्य शिविरमा बसेर आफ्नो गाउँघर सम्झिरहेका हुन्छन्।

इन्टेक सन् २००८ को ब्याच, दोस्रो रोयल गोर्खा राइफलमा कार्यरत थेवे सामाजिक सेवाको क्षेत्रमा सुरक्षाकर्मीले पनि योगदान दिन सक्छन् भन्ने प्रमाण हुन्। फागुन ११ गते बुधबार एक महिनाको छुट्टी सकेर बेलायत फर्किएका उनको चर्चा अहिले पनि ताप्लेजुङमा चलिरहेको नै छ।

काठमाडौंमा अन्तिमको दुई दिन बस्दा पनि उनी दौडधुपमै थिए। ‘केही सामाजिक काम थालेको छु,’ थेवेले शुभदिनसँग भने, ‘त्यसलाई पूरा गर्ने प्रयासमै छुट्टी सकियो।’

वि.सं. २०७३ सालको दसैं सुरू भएको थियो। ताप्लेजुङको सिनाममा पनि दसंैको उल्लासले धपक्कै छोपिसकेको थियो। आर्थिक रुपमा सम्पन्नलाई त दसैं खुसीकै चाड थियो। तर, आर्थिक रुपमा विपन्न सर्वसाधारण दसैंको जोहो कसरी गर्ने भन्ने चिन्तामा थिए।

यस्तो विपन्नताको बोझले प्रायः दलित समुदायका नागरिकलाई बढी छोप्ने गर्छ। चामल किने दसैंमा मासु कसरी किन्ने, मासु किने अर्को सामग्री कसरी किन्ने भन्ने चिन्ता हुन्छ। सिनामका विपन्न परिवारका ती नागरिकलाई यसपालि त्यस्तो चिन्ता भएन।

५२ परिवारको चुल्हो राम्ररी बल्यो। गोर्खाली फौजमा कार्यरत थेवेले प्रतिपरिवार ३० किलोग्रामका दरले चामल वितरण गरेर उक्त समुदायमा दसैंको खुसीले भरिदिए। ‘वर्षमा एकपटक आउने चाड सबैले खुसीका साथ मनाउन पाउनुपर्छ,’ थेबे भन्छन्, ‘त्यसैले मैले सानो सहयोग गरेको हुँ।’

यसमा पनि थेवेको आफ्नै अनुभव छ। मध्यमवर्गीय परिवारमा हुर्किएका मण्डल थेवेले ग्रामीण क्षेत्रको आर्थिक विपन्नताको पीडालाई नजिकबाट देखेका छन्। पैसा नहुँदा आमनागरिकको स्थिति कस्तोसम्म हुन्छ भन्ने पनि उनले समाजमा हुर्किंदै जाँदा महसुस गरेका छन्।

‘सानोमा दसैंको बेला थियो, एक जना दलित समुदायका पाका व्यक्ति हाम्रोमा आउनुभयो,’ मण्डल सम्झिन्छन्, ‘एक सय पचास रुपैयाँ माग्न आउनु भएको रहेछ, मलाई कस्तो नराम्रो लाग्यो, डेढ सयले दसैंको जोहो गर्नुपर्ने बाध्यता अहिले पनि समाजमा छ, त्यसलाई मेटाउनुपर्छ।’

दसैं आउनासाथ उनलाई त्यही दिनले पिरोल्न थाल्छ। र, सकेसम्म सहयोग गर्ने जमर्कोमा लाग्छन्, उनी। यही सामाजिक उत्तरदायित्वले उनलाई बेला–बेला झस्काइरहन्छ।

वि.सं. २०४२ साल फागुन १२ गते बुवा डम्बरबहादुर र आमा विष्णुमाया थेबेको कोखबाट जन्मिएका हुन्, मण्डल। परिवारका जेठा छोरा हुन् उनी। एक भाइ र ६ जना दिदीबहिनी छन्।

धार्मिक प्रकृति बुवा डम्बरबहादुर थेवेबाट धार्मिक र सामाजिक शिक्षा पाएका मण्डलले आमा विष्णुमायाबाट संस्कार र सेवाभाव सिके। यही संस्कारले उनलाई सैनिक जीवन सँगसँगै सामाजिक सेवाको क्षेत्रमा लाग्न प्रेरित गर्यो।

सिनाम उच्च माविबाट एसएलसी पास गरेका मण्डलको उच्च शिक्षा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट अघि बढ्यो। स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दागर्दै उनी ब्रिटिस गोर्खा सैनिकमा भर्ती भए।

‘मेरो सोच नेपालमै बसेर केही गर्ने थियो, तर परिस्थिति अनुकूल भएन,’ थेवेले भने, ‘तेस्रो पटकको कोसिसमा ब्रिटिस आर्मीमा छनोट भएँ, र सेवाको क्षेत्र नै बदलिएको हो।’

थेवे धरानबाट पहिलो चरणमा छनोट भएर पोखरा पुगे। पोखरामा बेसिक ड्रिल तथा तालिमपछि नौ महिने प्रशिक्षणका लागि उनी बेलायत उडे। बेलायतका क्याट्रिकमा आधारभूत तालिम सुरू भयो। तीन साताको अंग्रेजी भाषाको कक्षा पनि उनले लिए। ‘नौ महिनाको तालिम सकिएपछि काम सुरू भयो,’ उनले थपे।

जनवरीको महिना। बेलायतको माटोमा पहिलोपटक पाइला राख्दै गर्दा निकै विरक्त लागेको उनी सम्झिन्छन्। ‘क्याम्प पुगेपछि पनि दुई महिनासम्म घरभित्रै तालिम भयो, घरको यादले धेरै सताउँथ्यो, बजारबाट टाढा सुनसान ठाउँमा तालिम हुन्थ्यो,’ उनी भन्छन्, ‘तालिम सकिएपछि चाहिँ त्यहाँको माहोलसँग घुलमिल हुन सक्ने भइयो।’

तामिल सकेपछि थेवेको पोस्टिङ अफगानिस्तानमा भयो। त्यहाँ चार महिना बसे। सन् २००९ मा बेलायत फर्किए। सन् २००९ को जुलाईमा फेरि ब्रुनाई गए। थेवेका अनुसार ब्रुनाईमा ब्रिटिस गोर्खा राइफल्सका दुई वटा बटालियन परिचालित छन्।

तीन वर्षका लागि ब्रुनाई गएका मण्डल फेरि सन् २०११ मा अफगानिस्तान जाने टोलीमा परे। ‘सैनिकलाई कुनै ठाउँमा जान गाह्रो कुरा होइन,’ उनी भन्छन्, ‘तर, कहिलेकाहीँ निकै कठिन स्थिति पनि व्यहोर्नुपर्ने हुन्छ।’

छ महिनाका लागि अफगानिस्तान जाँदा आफूले धेरै कुरा सिक्ने मौका पाएको थेवे बताउँछन्। ‘तालिवानबाट थ्रेट थियो,’ अफगानिस्तानको हेल्मण्ड प्रान्तमा खटिँदाको अनुभव सुनाउँदै उनले भने, ‘हामीले जोगिएर काम गर्नुपर्ने हुन्थ्यो, जुन दायित्व बोकेर गएको थियौं, त्यो दायित्व पूरा गर्यौं।’

अफगानिस्तानमा हुँदा कहिलेकाहीँ खाइ–नखाइ युद्ध लडेको अनुभव पनि थेवेले संगालेका छन्। हेल्मण्ड प्रान्तमा एउटा सुरक्षा चौकीमा उनीहरू एक सातासम्म रहनु पर्दाको क्षण अझै उनको आँखामा आइरहन्छ।

‘स्थिति तनावपूर्ण थियो, खानेकुरा एक दिनका लागि मात्रै थियो, तर एक सातासम्म त्यहाँ बस्नु पर्यो,’ उनी सम्झिन्छन्, ‘तत्काल खाना ल्याउन सम्भव थिएन, हाम्रो बिजोग भएको थियो।’

बेलायतबाट ब्रुनाई, अफगानिस्तान हुँदै द्वन्द्वग्रस्त अफ्रिकी मुलुक केन्यासम्म पुगेका ब्रिटिस गोर्खा सैनिक मण्डल थेवे जर्मनी, फ्रान्स, साइप्रस लगायतका मुलुक पनि पुगेका छन्। नेतृत्वको इच्छाशक्ति भए मुलुकको विकास हुन समय नलाग्ने उनको धारणा छ।

शिक्षित नागरिक उत्पादन, सम्भ र निःस्वार्थ भाव भएका नेताको खाँचो उनी औल्याउँछन्। ‘हामीलाई यो अर्काको देशमा आएर आफ्नो अमूल्य समय खर्चिने रहर छँदैछैन,’ बेलायतको फोक्सटनस्थित सैनिक क्याम्पमा रहेका थेवेले शुभदिनसँग भने, ‘तर, सबैभन्दा पहिले नेपालमा राज्यले नागरिकका न्यूनतम् आधारभूत आवश्यकता र रोजगारीको ग्यारेन्टी गर्नैपर्छ।’

सन् २०१० मा सन्तोषी लिङतेपसँग मागी विवाह गरेका मण्डल दुई सन्तानमा पिता हुन्। भविष्यमा नेपाल आएर सामाजिक कार्यमा लाग्ने उनको सोच छ।

‘हामीले पैसा कमाएर मात्रै केही हुँदैन, त्यसको सही अर्थमा सदुपयोग हुनुपर्छ,’ उनी भन्छन्, ‘सामाजिक कार्यबाट मात्रै त्यो सम्भव छ।’ वर्सेनि आउँदा पशुपतिनाथको मन्दिर पुगेर त्यहाँ रहेका बालबालिकालाई खाना खुवाउन पनि भ्याउँछन् उनी। बालबालिकालाई हाइकिङमा लान उनलाई औधी मनपर्छ।

‘सडकमा रहेका बालबालिकालाई जीवनप्रतिको आशा जगाउन नै मैले उनीहरूलाई हाइकिङ लानेदेखि सँगै राखेर खाना खुवाउने गरेको हुँ,’ उनी भन्छन्, ‘मान्छे जन्मिन्छ, हुर्किंन्छ, उसले आफ्नो दायित्व बुझ्नुपर्छ, र जीवनको सही अर्थ अर्थात् मिनिङ खोज्नुपर्छ।’

suvadin.com बाट

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: