रङ्गकर्मी शुष्मा कोइरालाको संघर्ष र साधना


काठमाडौं – अमेरिकी लेखक तथा दार्शनिक अल्बर्ट हावर्डले भनेका छन्, ‘कला कुनै वस्तु वा सामग्री होइन, यो त निरन्तर चलिरहने यात्रा हो।’

वास्तवमै कला अविराम यात्रा हो। पात्र फेरिएलान्। विषय अर्कै आउला। समय पनि फेरिएला। तर, कला कोशी नदीको अटुट छालजस्तै आइरहन्छ, बगिरहन्छ। यही कलाको अविरल लहरमा मिसिन आइपुगेकी छिन्, कलाकार शुष्मा कोइराला।

जीवनको सबैभन्दा उर्वर समयलाई कला क्षेत्रका लागि सुम्पिएकी शुष्मा अहिले नाट्य र नृत्य विधामा रमाइरहेकी छिन्। १५ वर्षयता रङ्गमञ्चको यात्रालाई अघि बढिरहेकी छिन् उनी। तर, शुष्माको पहिचान त्यतिमा मात्रै सीमित छैन। उनी शिक्षिका हुन्, कत्थकमा स्नातक गरेकी छिन्। चरिया र लोकनृत्यमा पनि स्नातक हुन् उनी। शुष्माले अहिले नेपालमा पहिलो पटक खुलेको नृत्यको स्नातकोत्तर पढाई पनि प्रारम्भ गरेकी छिन्।

कला क्षेत्रको फराकिलो आकाशमा जता पनि विचरण गर्न सक्ने खुबी शुष्मामा छ। थिएटर आकारको प्रस्तुतिमा आगामी वैशाखमा मञ्चन हुन लागेको एन्टोन चेकोभद्वारा लिखित ‘थ्रि सिस्टर्स’ नाटकको तयारी चलिरहेका बेला शुष्माले शुभदिनसँग आफ्ना कुरा गहकिलो ढंगले राखिन्।

उनमा देखिएको आत्मविश्वास र अठोटले यी जुझारु कलाकारको उज्ज्वल भविष्य दर्साउथ्यो। उनी भन्छिन्, ‘हामीले रोजेको विधा नै सिर्जनात्मक र सिर्जनशीलताको विधा हो। यहाँ संघर्ष धेरै हुन्छ। तर, मिहेनतका साथ काम गर्दै अघि बढेपछि सफलता हासिल हुन्छ।’

सिर्जनशील कलाकार शुष्माका संघर्षका अनेक कथाहरु रोचक र प्रेरक छन्। कमलादीस्थित प्रज्ञा भवनमा पहिलो पटक प्रस्तुति दिने उनको चाहना बनेपाबाट प्रारम्भ भयो। पहिलो स्जेटका रुपमा बनेपामा नृत्य प्रस्तुति गरेकी शुष्माको कला यात्राले सफलताको सगरमाथा चढ्दै छ।

औपचारिक शिक्षाका रुपमा शुष्माले नृत्यलाई अङ्गालिन्। त्यही विधाबाट उनी अहिले स्थापित हुने गन्तव्यतर्फ अग्रसर छिन्। 

अभिनय र अध्ययन सँगसँगै

वि.सं. २०४० असार १४ गतेका दिन आमा लक्ष्मी कोइराला र बुवा दिपक कोइरालाकी सुपुत्रीका रुपमा काठमाडौंको ओमबहालमा शुष्मा कोइरालाको जन्म भएको हो। सुष्माले प्रारम्भिक शिक्षा नेपाल आदर्श माविबाट हासिल गरिन्। र, सोही स्कूलबाट वि.सं. २०५८ सालमा एसएलसी पास गरिन्। त्यसपछि उनको पढाई अलग धारबाट प्रारम्भ भयो। औपचारिक शिक्षाका रुपमा शुष्माले नृत्यलाई अङ्गालिन्। त्यही विधाबाट उनी अहिले स्थापित हुने गन्तव्यतर्फ अग्रसर छिन्।

शुभदिनसँगको अन्तरवार्ताको शुरुवातमै शुष्माले प्रज्ञा भवन कमलादीमा नेपाली रजतपटका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रस्तुति दिएको पल स्मरण गरिन्। ‘मेरो मनमा त्यति बेला नै यही अठोट आइसकेको थियो कि, एकदिन म पनि प्रज्ञाको यही स्टेजमा आफ्नो प्रस्तुति दिने छु,’ उनले बाल्यावस्थाका दिनहरु स्मरण गरिन्।

तर, शुष्मालाई आफूमा अन्तरनिहीत कला प्रस्फुटन गर्न चाहिँ डरलाग्थ्यो त्यति बेला। उनको बालमस्तिष्कमा प्रज्ञाको त्यो स्टेज लक्ष्य बनेर उभिएपनि कसरी आफूलाई त्यहाँसम्म लाने भन्ने आइडिया थिएन। र, उनमा रहेको डर पनि अवरोध नै बनेर आइदिएको थियो।

तर, लक्ष्य निर्धारण गरेपछि उनी यात्रामा निस्किहालिन्। ‘हो, मलाई डान्स गर्न त आउँथ्यो, तर यो कुरा कसैलाई थाहा थिएन, कहीँ नाच्न पनि डर लाग्थ्यो,’ शुष्माले शुभदिनसँग भनिन्। शुष्माकी सहपाठी रीता ठकुरीले उनलाई नृत्यमा अघि बढ्न थप प्रेरित गरिन्। शुष्मा र रीता कोठाभित्र चाहिँ नाच्ने तर बाहिर प्रस्तुति दिन डराउने गर्थे।

नेपालजस्तो पितृसत्तात्मक मुलुकमा कला क्षेत्रमा स्थापित हुन छोरीहरुलाई त अझै धेरै संघर्ष गर्नुपर्छ। हो, शुष्माको कलायात्रा पनि यही संघर्षका मैदान हुँदै अघि बढ्यो।

नृत्यकी पारङ्गत शुष्मा

एसएलसीपछि कलाकार शुष्मा कोइरालाको पढाई पद्मकन्या क्याम्पसबाट अघि बढ्यो। उनले नृत्य विषय राखेर पढ्न थालिन्। ‘मेरो पढाई सहजै अगाडि बढेको थिएन, एसएलसी पनि दोश्रो पटकमा मात्रै पास गरेकी हुँ,’ शुष्माले थप खुलस्त पारिन्, ‘आमाले पढ्नुपर्छ भनेर कर गरेपछि मेरो साथी रीताको सल्लाहमा पद्मकन्या क्याम्पस गएकी हुँ।’

तर, शुष्माकी आमालाई नृत्य गरेको मन पर्दैनथ्यो। ‘घरमा नाच्न पाइँदैनथ्यो, रीताको घरमा गएर लुकीलुकी नाच्ने गर्थें।’ कलेजमा नृत्य पढेपनि त्यो कुरा शुष्माले आमालाई बताएकी थिइनन्।

‘तर, परीक्षा आउने बेलामा नृत्य सामग्री देखेपछि आमाले रिसाउनु भयो,’ उनी भन्छिन्, ‘आमालाई नृत्य पढ्नैपर्ने विषय भएको बताएँ, त्यसपछि आमा रिसाउनु भयो, त्यसपछि मेरो संघर्ष अझै बढ्यो।’

कुनै पनि क्षेत्रमा अघि बढ्न परिवारको सहयोग अनिवार्य हुन्छ। नेपालजस्तो पितृसत्तात्मक मुलुकमा कला क्षेत्रमा स्थापित हुन छोरीहरुलाई त अझै धेरै संघर्ष गर्नुपर्छ। हो, शुष्माको कलायात्रा पनि यही संघर्षका मैदान हुँदै अघि बढ्यो।

उनले आफ्नी आमालाई आफू रोजेको विषयको महत्व बुझाउन वर्षौं लाग्यो। तर, जब सञ्चारमाध्यम शुष्माका सकारात्मक समाचारहरु संप्रेषण हुन थाले, आमा लक्ष्मी कोइरालाको धारणा नै बदलियो।

‘आमालाई छोरी बिग्रिन्छ भन्ने डर रहेछ, तर कान्तिपुरको पहिलो पृष्ठमा तस्वीर छापिएपछि मात्रै उहाँ खुशी हुनुभयो,’ शुष्माले थपिन्, ‘त्यसपछि आमाको सहयोग निरन्तर पाइरहेकी छु।’

शुष्माले स्नातकसम्म पद्मकन्यामै अध्ययन गरिन्। कत्थक, चरिया र लोकनृत्यमा स्नातक अध्ययन गरेकी उनी क्याम्पसका दिनहरुबाट चाहिँ विस्तारै नाट्य क्षेत्रतर्फ अघि बढ्दै गइन्।

वि.सं. २०६२ सालमा ‘इतिहासको बाँकी पृष्ठ नाटकबाट उनको रङ्गमञ्चको यात्रा प्रारम्भ भयो। र, दुई दर्जनभन्दा धेरै नाटक गरिसकेकी यी युवा कलाकार अहिले ‘थ्रि सिस्टर्स’को तयारीमा लागिरहेकी छिन्। ‘थ्रि सिस्टर्सकी ३ दिदीबहिनीमध्ये मैले एकको भूमिका निभाउँदै छु।’

कलाकार शुष्मा कोइरालाले पद्मकन्या क्याम्पसमा स्नातक तह तेश्रो वर्षको पढाईका क्रममा रङ्गमञ्चको विषयमै जानकारी प्राप्त गरिन्। त्यतिबेला कलाकार अशेष मल्लले पद्मकन्यामा पढाउँदा रहेछन्। अत्तिरिक्त विषयमा शुष्माले रङ्गमञ्च नै छनोट गरिन्।

आफ्नो पढाई–सिकाईलाई कामको आकार दिन व्यग्र प्रतिक्षामा रहेकी शुष्मालाई एकदिन अशेष मल्लले सर्वनाम थिएटरमा बोलाए। सर्वनाम पुगेपछि उनले रङ्गमञ्चका विषयमा थप जानकारी प्राप्त गरिन्।

‘सर्वनाममा ६–७ वर्षसम्म बिना पारिश्रमिक काम गरेँ,’ उनले भनिन्, ‘त्यसको थिएटर आकारको शुरुवात भयो।’ शिल्पी थिएटरमा भएको घिमिरे युवराजको ‘मझिपालाखे’ र भवानी भिक्षुको कथामा आधारित ‘हारजीत’ नाटक गरिन्। शुष्माले थाइल्याण्ड, तानवान तथा भारतका कयौं शहरमा नाट्य प्रस्तुति दिइसकेकी छिन्।

अध्यक्ष घनश्याम श्रेष्ठ रहेको ‘आकार’ थिएटरमा सूलोचना गोपाली, निरज श्रेष्ठ, सगुन श्रेष्ठ र उचित सिग्देल, शुष्मा कोइराला, सुशीलालक्ष्मी महर्जन र उमा सिग्देल सहयात्री थिए।

थिएटर आकार

वि.सं. २०६८ सालमा थिएटर आकार स्थापना भयो। अध्यक्ष घनश्याम श्रेष्ठ रहेको ‘आकार’ थिएटरमा सूलोचना गोपाली, निरज श्रेष्ठ, सगुन श्रेष्ठ र उचित सिग्देल, शुष्मा कोइराला, सुशीलालक्ष्मी महर्जन र उमा सिग्देल सहयात्री थिए।

नयाँ थिएटर स्थापना गरेपछि यो टिमलाई चुनौती थपिएको थियो। सुष्माका अनुसार थिएटर स्थापनाको आइडिया घनश्याम श्रेष्ठको थियो। कलाकारिता क्षेत्रबाटै बाँच्ने स्थिति बनिसकेको थिएन। समस्याहरु निकै थिए।

अगाडि बढ्दै जाने क्रममा उनको टिमले नामसँगै दामपनि कमायो। ‘आफू बाँचेर मात्रै कला बँचाउन सकिन्छ,’ उनी भन्छिन्, ‘त्यसै कारण पनि मैले वैकल्पिक पेसा पनि अङ्गालेकी हुँ।’

धेरै छटपटीका बीच उनको टिम नयाँ गन्तव्य पहिल्याउन जुट्यो। उनले स्कूलमा नृत्य विषय पढाउन थालिन्। ‘एकदिन सफल हुन्छु भन्ने चाहिँ मलाई लागेको थियो,’ उनी भन्छिन्, ‘त्यसैले तीब्र इच्छाशक्तिका साथ काममा जुटेँ।’

थिएटर आकारलाई अन्तिम रुप दिन २ वर्ष लाग्यो। सबै सहयात्रीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याए। शुष्माले वि.सं. २०७० सालमा सिर्जना कलेज अफ फाइन आट्र्समा शिक्षण शुरु गरिन्।

वि.सं. २०७१ सालबाट  बुढानिलकण्ठ स्कूलमा उनले नृत्य विषय पढाउन थालिन्। परिवारलाई पनि आर्थिक सहयोग पुर्याउन थालिन् उनले। त्यसपछि परिवारका सदस्यबाट थप हौसला मिल्यो।

शिक्षण र नियमित कक्षा त छँदैछ, त्यस बाहेकको समय शुष्माले थिएटरलाई दिने गरेकी छिन्। हरेक दिन ३ बजेपछि थिएटरका जुट्ने गरेकी छिन्। उनी भन्छिन्, ‘इच्छाशक्ति भयो भने समय व्यवस्थापन गर्न सकिने रहेछ।’

वि.सं. २०७१ साल पुसतिर एउटा नाटक गर्ने तयारीमा आकारको टिम जुट्यो। र, ‘बिम्बाका सपना’ नाटक गर्ने निर्णय भयो। शुष्मा अलग भूमिकामा देखिने भइन्। उनको रेशमी कपाल खौरिनु पर्ने भयो। त्यतिबेला उनी ‘सम्बोधी’ नाटकको कोरियोग्राफी गर्दै थिइन्।

घनश्याम श्रेष्ठले कपाल खौरिनुपर्ने भनेर सुनाए। तर, रिहर्सल शुरु भएको केही दिनपछि नै उनी बिरामी परिन्। वि.सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पअघि उनी २ हप्तासम्म बिरामी भएर ओछ्यान परिन्।

वैशाख १२ गतेबाटै नाटक शुरु हुने थियो। त्यसको तयारीकै लागि उनले वैशाख ९ गते कपाल काटिन्। तर, भूकम्पका कारण नाटक रोकियो। नाटक कहिले हुने भन्ने नै अन्यौलमा पर्यो।

७ तलामाथि नाटकको सेट थियो। भूकम्पकै कारण वैशाखको नाटक असारका लागि सर्यो। ‘कपाल काटेकी थिएँ, नाटक सरेपछि त मलाई हुनुसम्मको पीडा भयो,’ शुष्माले विगत स्मरण गरिन्।

भूकम्पले काठमाडौं थिल्थिलो भएपछि शुष्मा परिवारसँगै नवलपरासीस्थित फुपूको घर गइन्। त्यसैबीचमा उनका मामाको निधन भयो। आफन्तहरुको आवतजावत धेरै भएकाले कयौं पटक कपाल खौरिएको विषयमा उनले प्रष्टीकरण दिनुपर्यो।

‘कसै–कसैले त यति सानैमा यत्रो बिघ्न पीडा सहनुपरेछ, कसैले क्यान्सर नै भएछ कठै पनि भन्थे,’ उनी भन्छिन्, ‘मैले नाटकका लागि कपाल काटेको होभन्दा धेरैले हाँसेर मजाक पनि बनाएका थिए।’

प्रतिक्षाको फल मिठो हुन्छ भनेझैँ बिम्बाका सपना नाटक असार ११ बाट शुरु भयो। र, उनको अभिनयले धेरै दर्शक र समालोचकको प्रशंसा बटुल्न सफल भयो।

एकातिर भूकम्प, अर्कोतिर सेटको चिन्ता!

कपाल खौरिएकी एक युवती। त्यसमाथि नाटक सरेको पीडा। त्यसमाथि लामो प्रतिक्षा। किन कपाल काटेको भन्ने प्रश्नहरुको ओइरो। शुष्मालाई ती दिन निकै अप्रिय लाग्न थाले। तर, प्रतिक्षाको फल मिठो हुन्छ भनेझैँ बिम्बाका सपना नाटक असार ११ बाट शुरु भयो। र, उनको अभिनयले धेरै दर्शक र समालोचकको प्रशंसा बटुल्न सफल भयो। उनले आफूलाई प्रमाणित गरिन्।

भूकम्प पश्चात शुष्माको टिम आफूले बनाएको सेट बिग्रियो भन्ने चिन्तामा पर्यो। उनी जहाँ पुगेपनि भूकम्पबाट आफूले बनाएको सेट बिगार्यो की भन्ने चिन्ताले सताउँथ्यो। ‘तर, १५ दिन लगाएर बनाएको सेट बिग्रिएको रहेनछ,’ उनले भनिन्। त्यति बेला प्रा.डा. अभि सुवेदीले पनि आफूलाई प्रेरणा दिएको उनी स्मरण गर्छिन्।

यशोधराको मनोदशा न विवाहित हो, न विधवाको थियो। त्यस्तो पात्रको भूमिका निभाउँदै थिइन् उनी।

जब शुरु भयो नाटक यात्रा

वि.सं. २०७२ साल वैशाख १२ को भूकम्पपछि स्थगित भएको नाटकको मञ्चन असार ११ गतेबाट शुरु भयो। शुष्मा कोइरालाले पनि २ पटक कपाल खौरिएर भोगेको पीडा यसैमा छोपिन्। आत्मविश्वास प्रवल भएर आयो।

साथै, सुष्माको उत्साह र जाँगर त्यही नाटकले थपिदियो। उनी ‘बिम्बाका सपना’मा यशोधराको भूमिकामा थिइन्। यशोधराको मनोदशा न विवाहित हो, न विधवाको थियो। त्यस्तो पात्रको भूमिका निभाउँदै थिइन् उनी।

‘त्यो नाटक हेर्दा भगवान बुद्धसँगै रिस उठ्न थालेको थियो, किनभने नारीमाथि हुने अन्याय र सामाजिक विभेद मैले नियालिसकेकी थिएँ,’ शुष्माले शुभदिनसँग भनिन्, ‘तर, विस्तारै आफ्नो कामप्रतिको जिम्मेवारीले थिच्न थाल्यो, पात्रमा डुब्दा आफूलाई नियन्त्रण गर्न सिकेँ।’

यसरी शुष्माको कला यात्रा अघि बढिरहेको छ। कयौं चर्चित नाटकमा काम गरिसकेपछि पालो आयो घनश्याम श्रेष्ठको ‘यो कुनै बास हो एक’ र ‘बेड नम्बर ९९’ को। बेड नम्बर ९९ मा उनले डाक्टरको भूमिका निभाएकी थिइन्।

बिम्बाका सपना र यो कुनै बास हो एक नाटकमा शुष्माको एकल प्रस्तुति रहेको थियो। कामप्रति जिम्मेवार छिन् शुष्मा। उनी आध्यात्ममा विश्वास गर्छिन्। मनभित्र भगवानलाई पूजा गर्छिन्। ‘आफू को हो भनेर चिनेपछि त्यही काम गर्छु, मलाई आफ्नो मनभित्रको भगवानसँग प्रेम छ,’ उनले भनिन्।

शुष्मा कलेज हप्ताको २ दिन जान्छिन्। उनी कामलाई पनि त्यतिकै प्राथमिकता दिइरहेकी हुन्छिन्। शुष्माकी गुरुआमा हुन् हनी श्रेष्ठ। श्रेष्ठले देखाएको शिक्षाको बाटोमा शुष्माले आफूजस्ता हजारौं विद्यार्थीलाई अघि बढ्न प्रेरित गरिरहेकी छिन्।

प्रयाग संगीत महाविद्यालय इलाहवादबाट नृत्य विधामै स्नातक गरेकी शुष्मा गोल्ड मेडलिस्ट पनि हुन्। सिर्जना कलेज अफ फाइन आट्र्समा पढाउने उनी निरन्तर नाट्य विधामा सक्रिय छिन्। थिएटर आकारमा मञ्चनको तयारीमा रहेको एन्टोन चेकोभको थ्रि सिस्टर्स नाटकमा अघिल्ला नाटकहरुभन्दा पृथक प्रस्तुति दिने उद्देश्यका साथ शुष्मा तयारी जुटेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: