Logo

विचार

रक्सी खाँदै नखानुहोस्, खानै परे कति खाने ? कसरी खाने ? (वरिष्ठ चिकित्सकको सुझाव)



डा. प्रकाशराज रेग्मी – रक्सीले मुटुलाई बलियो बनाउँछ र मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भन्ने सोच अधिकांशमा पाइन्छ। हृदयाघातबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनामा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ। रक्सी पिउनु हुन्छ वा हुँदैन ? यसले फाईदा बेफाइदा के गर्छ ? यदि पिउनु हुन्छ भने, कति? जस्ता जिज्ञासा धेरैमा छ।

रक्सी नशालु पदार्थ हो। विश्वभर यसको अत्यधिक सेवन भइरहेको छ। रक्सी पिउने चलन परापूर्वकाल देखिको हो। हुँदाहुँदा पछिल्ला दिनहरूमा त सभासमारोहमा रक्सी नपिउने मानिस एक्लो जस्तो हुन्छ। रक्सी नराखिएको भोज खल्लोजस्तो हुन्छ।

रक्सीमा ठूलो शक्ति छ। यसले मान्छेलाई पशु बनाउन सक्छ। पारिवारिक सम्बन्धलाई तोड्न सक्छ। समाजलाई नष्ट पार्न सक्छ। मान्छेको शरीरको अंगप्रत्यङ्गलाई क्षतविक्षत पार्न सक्छ। रक्सी थोरै खाए औषधि हुन्छ। धेरै खाए विष हुन्छ।

भिटामिनलगायत कतिपय औषधिमा थोरै मात्रामा रक्सी मिसाईएको पनि हुन्छ। रक्सी पिउने जति सबैले अनुभव गरेकै हुनुपर्छ कि थोरै पिउँदासम्म मन खुसी र आनन्दको अनुभूति हुन्छ भने धेरै भएपछि चक्कर लाग्ने, टाउको दुख्ने, बान्ता हुने र बेहोस हुने हुन्छ। मात्रा बढ्दै जाँदा रक्सीले शरीरमा प्रत्यक्ष असर देखाउन थाल्छ।

रक्सी (अल्कोहल) वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी, व्ह्स्किीजस्ता पेय पदार्थहरुमा पाइन्छ। यी पेयपदार्थमध्ये बियर, वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी र व्ह्स्किी आदिमा अल्कोहलको मात्रा बढी हुन्छ।

पेय पदार्थ रक्सीको मात्रा

बियर ३–८%
वाइन ८–१२%
रम ४०–४५%
जिन ४०–४५%
ब्राण्डी ४०–४५%
भोड्का ४०–४५%
ह्विस्की ४०–४५%

रक्सी पिएपछि सोझै पेटमा पुग्छ। पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ। रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ। रक्सीले सबैभन्दा पहिलो असर पार्ने अङ्ग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन्।

रक्सीलाई पचाउने कार्य कलेजोले गर्छ। कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिदै जल्दै जान्छ। यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ जुन खर्च नभएको खण्डमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ। रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने हुन्छ। लगातार काम गरिरहनु पर्दा कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ। रक्सी मुख्यतया कार्बोहाइड्रेट हो। यसकारण शरीरलाई प्रशस्त क्यालोरी प्राप्त हुन्छ। यो शक्तिको सजिलो श्रोत हाे, जसले शरीरको तौल बढाउछ।

कुन रक्सीले कति क्यालोरी (शक्ति) दिन्छ ?

रक्सीको किसिम मात्रा क्यालोरी
बियर २५० मि.ली. (१ गिलास) १२२
ब्रान्डी ३० मि.लि. (१ पेग) ९८
जिन ३० मि.लि. (१ पेग) ८४
रम ३० मि.लि. (१ पेग) ९८
व्ह्स्किी ३० मि.लि. (१ पेग) ९१
रेड वाइन १०० मि.लि. (१.५ गिलास) ८२
सेतो वाइन १०० मि.लि. (१.५ गिलास) ७५

रक्सीको अत्याधिक सेवनले स्वास्थ्यलाई हानी पुर्‍याउँछ। यसको अत्याधिक सेवनबाट कलेजो, मष्तिस्क, मुटु तथा क्यान्सर रोग निम्त्याउँछ भने दुर्घटना आत्महत्या र पागलपनसम्म पुर्‍याउछ। रक्सीले मुटुमा पर्ने असरका बारेमा कुरा गर्दा रक्सीको मात्रामा ख्याल गर्नुपर्छ। थोरैदेखि ठीक मात्रामा पिउँदा फाइदा हुन्छ। धेरै पिएमा बेफाइदा हुन्छ भन्ने गर्छौं। कति मात्रालाई थोरै र कतिलाई धेरै भन्ने ? (हेर्नुस् बक्स)

दैनिक १ बोतल बियर अथवा १ गिलास (२५० मि.ली.) वाइन, अथवा ६० मि.लि. हार्ड ड्रिङ्स (भोड्का, ह्विस्की) पिउनुलाई ठिक मात्रा भन्ने गरिन्छ। दैनिक यो भन्दा कम लिनेलाई थोरै र धेरै लिनेलाई बढी मात्रा भनिन्छ। यो मापदण्ड ४० वर्ष काटेका पुरुषहरुका लागि हो।

महिलाहरुका हकमा कुरा गर्दा यसको ठीक आधा मात्रा हिसाब गर्नुपर्छ। पुरुषको तुलनामा महिला शरीर सानो र कमजोर हुने हुनाले रक्सीको असर महिलामा पुरुषहरुमा भन्दा बढी हुन्छ।

यो मापदण्ड अमेरिकन र यूरोपियनहरुले बनाएका हुन् जुन हामी नेपालीहरुलाई लागू नहुन पनि सक्छ। तर, वैज्ञानीकहरुले रिसर्च गरेर पत्ता लगाएको तथ्य यो हो कि थोरैदेखि ठिक मात्रामा पिएको खण्डमा रक्सीले मुटुलाई फाइदा पु¥याउछ। तर धेरै भएको खण्डमा यसले मुटुलाई निकै क्षति पुर्‍याउछ।

रक्सीबाट मुटुलाई पुग्ने फाइदा

ठीक मात्रामा पिएको खण्डमा रक्सीबाट मुटुमा सकारात्मक प्रभाव पार्छ। यसको सेवनले बढेको रक्तचापलाई घटाउँछ। रगतमा राम्रो कोलेस्ट्रोल लाई बढाउछ जसबाट हृदयघात हुने संभावना कम हुन्छ। रगतको जम्ने प्रवृत्तिलाई कम गर्छ। जसका कारण हृदयाघात, एन्जाइनालाई घटाउँछ। साथै मुटुबाट हुन सक्ने आकस्मिक मृत्युलाई कम गर्छ।

रक्सीबाट मुटुलाई पुग्ने बेफाइदा

धेरै मात्रामा पिएको खण्डमा अथवा पिउन नहुनेहरुले थोरैमात्रामा मात्र पनि पिएको खण्डमा रक्सीबाट मुटुलाई बेफाइदा पुग्न सक्छ। यसको रक्तचाप बढाउँछ, मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस) गराउँछ, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ।

यसैगरी मुटुको धड्कनमा गडबडी उत्पन्न भई हार्टफेल हुनसक्छ। गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ। साथै रगतमा यूरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ।

यसका अलावा रक्सीले आन्द्राको क्यान्सर र महिलाहरुमा स्तनको क्यान्सर हुने संभावना बढाउँछ। रक्सीको सेवनबाट मुटुलाई केही फाईदा हुने कुरा वैज्ञानिकहरुले प्रमाणित गरिदिएको हुनाले के मुटु रोगबाट बच्न सबैलाई रक्सी सेवन गर्ने सल्लाह दिनु उचित होला त ? अवश्य पनि उचित होईन।

रक्सीको सेवन सम्बन्धमा म यस प्रकारको सल्लाह दिन चाहन्छु :

रक्सी नपिउने गरेकाहरुले रक्सी पिउन शुरु नगरेकै राम्रो

२० वर्ष उमेर नपुगेकाहरूले रक्सीको सेवन नगर्नु उचित

गर्भवती महिलाले रक्सी सेवन गर्नु हानीकारक

कलेजोे रोग, मधुमेह, उच्चरक्तचाप, ट्राईग्लाइसेराइड, यूरिक एसिड, मिर्गौलाको रोग, क्यान्सर, अल्सर आदि भएकाहरुले रक्सी पिउनु अत्यन्त हानिकारक

मुटुका रोगीहरुको सम्बन्धमा बाथ मुटुको रोग, मुटु सुन्निने, जन्मजात मुटुको रोग, मुटुको धड्कनको गडबडी भएकाहरु, रगत पातलो पार्ने

औषधि खाईराखेकाहरुले रक्सीको सेवन गर्नु हुँदैन

उच्च रक्तचाप, कोरोनरी मुटुको रोग, हृदयाघात, उच्च रक्त कोलेस्टेरोल आदि भएकाहरुले थोरैदेखि ठीक मात्रासम्म रक्सी पिउँदा फाइदा हुन्छ। शरीरको तौल घटाउन चाहनेले रक्सी पिउनुहुँदैन।

हुन त रक्सीमध्ये रेडवाइनको मुटुलाई सबैभन्दा बढी फाइदा गर्छ भनिन्छ तर रिसर्चबाट यो पत्ता लागेको छ कि मुटुमा पर्ने असर सबै प्रकारका रक्सीबाट एकै हो। रेड वाइनमा अरु रक्सीहरुमा भन्दा एण्टीअक्सिडेण्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीहरुमा कोलेस्टेरोल जम्मा भई साँघुरिने गतिमा कमी आउन सक्छ। रक्सीबाट मुटुलाई केही फाइदा छ भन्ने निहुँमा रक्सी पिउने बानीको विकास नगरौं। रक्सी पिउन कसैलाई पनि प्रोत्साहित नगरौं।

(रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल