Logo

समाज

यस्ता थिए पृथ्वीनारायण शाह



काठमाडाैं–पृथ्वीनारायण शाहको जन्म बिक्रम सम्बत १७७९ साल पौष २७ गते गोरखाका राजा नरभूपाल शाहको माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिनामा भएको थियो।

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।

पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो।

विसं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे।

उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्।

तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

पृथ्वीनारायण जति वीर थिए, त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे। राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन्।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: